6Shares

विराटनगर — दागबत्ती दिएलगत्तै अचानक आएको बाढीले शवसहित चिता बगाएको छ । इलामको पश्चिम क्षेत्रमा पर्ने फाकफोकथुम गाउँपालिकामा सोमबार भएको यो घटना देख्ने मलामी र सुनेका आसपासका बासिन्दा चकित बनेका छन् ।

फाकफोकथुम गाउँपालिका वडा ३ का अध्यक्ष राजन पौडेलका अनुसार लडेर मृत्यु भएका स्थानीय ४० वर्षीय तीरमान लकान्द्रीको अन्तिम संस्कार गर्ने क्रममा यस्तो भएको हो। उनको शव पोष्टमार्टम गरेपछि फाकफोकथुम २ र ३ को बीचमा पर्ने खप्परे घाट पुर्‍याइएको थियो।

चितामा राखेर मृतकका १४ वर्षीय छोराले दागबत्ती दिए। उपस्थित करिब डेढ सयजना मलामीले अन्तिम दर्शन गरे। त्यसको करिब १५ मिनटपछि मास्तिरबाट अचानक आएको बाढीले चिता बगाएर लगेको पौडेलले बताए।

‘मजाले घाम लागिरहेको थियो, चिताका दाउरामात्र बल्न थालेको थियो’ उनले भने, ‘एकाएक मास्तिरबाट भयंकर बाढी आयो, हेर्दाहेर्दै चिता बगाएर लग्यो, सपनाजस्तो लागिरहेको छ।’ शव जल्न नपाएकाले स्थानीयले खोजी गरे। साँझसम्म तल्लो क्षेत्रमा खोज्दा फेला नपरेको पौडेलले बताए। मंगलबार पनि शव खोजी गरिने उनले सुनाए।

एकपटक आगो लगाइसकेको चितामा फेरि आगो लगाउनु नहुने संस्कार रहेको स्थानीय बूढापाकाले भनेकाले अन्तिम संस्कार भएको मान्ने सल्लाह गाउँलेले गरेका छन्। ‘शव खोज्ने र भेटिए गाड्ने सल्लाह भएको छ’ पौडेलले भने, ‘त्यही भएर आज (मंगलबार) पनि खोजी गर्नेछौं।

स्थानीय सञ्चारकर्मी गोविन्द लामिछानेले पञ्चमीलगायत माथिल्ला गाउँमा भीषण वर्षा भएकाले बाढी आएको पछि थाहा भएको थियो। त्यति ठूलो बाढी एक्कासी आएको अहिलेसम्म नदेखेको स्थानीय बूढापाकाले बताएको उनले सुनाए।

मृतकका घरमा आमाबुबा, एक छोरा, एक छोरी र श्रीमती छन्।

6Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement