0Shares

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सहित १४ सांसदको मुद्दामा सर्वोच्च अदालतले एकै पटक २० चैतमा अन्तिम सुनुवाइ गर्ने भएको छ।

सर्वोच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दिएको मुद्दामा एकै पटक अन्तिम सुनुवाइ गर्ने आदेश दिएको हो। सर्वोच्चको आदेशमा ‘निवेदकबाट उठाइएका संवैधानिक तथा कानूनी प्रश्नहरूको निरूपण छिटोछरितो रूपमा पूर्ण सुनुवाइको सन्दर्भमा हुनु मनासिव देखिएको’ जनाइएको छ।

यो मुद्दामा लिखित जवाफ आइसकेकाले पनि एकै पटक अन्तिम सुनुवाइ गर्नुपर्ने सर्वोच्चले ठहर गरेको छ। यसका लागि २० चैतमा पेशी तोकिएको छ।

एकीकृत समाजवादी गठन हुँदा १४ सांसदले एमाले छोडेका थिए। जसमा नेपाल सहित मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, मेटमणि चौधरी, निरा जैरू, सरला यादव, पुष्पा कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी र कलिला खातुन छन्।

एमालेले उनीहरूलाई कारबाही कार्यान्वयनका लागि प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई पत्र पठाएको थियो। सभामुख सापकोटाले कारबाही गर्न नमिल्ने जवाफ दिएका थिए।

त्यस विरुद्ध एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले अन्तरिम आदेश माग गरेका थिए। यसै विषयलाई लिएर एमालेले प्रतिनिधि सभा अवरुद्ध गर्दै आएको छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement