चोरेको होइन, सामान सारेको हो ः कोरोना कार्यदल
भिडियो बाहिरिएसँगै अनेक प्रश्न
चितवन । कोरोना नियन्त्रण कार्यदल भरतपुरका सदस्य सचिव डा. भोजराज अधिकारीले कोरोना अस्पतालमा चोरी भएको नभई कार्यदलको स्टोरसम्म सामान ओसारपसार गरिएको दाबी गर्नु भएको छ । मंगलबार कार्यदलको तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै उहाँले यस्तो दाबी गर्नु भएको हो ।
डा. अधिकारीबाट जारी विज्ञप्तिमा भनिएको छ, अस्पतालसंग सम्बन्धित केही सञ्चार माध्यममा आएको र सिसीटिभी क्यामराको फुटेज भनी प्रसारित सामग्री सन्दर्भमा हाम्रो ध्यानाकर्षण भएको छ । कोरोना नियन्त्रण कार्यदलले खरिद गरेको र विभिन्न संघसंस्थाबाट सहयोगार्थ प्राप्त सबै सामग्रीको दाखिला प्रमाण, बिल र वितरणको विवरण साथै बाँकी बक्यौता सामग्रीको लगत सही सलामत नै राखिएको छ ।
भरतपुर कोरोना विशेष अस्पताल ७२ घण्टामा विशेष परिस्थितिमा विपत्ति सामना गर्न तयार गरिएपनि अस्पतालका लागि खरिद प्रक्रिया प्रचलित कानूनमा रहेर गरिएको विज्ञप्तिमा उल्लेख छ ।
कार्यदलको सोमबार बसेको बैठकले आयव्यय विवरण अनुमोदन गरिसकेको छ । कोरोना अस्पतालको स्थापना, सञ्चालन र व्यवस्थापन कोरोना नियन्त्रण कार्यदल, भरतपुरबाट गरिंदै आएकोमा कोरोनाको प्रभावको आधारमा यसको समय लम्बिन सक्ने कुरालाई अनुमान गरी भरतपुर अस्पतालले सञ्चालन गर्ने गरी समझदारी भएपश्चात् सम्पूर्ण अस्पतालको बरबुझारथ गर्नुपर्ने भएकोले र कोरोना नियन्त्रण कार्यदलको स्टोर र कोरोना विशेष (अस्थायी) अस्पतालको स्टोर एउटै हलमा रहेकोले कोरोना नियन्त्रण कार्यदलको स्टोर फरक ठाउँमा व्यवस्थित गरिएको उक्त विज्ञप्तिमा जनाइएको छ ।
कार्यदलका सामग्री ओसारपसार, स्टोर गर्ने समय प्रक्रियाको सिसिटिभी फूटेज लिक भएकोप्रति कार्यदल गम्भीर भएको जनाउँदै विज्ञप्तिमा अगाडि भनिएको छ, सोमबारको बैठकबाट चितवन उद्योग संघका अध्यक्ष तथा कार्यदल सदस्य राजु पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरिसकिएको जानकारी गराउँदै टोलीको प्रतिवेदन यथाशिघ्र सार्वजनिक गर्ने र तत्पश्चात सत्यतथ्य सार्वजनिक गरिने व्यहोरा सबैमा जानकारी गराइन्छ ।
कोरोना भाइरस (कोभिड १९) को रोकथाम, नियन्त्रण र उपचारको पूर्वतयारीको लागि भरतपुरमा स्थापना भएको कोरोना विशेष (अस्थायी) अस्पतालको स्थापना, संचालन र व्यवस्थापन कोरोना नियन्त्रण कार्यदलको कार्यविधि अनुसार नै भएको विज्ञप्तिमा उल्लेख छ ।
भिडियो बाहिरिएसँगै अनेक प्रश्न
भरतपुर महाननगरपालिकाले बनाएको यो अस्पताल गएको चैत २१ गते भरतपुर अस्पतालको मातहतमा चलाउने निर्णयसहितको सम्झौता भएको थियो । वैशाख १ गते दिउँसो मात्र भरतपुर अस्पतालले सामानहरुको विवरण बुझेको थियो । तर चैत ३० गते राति साढे ९ बजेको समयमा कर्मचारीले सामान उठाएका थिए ।
उठाएका सामान कहाँ पुगेका छन् भन्ने अहिलेसम्म खुलेको छैन । केही सामान उनीहरुले घरमा लगेको, केही सामान चितवनकै कुनै एउटा सर्जिकल हाउसलाई बेचेको आरोप छ । तर आरोप लागेकाहरुले उठाइएको सामान भरतपुर महानगरको स्वास्थ्य शाखामा लगेर राखिएको बताउँदै आएका छन् । उनीहरुले सामान चोरी गरेको स्वीकार गरेका छैनन् ।
कोरोना अस्पताल सञ्चालनको जिम्मा भरतपुर अस्पतालले लिइसकेपछि पनि उनीहरूले गएको वैशाख ७ गते राति ९ बजेपछि केही सामानहरू लगेको अर्को भिडियो पनि सार्वजानिक भएको छ । एक जना कर्मचारीलाई कुटपिट गरेको समेत भिडियोमा देखिएको छ ।
कर्मचारीहरुले आफूहरुले समान चोरी नगरेको बताए पनि भिडियो बाहिरिएसँगै अनेक प्रश्न उब्जिएका छन् । ती कर्मचारीले रातको समयमै किन समान प्याक गरे ? चप्पल आफ्नैै खुट्टामा किन नापे ? स्टोर रुममा बलिरहेको बत्ती निभएर किन मोबाइलको बत्ती वालेर समान बोके ? मोबाइलको बत्ती बालेर अरु सामान पनि खोजी खोजी किन लगे ? उज्यालोमा समान प्याक गरेर अँध्यारोमा किन बोकियो ? तीन जनाका लागि तीन वटा पोका किन उस्तै समान जस्तो बराबर प्याक गरियो ?



















