नेकपा (एमाले)को निर्वाचन घोषणापत्र सार्वजनिक (पूर्णपाठ)
काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना दिवसको अवसर पारेर स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । नयाँ पार्टी कार्यालय तुल्सीलाल स्मृति भवन च्यासलमामा आयोजित कार्यक्रमका अवसरमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
नेकपा एमालेले तयार गरेको घोषणापत्रले सुशासन, विकास र समृद्धि समाजवादको आधारलाई प्राथमिकतामा राखेको छ । घोषणा पत्रमा अघिल्लो स्थानीय निर्वाचनदेखि हालसम्मको राजनीतिक विष्लेषण गरिएको छ ।
घोषणा पत्रमा माओवादीसँगको एकता र भंग हुनुका कारण केलाउनुको साथै अबको कार्यदिशा पनि तय गरिएको छ । दोस्रो खण्डमा केपी शर्मा ओलीको सरकारले सुरु गरेको र सम्पन्न गरेका विकास र समृद्धिका विभिन्न आयोजनाहरुको संक्षिप्त विवरण उल्लेख गरिएको छ ।
तेस्रो खण्डमा उमालेले जितेका स्थानीय तहहरुले गरेका राम्रा कामहरुकोे बुँदागत रुपमा चर्चा गरिएको छ । अन्तिम खण्डमा आगामी कार्यकालमा गरिने कामका प्रतिवद्धताहरु २२ वटा बुँदामा समेटिएको छ ।
एमालेले स्थानीय तह निर्वाचनका लागि केन्द्रीय घोषणापत्रमार्फत आफ्ना योजनाहरु प्राथमिकीकरण गरेको छ । केन्द्रीय कार्यालय च्यासलबाट सार्वजनिक घोषणापत्रमा शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ ।
त्यस्तै स्वच्छ खानेपानी हरेक घरमा पुर्याउने र सरसफाइका लागि दीर्घकालीन योजनाहरु कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाइएको छ । एमालेले ‘स्वच्छ खानेपानी, सफा बस्ती र राम्रो आनीबानी’ नारा अघि सारेको छ ।
त्यस्तै कृषि र उद्योगलाई स्थानीय तहबाट प्राथमिकता दिन विभिन्न योजना अघि सारिएको छ । हरेक पालिकामा उद्योग ग्राम स्थापना गर्ने र कृषिको विकास तथा हरेक पालिका कृषि उत्पादनमा आत्मनिर्भर बन्ने गरी काम गरिने जनाइएको छ ।
एमालेले दिगो यातायात पूर्वाधारलाई जोड दिँदै सडक पूर्वाधार विस्तारका नाममा जथाभाबी डोजर चलाउने र वनजंगल तथा खेतीयोग्य जमिन बिगार्ने काम बन्द गरिने जनाएको छ । घोषणापत्रमा दिगो यातायात पूर्वाधार र सबै पालिका जोड्ने पक्की सडकलाई प्राथमिकता दिइएको छ ।
उद्यमशीलता र रोजगारी सिर्जना गर्न हरेक पालिकामा कृषि तथा स्थानीय उद्योगहरुको विकास गरिने एमालेले जनाएको छ । त्यस्तै मौलिक कला र संस्कृति विकास गर्दै पर्यटनबाट समृद्धि हासिल गर्ने कुरालाई एमालेले जोड दिएको छ ।
‘खुसी ज्येष्ठ नागरिक, सुखी बालबालिका, अपांगमैत्री सबै पालिका’ भन्दै एमालेले सिमान्तकृत समुदायको अधिकारका लागि काम गर्ने र सामाजिक सुरक्षाको एमालेले थालनी गरेको लोककल्याणकारी कार्यक्रमलाई विकसित गर्दै लैजाने प्रतिबद्धता जनाएको छ ।
एमालेले जलवायु अनुकूलन र विपद् व्यवस्थापनमा स्थानीय तहबाट ठोस काम गरिने भन्दै विकास र वातावरणबीच सन्तुलन कायम गर्न पालिकाहरुले अबका योजना अघि सार्ने उल्लेख गरेको छ ।
अब स्थानीय तहले संस्थागत र संरचनागत सुधार गर्दै पालिकास्तरबाटै न्याय निरुपण तथा मानव अधिकार संरक्षणका कार्यक्रम अघि सार्ने जनाइएको छ । एमालेले आफ्ना जनप्रतिनिधि शासक नभई सेवकका रुपमा रहने जनाएको छ ।
पूर्णपाठ हेर्न यहाँ क्लीक गर्नुहोस्
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















