18Shares

सत्ता गठबन्धनबीच ६ वटा महानगर भागवण्डामा सहमति जुटिसकेको छैन । तर, शीर्ष तहमा चार दलबीच महानगरको भागवण्डाबारे अनौपचारिक सहमति जुटेको बताइएको छ । सत्तारुढ पाँच दलमध्ये कांग्रेसले तीनवटा महानगर, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले एक/एकवटा महानगरको नेतृत्व लिनुपर्नेमा छलफल भइरहेको एकीकृत समाजावादीका एक नेताले बताए ।

माओवादीको दाबी पहिलादेखि नै भरतपुर महानगरमा रहेको छ । त्यसमा कांग्रेसका जिल्लास्तरीय नेताहरूको दाबी र लविङ पनि चर्कै देखिएको छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भरतपुर माओवादीलाई छोड्न अनौपचारिक रूपमा सहमत भइसकेका छन् ।

भरतपुर महानगरमा दाबी गर्नेहरूलाई शेखर कोइरालाले उचालेको बुझाइमा देउवा देखिएका छन् । कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुर महानगर लिने सम्भावना बढेको छ । जसपाले वीरगञ्ज पाउने पक्कापक्कीजस्तै छ ।

गठबन्धन कायम नरहँदा पनि जसपाको बलियो उपस्थिति रहेको वीरगञ्जमा गठबन्धन भएमा झनै सजिलो हुने देखिएको छ । माओवादीले भरतपुर महानगर पाउने अवस्थामा एकीकृत समाजवादीले भने पोखरा महानगर पाउने सम्भावना बलियाे छ ।

कांग्रेसभित्र कतिपय नेताहरूले एकीकृत समाजवादीलाई काठमाडौंमा उपमेयर दिएर पोखराको मेयर लिनुपर्ने लविङ पनि गरेको गठबन्धन स्रोतको भनाइ छ । तर, एकीकृत समाजवादी एउटा महानगर नछोड्ने अडानमा छ । एमालेले जितेका महानगरमध्ये आधा आफूले पाउनुपर्ने अडानमा एकीकृत समाजवादी छ । कांग्रेसले काठमाडौं महानगर नछोड्ने भएकै कारण पोखरा समाजवादीको भागमा पर्ने सम्भावना देखिएको हो ।

एकीकृत समाजवादीकी पोलिटब्युराे सदस्य तथा कास्कीकी नेतृ दिलकुमारी पन्तले पोखरा महानगरमा आफूहरूको दाबी रहेको बताइन् । माओवादी कैन्द्रका एक नेताकाअनुसार महानगरको भागवण्डा लगभग टुंगो लागिसकेकाे छ ।

ती नेताले बताएअनुसार नगरपालिका र गाउँपालिकामा हुने तालमेलको विषय टुंगो नलागेका कारण मात्रै अन्तिम मोडालिटी नआएको हो । सत्ता गठबन्धनका नेताहरूले आज तालमेलको मोडालिटी टुंगा लगाउने बताइरहेका छन् । अपराह्न ४ बजे सत्ता गठबन्धनकाे बैठक बस्दैछ ।

Source : Shilapatra

18Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement