0Shares

छविलाल न्यौपाने

चितवन, चैत २९–

नेपालमा दुर्लभ एक सिंगे गैंडाको संख्या वृद्धि भएको खुशीयालीमा चितवनको पर्यटकीय नगरी सौराहामा दीप प्रज्वलन गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ गैंडा लगायत अन्य वन्यजन्तु अवलोकनका लागि विश्वमानै प्रख्यात छ । शनिबार वन्यजन्तु संरक्षण विभागले पत्रकार सम्मेलन गरि नेपालमा १०७ वटा गैंडा वृद्धि भएको जानकारी गराएको थियो । सन् २०१५ मा गरिएको गणनामा ६४६ वटा गैंडा रहेकोमा शनिबारनै सम्पन्न नयाँ गणना अनुसार नेपालमा गैंडाको संख्या वृद्धि भएर ७५२ पुगेछ ।

चितवनमा अघिल्लो गणनामा ६०५ रहेकोमा बढेर ६९४ पुगेको छ । गैंडाको संख्या वृद्धि भएको खुशीयालीमा संरक्षण र पर्यटनसंग आवद्ध संघसंस्थाहरूले सौराहाको गैंडा चोकमा दीप प्रज्वलन गरेर खुशीयाली मनाइएको बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर नारायण वनले गैंडाको संख्या वृद्धिसंगै संरक्षणमा चुनौती थपिएको भन्दै सबैको हातेमालोले संरक्षणलाई जोड दिनु पर्ने बताउनुभयो । दुर्लभ गैंडाकै कारण चितवनको नाम विश्वमा परिचित हुन सफल भएको मेयर वनको भनाई थियो ।

क्षेत्रीय होटल संघ चितवन नेपालका अध्यक्ष दिपक भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर ६ का वडा अध्यक्ष बलराम दाहाल, ७ का वडा अध्यक्ष राजन भट्ट, रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडा, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । शनिबार सार्वजनिक तथ्यांक अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा, बर्दियामा ३८ वटा, शुक्लाफांटामा १७ वटा र पर्सा निकुञ्जमा ३ वटा गैंडा रहेको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement