0Shares

चितवनमा थारु समुदायका महिलाहरुले धुमधामसँग जितिया पर्व मनाइरहेका छन् । थारुहरुको प्रमुख चाडमध्येको जितिया पर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ ।

थारु समुदायका महिलाहरु झाम्टा गाउँदै नाच्दै जितिया मनाइरहेका छन् । तीन दिनसम्म मनाइने यसपर्वको पहिलो दिन सप्तमीलाई ‘लाहा खाएके’ (दर खाने), अष्टमीको दिनलाई ‘उपास’ (ब्रत) र नवमीको दिनलाई ‘पारन’ (ब्रत समाप्त) भनिन्छ । सप्तमीको दिन महिलाहरू बिहानै उठेर नुहाइधुवाइ गर्ने, अष्टमीमा निराहार ब्रत बस्ने तथा नवमीको दिनमा समापन गर्ने गरिन्छ । यस पर्वमा महिलाहरु भेला भएर दुःखसुखका गीत गाउने प्रचलन समेत छ ।

हिन्दु नेपाली महिलाहरुले मनाउने तीज पर्वजस्तै थारु समुदायको जितिया पर्वमा सामूहिक नाचगान र पूजाआजा गर्ने गरिन्छ । यो पर्वमा चेलीबेटीलाई निम्ता गरी बोलाउने र लिन जाने (लेलहारी) गर्ने चलन रहेको छ । अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा रहेको छ ।

भाद्र अष्टमी अर्थात् जितियाको मुख्य दिनमा रुखको चारैतिर ब्रतालु महिलाहरू फलफूल, पानी, दूध, दही साथै बिहान भिजाएको मास र चामल लिएर पूजा गर्ने गर्दछन् । विगतका वर्षहरुमा गाउँको कुनै एक भद्र पुरुषले जीतबाहनको कथा (जितिया ब्रत कथा) घण्टौं लगाएर सुनाउने गर्ने प्रचलन रहेको भए पनि विस्तारै त्यो परम्परा हराउँदै गएको छ । जितिया पर्वको मौलिकता बचाउदै जानुपर्ने थारु कल्याणकारीणि सभा क्षेत्र नं ४ का सभापति प्रदिप चौधरीले बताउनु भयो।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement