0Shares

काठमाडौं । कैयौं पटकको स्थगनपछि अन्ततः माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शुक्रबारदेखि सुरु हुने भएको छ । माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले राष्ट्रिय सभागृहमा भोलि बिहान ११ बजेबाट बैठक सुरु हुने जानकारी दिए ।

आठौं महाधिवेशनपछि पहिलोपटक ललितपुरमा माओवादीको केन्द्रीय समिति बैठक बसेको थियो । उक्त बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुनः निर्वाचित गरेको थियो । चीनमा उपचाररत नेता वर्षमान पुनको आग्रहमा बैठक केही दिन स्थगन गरिएको थियो । त्यसपछि सुरु भएको कोरोना संक्रमण र सत्ता गठबन्धनभित्रको उथलपुथलका कारण बैठक पटक-पटक स्थगन भएको थियो ।

पहिलो बैठककै निरन्तरताका रुपमा भोलिबाट सुरु हुन लागेको बैठकका मुख्य एजेन्डा ‘संगठन र भावी कार्ययोजना तय गर्ने’ रहेको ढकालले नेपाल प्रेसलाई जानकारी दिए । माओवादीले अध्यक्ष चयन गरे पनि अन्य पदाधिकारी चयन गर्न बाँकी छ । त्यस्तै स्थायी समिति, पोलिटब्युरो गठन र केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँटको काम पनि भएको छैन ।

यस पटकको बैठकबाट यी सबै विषय टुंगने बताउँछन् केन्द्रीय सदस्य युवराज दुलाल । ‘बैठक दुई/तीन दिन लम्बिने अवस्था छ,’ उनले नेपाल प्रेससँग भने, ‘भोलि अध्यक्षले एजेन्डा प्रस्तुत गरेपछि त्यो कति जान्छ भन्ने थाहा होला । पदाधिकारी टुंग्याउने, स्थायी समिति र पोलिटब्युरो बनाउने, केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने लगायतका काम बैठले गनुपर्नेहुन्छ ।’

असन्तुष्ट पक्षले एमसीसीको विषय उठाउने

संशोधनविना एमसीसी पास गर्न नहुने आठौं महाधिवेशनको ‘म्यान्डेट’ र जबरजस्ती संसदमा पेस गरे सरकारबाटै बाहिरिने तथा विपक्षमा मतदान गर्ने संसदीय दलको निर्णय विपरित अध्यक्ष प्रचण्ड गएपछि माओवादीमा अहिले तिब्र विवाद छ ।

व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने पूर्वस्थायी समिति बैठकको निर्णयमा नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल लगायतका नेताहरुले फरक मत राखेका थिए ।

एमसीसीमा फरक मत राख्नेमध्यका नेता लिलामणि पोखरेल केन्द्रीय समिति बैठकमा आफूले एमसीसीको विषय लिखतरुपमै उठाउने बताए ।

‘संगठन र चुनवाको एजेन्डा त पार्टीबाट आइहाल्छ,’ पोरखेलले भने, ‘अर्को एजेन्डा एमसीसी हो । म लिखितरुपमा एमसीसीको विषय उठाउँछु ।’

एमसीसीमा विवाद बढेपछि आफ्नो समूहका नेताहरुसँग छलफल बढाएका नेता श्रेष्ठले पनि लिखितरुपमै एमसीसीबारे फरक दस्तावेज पेस गर्ने तयारी गरेका छन् । अध्यक्ष प्रचण्डसँगको छलफलपछि एसमीसीका विषयमा श्रेष्ठ फरक मत राखेर जान तयार भएका थिए ।

‘एसीसी कसरी अनुमोदन भएको हो भन्नेबारे अध्यक्ष कमरेडले केन्द्रीय कमिटी सदस्यहरुलाई जानकारी दिनुहुने छ,’ प्रचण्ड निकट एक नेताले भने, ‘त्यसपछि त्यसमा चित्त नबुझाउनेहरुले आफ्नो कुरा राख्नुहुन्छ ।’

एमसीसीको विषयलाई लिएर असन्तुष्टि जाहेर गरेका नेताहरुलाई पार्टीभित्र कुरा राख्न प्रेरित गरिने उनले बताए ।

‘यसलाई पार्टी भित्रै छलफल गरौं, तपाईंलाई लागेको कुरा भित्रै भन्नुहोस् भनेर नारायणकाजी कमरेड लगायतका नेताहरुलाई अध्यक्षले भन्नु भएको छ । तपाईंका कुराहरु पार्टी भित्र राख्नुहोस्, केन्द्रीय समितिले जे भन्छ, त्यही अनुसार अगाडि बढौं भनेर उहाँले भन्नु भएको छ,’ उनले भने ।

पार्टी विभाजनको आशंका

एमसीसीका विषयमा धेरै बरिष्ठ नेताहरुले फरक मत राखेपछि र विशेषगरि नेता श्रेष्ठले छुट्टै छलफल चलाएपछि माओवादी विभाजन त हुँदैन भन्ने आंशका उब्जिएको छ ।

तर, श्रेष्ठ समूहकै नेता लिलामणि पोखरेल पार्टी विभाजनबारे कसैले सोच्दा पनि नसोचेको र त्यो सम्भव पनि नरहेको दावी गर्छन् ।

‘पार्टी विभाजन भन्ने कुरा गलत हो,’ पोखरेल भन्छन्, ‘कसैले विभाजन गर्ने सोचेको छ भने पनि त्यो सम्भव छैन । राजनीतिक एजेन्डा त विभाजित हुन सक्छन नि । त्यो हुने बित्तिकै पार्टी फुट्ने भन्ने हुन्छ र ?’

श्रेष्ठ स्वयंले पनि पार्टीभित्रको मतभेद र अन्तर्बिरोधलाई अतिरन्जितरुपमा नबुझ्न आग्रह गरेका छन् ।

‘हाम्रो पार्टीभित्र देखिएको मतभेद र अन्तर्बिरोधलाई लिएर बिभिन्न सञ्चार माध्यममार्फत बिभिन्न ढङ्गले प्रचार भैरहेको सम्बन्धमा बिषयलाई अतिरञ्जित ढङगले नबुझ्न सबैसंग अनुरोध गर्दछु,’ श्रेष्ठले फेसबुकमार्फत भनेका छन्, ‘अध्यक्ष क. प्रचण्ड र मेरो बीचमा छलफल जारी छ र अन्य नेतृत्वदायी कमरेडहरुसँग पनि छलफल भैरहेको छ।’

प्रचण्डनिकट अर्का नेता पनि एमसीसीकै कारण पार्टी विभाजित हुने अवस्था नरहेको बताउँछन् । ‘अहिलेसम्म पार्टी विभाजन हुने स्थिति छैन,’ उनी भन्छन्, ‘एमसीसीको विषयलाई लिएर केही नेताहरुले केही असन्तुष्टि जाहेर गरेको हो । तर, यही कारण पार्टी बिभाजन हुन्छ भन्नु गलत हो । केही विषयमा फरकमत आउने बित्तिकै पार्टी फुट्दैन ।’

एमसीसीमा निकै कडा मत राख्ने केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पनि पार्टी विभाजन समाधान नभएको बताएका छन् । ‘यतिबेला सबै नेता-कार्यकर्ताहरुले सुझबुझ र धैर्यतापूर्वक पार्टीभित्र देखिएका तमाम समस्याहरु आ-आफ्नो कमिटीको बैठकको आयोजना गरेर तिखो र जिवन्त बहस, छलफल र आलोचनाद्वारा हल गर्ने कोसिस गर्न जरुरी छ,’ बैठकको पूर्व सन्ध्यामा न्यौपानेले फेसबुकमा लेखेका छन्, ‘पार्टीभित्रका समस्याहरुको हल तुरुन्तातुरुन्तै अर्को पार्टी बनाउने, पार्टी छोड्ने, निष्क्रिय हुने वा अन्य पार्टी प्रवेश गरिहाल्ने आवेगात्मक निर्णयले हुँदैन ।’

उनको आग्रह छ, ‘नेपाली वाम आन्दोलनमा यस्तो चक्र धेरै चल्यो तर समस्याले हल दिन नसकेको तथ्य हामी धेरैले निर्माण गर्‍यौं र गरिरहेका पनि छौं । यसको अर्थ गलत चिजसँग आत्मसमर्पण गर्ने र त्यसैलाई वाम आन्दोलन भन्ने होइन कि संघर्षद्वारा उपलब्धिको रक्षा र नयाँ सम्भावनाहरुको खोजी गर्ने तरिका स्थापित गर्ने पनि हो ।’ Source:Nepalpress

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement