0Shares

काठमाडौं,फागुन ७-

१०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७२औं प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ।

जनक्रान्तिका माध्यमबाट राणा शासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ। प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ।

प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले वि.सं. १९९७ माघमा बलिदानी दिएका छन्। प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो।

नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो। जहानियाँ राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरियो।

तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो। फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष औपचारिक कार्यक्रमको आयोजना गरी प्रजातन्त्र दिवस मनाउँदै आएको छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement