ताइवान, सिंगापुर र दक्षिण कोरियाले लकडाउनविनै कोरोनालाई जीते
६ बैशाख । संसारका ठूला, धनी र शक्तिशाली राज्यहरु कोरोना संक्रमणले बर्बाद हुँदै गइरहेका छन् । अनेक प्रयत्नका बाबजुद उनीहरुले कोरोना संक्रमण रोक्न सकिरहेका छैनन् । त्यहाँ लकडाउनलाई कोरोनाविरुद्ध लड्ने सबैभन्दा उत्तम विधि मानिएको छ ।
कोरोना उत्पत्ति भएको वुहान र हुवेई प्रदेशमा चीनले ३ महिना लामो लकडाउन गर्यो । अहिले त्यहाँ कोरोना संक्रमणको दर निक्कै कम भएको छ तर पूर्ण नियन्त्रण भएको छैन । वुहानमा लकडाउन थोरै खुकुलो पारिएको छ । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प लकडाउनको पक्षमा थिएनन् । तर स्थिति बिग्रँदै र जनअसन्तोष बढ्दै गएपछि उनी लकडाउन गर्न बाध्य भए ।
अहिले विश्वका सबैजसो देश लकडाउनको अवस्थामा छन तर त्यस्ता ३ देश पनि छन् जसले लकडाउन नै नगरी कोरोनालाई लगभग नियन्त्रणमा लिएका छन् । ती हुन् – ताइवान, सिंगापुर र दक्षिण कोरिया ।
| देश | संक्रमित संख्या | मृत्यु संख्या | निको हुनेको संख्या | बिरामीको संख्या |
|---|---|---|---|---|
| ताइवान | ३९५ | ६ | १६६ | २२३ |
| सिंगापुर | ५०५० | ११ | ७०८ | ४३३१ |
| दक्षिण कोरिया | १०६५३ | २३२ | ७९३७ | २४८४ |
यी ३ देशको कोरोनाविरुद्धको लडाइँलाई विश्वभरि सफलताको कथा मान्न थालिएको छ । आखिर यी ३ देशले के त्यस्तो तरिका अपनाए कि लकडाउन नै नगरी कोरोना भाइरसविरुद्धको संघर्षमा सफलता प्राप्त गर्न सम्भव भयो ?
ताइवान
ताइवान चीन मूलभूमिबाट १३० किमी मात्र टाढा छ । करिब ९ लाख ताइवानीहरु चीन मूलभूमिमा व्यापार व्यवसाय गर्दछन् भने थप ४ लाख श्रमिकका रुपमा छन् । कोरोनाअघि प्रतिदिन २००० चिनियाँ पर्यटक ताइवान जान्थे ।
डिसेम्बरमा जब पहिलोपटक वुहानमा कोरोना देखिएको थियो, नयाँ बर्ष मनाउने तयारी भइरहेको थियो । नयाँ बर्ष मनाउन ताइवान आउनेलाई पनि ताइवानले रोकेन । चीन–ताइवानबीच अत्यन्त छोटो दूरीको बाक्लो हवाई उडान हुन्छ । अर्थात् ताइवान कोरोना भाइरसको उच्च जोखिममा छ ।
ताइवानको सफलताको कारण पूर्व तयारी र स्वास्थ्य बीमालाई मानिएको छ । ताइवानको सबैभन्दा सबल पक्ष उसले चीनमा हुने सबै घटनालाई नजिकबाट नियाल्नु, भाषा बुझ्नु र चिनियाँ सूचनालाई अनेक तबरबाट विश्लेषण गर्नु हो ।
चीनको वुहानमा कोरोनाको हल्ला चल्लेबित्तिकै जनवरी १२ मा ताइवानले एक अध्ययन टोली चीन पठाएको थियो । जनवरी २१ मा त्यहाँ पहिलो केस भेटिएको थियो र जनवरी २६ देखि चीनसँगको हवाई उडान बन्द गरिएको थियो । चीनमा ८०, ८२४ संक्रमित पुग्दा ताइवानमा ५० संक्रमित पुगेका थिए । त्यतिखेरसम्म चीनमा ३१८९ को मृत्यु भएको थियो तर ताइवानमा जम्मा १ जना ।
विश्वको संक्रमित र मृत्यु बीचको अनुपात ९६ः४ छ भने ताइवानमा ९८.५ः१.५ छ । क्लोज केसमा विश्वको मृत्यु अनुपात २१ प्रतिशत छ भने ताइवानको ३.४८ मात्र छ । ताइवानमा अहिले २२३ जना मात्र बिरामी छन् । नयाँ संक्रमण रोकिएको छ ।
ताइवानमा ९९% को स्वास्थ्य बीमा हुन्छ । ताइवानले मास्क, सेनिटाइजर र पञ्जाको उत्पादनलाई तीव्र बनाएको छ । सामाजिक दूरी कायम गर्ने र मास्क, पञ्जा लगाएर मात्र घरबाट मान्छे निस्कने गर्दछन तर लकडाउन गरिएको छैन ।
सिंगापुर
सिंगापुर अर्को सफल देश हो । यो देश पनि चीनबाट नजिक छ । यहाँको मूल जाति चिनियाँ नै हो । तर सिंगापुरमा पनि कोरोनाको प्रभाव निक्कै कम छ । त्यहाँ अहिलेसम्म कोरोनाबाट ११ जना मात्र मरेका छन्, जुन कूल क्लोज केसको १.५ प्रतिशत मात्र हो ।
सिंगापुरले व्यापक टेष्ट गर्ने र बिरामीलाई समाजबाट छुट्याउने नीति लिएको छ । त्यहाँ कोरोना नभएकाहरु खुल्ला रुपमा सबै क्रियाकलाप गरिरहेका हुन्छन् तर बिरामी जतिलाई टेष्टबाट पहिचान गरी सम्पूर्ण जिम्मा राज्यले लिएर उपचार गरिरहेको छ । संक्रमण दर न्युन छ । बिरामी निको पार्न अलिक लामो समय लागे पनि मृत्यु दर निक्कै कम छ ।
दक्षिण कोरिया
कोरोना महामारीबीच संसदको निर्वाचन गराएर दक्षिण कोरियाले संसारलाई चकित बनाएको छ । अझ रोचक कुरा– संसारभरि आर्थिक मन्दी तीव्र भइरहेको बेला दक्षिण कोरियाको आर्थिक बृद्धिदर बढिरहेको छ । मास्क, पञ्जा र विशेष प्रकारको सुरक्षा पोशाक लगाएर काममा निस्कन्छन् । कोरोना रोकथाम र उपचारका लागि चाहिने सामग्रीको उत्पादन यसबीच कोरियाले ह्वात्तै बढाएको छ । ऊ अहिले युरोप र अमेरिकाका लागि यस्ता सामग्रीको सबैभन्दा ठूलो निर्यातक राष्ट्र बनेको छ ।
जनवरीदेखि नै कोरोना देखिए पनि त्यहाँ अहिलेसम्म १०,६५३ मात्र संक्रमित छन् त्यसमध्ये पनि ७९३७ निको भइसकेका छन् । कूल २३२ जनाको मात्र मृत्यु भएको छ जुन क्लोज केसको २.८ प्रतिशत मात्र मृत्यु हो ।
अब ताइवान, सिंगापुर र कोरिया मोडेलबाट विश्वले सिक्न ढिलो गर्नु हुँदैन । नेपालले पनि चीन, भारत र अमेरिकाको अन्धानुकरण गर्नु भन्दा यी देशबाट सिक्न सके राम्रो हुन्थ्यो ।–साझा पोष्ट



















