0Shares

बुधबार पनि नेप्से सूचक दोहोरो अंकले बढेर बन्द भएको छ। गत ३ दिनदेखि लगातार बढेको नेप्सेमा यस दिन प्रोफिट बुकिङ्गका बाबजुद पनि सकारात्मक भएर बन्द भएको छ।

यस दिन नेप्से सूचक १८.०६ अंक बढेर २७६९.१३ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ०.४९ अंकले बढेको छ।

गत तिन दिनदेखि लगातार बढेको बजारमा बजार खुलेदेखि नै प्रोफिट बुकिङ्ग शुरु भएको थियो। लगानीकर्ता नाफा बुकतर्फ लाग्दा पनि नेप्से सूचक भने सकारात्मक नै देखिएको छ।

बढ्दो बजारमा कारोबार रकम समेत निरन्तर बढ्दै गएको छ। २ अर्ब रुपैयाँभन्दा तल पुगेको कारोबार रकम बढेर साढे ६ अर्ब रुपैयाँभन्दा धेरै पुगेको छ। मंगलबार ६ अर्ब ३१ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बुधबार ६ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको छ। यस दिन ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८३९ रुपैयाँ बराबरको १ करोड १५ लाख ९२ हजार २३५ कित्ता शेयर खरिद बिक्री भएको छ।

यस दिन बेष्ट फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ८.६८ प्रतिशतले बढेको छ भने एनआइसी एशिया लघुवित्तको पनि ७.२१ प्रतिशतले बढेको छ। यी दुबै कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा उच्च बढेको विवरण प्रकाशित गरेपछि लगानीकर्ताको आकर्षण बढेको हाे। यस्तै, गुह्वेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्सको शेयरमूल्य ६.७४ प्रतिशतले बढेको छ भने मानुषि लघुवित्तको पनि ६.११ प्रतिशतले बढेको छ।

यता रैराङ हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ४.७१ प्रतिशतले घटेको छ भने आँखु खोला हाइड्रोपावरको ३.८६ प्रतिशत, सिंगटी हाइड्रोको २.८८ प्रतिशत, हिमालयन पावर पार्टनरको २.६६ प्रतिशत र आरम्भ चौतारी लघुवित्तको २.६३ प्रतिशतले घटेको छ।

बुधबार नविल बैंकको सबैभन्दा धेरै ४३ करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने आइसीएफसी फाइनान्सको २० करोड ९२ लाख, एनआइसी एशिया बैंकको १९ करोड ६१ लाख, अरुण भ्याली हाइड्रोपावरको १७ करोड ८७ लाख र बेष्ट फाइनान्सको १७ करोड १० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

बुधबार कारोबारमा आएका १३ उपसमूहमा ८ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ४ उपसमूहको नकारात्मक र एक उपसमूहको सूचक स्थिर छ। बुधबार लाइफ इन्स्योरेन्स कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढ्दा उक्त उपसमूहको सूचक २ प्रतिशतभन्दा धेरैले बढेको छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement