‘सञ्चारमाध्यम र सामाजिक सञ्जाल बुर्जुवाका कब्जामा’
काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले सरकार र पार्टीको विरोध सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट बढी भइरहेको बताएका छन् । सञ्चारमाध्यम र सामाजिक सञ्जालका स्रोत ‘बुर्जुवा’हरुको कब्जामा रहेको भन्दै त्यसको प्रतिकारको तयारी गर्न पनि उनले कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।
नेकपा सम्वद्ध प्रेस संगठनले प्रधानमन्त्री निवासमा आयोजन गरेको कार्यक्रममा अध्यक्ष दाहालले ‘बुर्जुवाहरु’ले सूचना प्रविधिको दुरुपयोग गरिरहेको भन्दै उनीहरुलाई जित्नेगरी आफ्ना हतियार धारिलो बनाउन निर्देशन गरेका थिए।
‘दुर्भाग्यवश सूचना प्रविधि बुर्जुवाहरुकै हातमा छ अहिले पनि र उनीहरुले त्यसलाई नराम्रो ढंगले दुरुपयोग गरिरहेका छन्। हामीले बिस्तारै त्यो प्रविधिलाई जनताको हितमा प्रयोग गर्ने जमर्को गरिरहेका छौं। त्यसकारण यसमा मेहनत गरेर सिपालु बन्नुपर्छ। यसका प्राविधिक पक्ष, यसको प्रस्तुतिका विधि पत्ता लगाएर बुर्जुवाहरुलाई जित्नुपर्छ’, दाहालले भने, ‘यो जितका लागि तपाईंहरुको यो बटालियन कति सक्षम छ। तपाईंहरुले दिएका हतियार कति धारिला हुन्छन्। कति तिखो हुन्छन्। विरोधीको हतियारलाई काउन्टर गर्नका लागि व्यवस्थित स्रोत र साधन कति व्यवस्थित हुन्छन् भन्ने कुरा जित र हारको फैसला हुनेवाला छ।’



















