सचिवालय वैठकमा ओलीको राजिनामा माग
गौतमलाई प्रधानमन्त्री र नेपाललाई अध्यक्ष बनाउने ओलीको काउन्टर प्रस्ताव
काठमाडौँ — बुधबारको नेकपा सचिवालय वैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजिनामा माग गरिएको छ । प्रधानमन्त्री ओलीले भने आफ्नो राजीनामाको काउन्टर प्रस्तावका रूपमा वामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गरेका छन् ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीको राजीनामाको कुरा उठेपछि कोरोना संक्रमण सकिएपछि आफूले राजीनामा दिने र उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका हुन् ।
कुनै ठाउँबाट चुनाव लडाएर वा संविधान संशोधन गरी राष्ट्रिय सभामार्फत पनि गौतमलाई प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव ओलीले गरेका थिए ।
यस्तै पार्टीमा तीन अध्यक्ष राख्ने र माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेको एक सचिवालय सदस्यले बताए । नेकपामा अहिले ओली र पुष्पकमल दाहाल अध्यक्ष छन् ।
ओलीको यो प्रस्तावलाई अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, नेपाललगायतका नेताले सत्ता लम्बाउने खेलको रुपमा बुझेको आफू निकटका नेताहरुलाई ब्रिफिङ गरेका छन् ।
प्रधानमन्त्रीको प्रस्तावलाई उपाध्यक्ष गौतमले चलाखीपूर्वक जवाफ दिएका छन् । ‘प्रधानमन्त्रीले यो कुरा असल मनसायले ल्याउनुभएको हो भने ठीक छ तर पहिले तपाईं राजीनामा गर्नुहोस्, अनि को, कसरी प्रधानमन्त्री बन्छ भन्ने पार्टी कमिटीले निर्णय गर्छ,’ गौतमले दिएको जवाफ उद्धृत गर्दै स्रोतले भन्यो ।
बैठकमा निकै कडारुपमा प्रस्तुत भएका प्रचण्डले प्रधानमन्त्री ओलीलाई महाथिर वा लि क्वान यू बन्छु भन्ने भ्रम नपाल्ल सल्लाह दिएका छन् । बैठकमा प्रचण्डले भने, ‘म भएको भएइ यस्तोबेलामा प्रधानमन्त्रीबाट राजीनामा दिने थिएँ, बरु राजीनामा गरेपछि जनतामा हाइहाई भइने थियो ।’
वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले सरकार र पार्टी दुबैको नेतृत्व गर्न नसकेको बताए । अर्का वरिष्ठ नेता झलनाथ खनालले अध्यादेश खारेज भए पनि जनतामा आक्रोश बाँकी नै रहेको बताए । साथै उनले पार्टी कमिटीले राजीनामा दिन भनेमा प्रधानमन्त्री ओलीले त्यसलाई स्वीकार गर्नुपर्ने बताए । बैठकमा खनालले भने, ‘पार्टीले निर्णय गरेपछि कसैले पनि मान्दिनँ भन्न पाइन्न ।’
बामदेवलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावमा ईश्वर पोखरेल र विष्णु पौडेल दुबैले समर्थन जनाएका छन् ।
अर्का सचिवालय सदस्य रामबहादुर थापा बादलले भने प्रधानमन्त्री ओलीले राजीनामा दिन नहुने धारणा बैठकमा राखेका छन् । तर, उनले बामदेवलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्ताव उपयुक्त नभएको धारणा राखेको स्रोतको भनाइ छ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी विधि र सिद्धान्तअनुसार चल्नुपर्ने र एकता जोगाउनुपर्ने बताए ।
यद्यपि यसबारे थप निर्णय स्थायी कमिटीको बैठकबाट हुने भएको छ । २० गते बस्ने सचिवालय बैठकले स्थायी कमिटीको बैठक तय गर्ने भएको छ ।



















