0Shares

माडी नगरपालिकाका तीन जना वडाध्यक्षले दोहोरो सुविधा बापतको रकम फिर्ता नगरी कार्यकाल पूरा गर्न लागेका छन्। माडी नगरपालिकाका पाँच वटा वडाका अध्यक्षले राज्यबाट पेन्सन र वडाध्यक्ष दुवैको सुविधा लिएका थिए। तीमध्ये दुई वटाका वडा अध्यक्षले दोहोरो सुविधा बापतको रकम फिर्ता गरिसकेका छन्। तर, तीन जनाले भने कार्यकाल पूरा गर्न लाग्दा पनि सो रकम फिर्ता गरेका छैनन्।

वडा नम्बर २ का अध्यक्ष  ईश्वरी प्रसाद ढकाल, वडा नम्बर ४ का अध्यक्ष चन्द्रदीप महतो र वडा नम्बर ७ का अध्यक्ष बालकृष्ण सापकोटाले अहिलेसम्म दोहोरो सुविधा बापतको रकम फर्काउनु भएको छैन्। उहाँहरूले वडाध्यक्ष वापतको मासिक सुविधा २१ हजार रुपैयाँका दरले लिनुभएको थियो भने पेन्सन वापत ढकालले मासिक १२ हजार ८ सय रुपैयाँ, महतोले मासिक १४ हजार ७ सय २ रुपैयाँ र सापकोटाले मासिक १८ हजार ७ सय ३१ रुपैयाँ बुझ्नु भएको थियो।

वडा अध्यक्ष निर्वाचित भएपछि २०७४ जेठ महिनादेखि २०७६ असार सम्म उहाँहरूले मासिक रुपमा लिएको दोहोरो सुविधा बापतको रकम फिर्ता गर्न महालेखा परीक्षकको कार्यालयले भनेको थियो। महालेखाका अनुसार दुई वर्षसम्म लिएको दोहोरो सुविधा हिसाब गर्दा इश्वरीप्रसाद ढकालको ३ लाख ३२ हजार ८ सय रुपैयाँ, चन्द्रदीप महतोको ३ लाख ८२ हजार २ सय ५२ रुपैयाँ र बालकृष्ण सापकोटाले ४ लाख ८७ हजार ६ रुपैयाँ फिर्ता गर्नुपर्छ।

स्थानीय सरकार सञ्चालन ऐनले कुनै पनि नागरिकले राज्यको दोहोरो सुविधा लिन नपाउने र दुई मध्य रोजेर एक मात्रै सुविधा लिन सक्ने स्पष्ट उल्लेख गरेको छ। तर, पूर्व शिक्षक समेत रहेका वडा अध्यक्षहरूले अहिलेसम्म दोहोरो सुविधा वापतको रकम फिर्ता नगरेका हुन्। ढकाल र महतो नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ भने सापकोटा नेकपा समाजवादीका वडा अध्यक्ष हुनुहुन्छ। बाँकी दुई जना वडा अध्यक्ष कृष्णराज अधिकारी र शिवहरी सुवेदीले पहिले जानकारी नभएर दोहोरो सुविधा लिएको भन्दै उक्त रकम फिर्ता गरिसक्नु भएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement