0Shares

काठमाडौं । सरकारले हालै परीक्षणको रुपमा सार्वजनिक गरेको नागरिक एपमा धेरै प्रयोगकर्ताको चासो देखिएको छ । तर एपमा नागरिकताको विवरण अनिवार्य गरिएका कारण रेकर्ड फेला नपरेपछि धेरैजसोले खाता नै खोल्न नसकेको गुनासो गरेका छन् ।

जनताको त्यस किसिमको गुनासो सम्बोधन गर्न गृह मन्त्रालयले अनलाइन सिस्टम विकास गर्ने घोषणा गरेको थियो । अब भने उक्त सिस्टमको प्राविधिक तयारी पुरा भइसकेको गृह मन्त्रालयले जनाएको छ ।

हाल परीक्षणको क्रममा रहेको उक्त सिस्टम अबको केही साताभित्र सार्वजनिक गरिने मन्त्रालयको आईटी शाखा प्रमुख खुमाकान्त आचार्यले जानकारी दिए ।

नयाँ सिस्टम अनुसार नागरिक एपमा खाता खोल्ने क्रममा विवरण फेला नपरेको वा नमिलेको अवस्थामा प्रयोगकर्ताले त्यहाँ प्रमाणीकरणका लागि अनुरोध गर्ने विकल्प देख्न सक्नेछन् ।

त्यसमा क्लिक गरिसकेपछि आवश्यक विवरण भरेर आफ्नो नागरिकताको दुवैतर्फबाट फोटो खिचेर सच्याउनका लागि अनुरोध गर्न सकिनेछ । नागरिक एपबाट पठाइएको यस्तो अनुरोध गृह मन्त्रालयको यो नयाँ कम्प्लेन ह्याण्डलिङ पोर्टलमा पुग्नेछ ।

जसमा देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयको एक्सेस रहने बताइएको छ । यसरी आएको गुनासो सम्बन्धित जिल्ला प्रशासन कार्यालयका अपरेटरले चेक गरी त्यहाँ रहेको रेकर्डसँग भिडाउनेछन् ।

त्यसको आधारमा इन्ट्री नभएको विवरण राख्ने, गलत विवरण सच्याउने लगायतका कामहरु अगाडि बढाइने मन्त्रालयले जनाएको छ । त्यसक्रममा हरेक चरणको अपडेट प्रयोगकर्तालाई मोबाइल म्यासेजको रुपमा प्राप्त हुनेछ ।

कुनै विवरण सच्याउन सम्बन्धित व्यक्ति स्वयम् जल्ला प्रशासन कार्यालय पुग्नुपर्ने अवस्था भएको खण्डमा त्यसको जानकारी समेत प्रयोगकर्तालाई दिइनेछ । प्राविधिक तयारसँगै त्यसको कार्यान्वयनका लागि प्रशासनिक प्रक्रिया समेत अगाडि बढिसकेको शाखा प्रमुख आचार्यको भनाई छ ।

उनका अनुसार सिस्टममा एक्सेस गर्न तालिम दिनुका साथै अपरेटर तोकिनेछ । यसरी प्रशासनिक र परीक्षणको काम सम्पन्न भइसकेपछि अबको केही हप्ताभित्र नागरिकता विवरण सच्याउने सुविधा उपलब्ध हुने आचार्यले बताए ।

अनलाइनसँगै अन्य माध्यमबाट समेत नागरिकता विवरण सच्याउन सकिनेछ । यसका लागि ईमेल, फोन नम्बर वा सोझै प्रशासन कार्यालय जान सकिने मन्त्रालयले जनाएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement