129Shares

नारायणगढ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघको महासचिवमा नवनिर्वाचित जगन्नाथ चापागाईलाई बिहीबार बालकुमारी माध्यमिक विद्यालयमा सम्मान गरिएको छ ।
महासंघमा विश्वका १९० देशका राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी आबद्ध छन् । चापागाई बालकुमारीका एसएलसी व्याच २०४० का पूर्वविद्यार्थी पनि हुन् ।
बालकुमारीका पूर्व विद्यार्थीहरुको संस्था बालमाविद् एलुम्नाई एशोसियशनका अध्यक्ष बद्रिलाल प्रधानले चापागाईलाई बालकुमारी रत्नले सम्मान गरेका हुन् ।
दक्षिण एशियाबाटै पहिलोपटक महासंघको महासचिवमा चापागाईले प्रतिनिधित्व गर्ने मौका पाएका हुन् । महासचिवको यो पद रेडक्रसको कार्यकारी प्रमुख सरहको पद पनि हो ।
विद्यालय तहदेखि नै जुनियर रेडक्रस सर्कलमा आवद्ध भई लामो समय रेडक्रसका विविध गतिविधिमा संलग्न भएपश्चात चापागाईलाई यो सफलता हात परेको हो ।
सम्मान कार्यक्रममा आफू बालकुमारी माध्यमिक विद्यालयमा कक्षा दशमा अध्ययन गर्दैगर्दा रेडक्रसको माध्यमबाट जापान जाने मौका प्राप्त गरेको र जापानका रेडक्रसकर्मीहरुले गरेको कामबाट प्रभावित भई रेडक्रसको गतिविधिमा संलग्न भएको चापागाईले जानकारी गराए ।
सम्मान कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक शरदरञ्जन श्रेष्ठ र सरस्वती रिजालले चापागाईको यो सफलताले आफूलाई आत्मसन्तुष्टि मिलेको बताए ।
विद्यालयका सहायक प्रधानाध्यापक नारद परिहस्तले रेडक्रसमा काम गर्दा पूर्व विद्यार्थी चापागाईको याद आइरहने बताए ।
बालमाविद् एलुम्नाई एशोसियशनका संस्थापक अध्यक्ष बद्रिलाल प्रधानले विद्यालयका पूर्व विद्यार्थीहरुले अहिलेसम्म पनि विद्यालयको नाम र इज्जत राख्ने गरेको बताउँदै वर्तमान समयमा पनि विद्यालयमा अध्ययनरत विद्यार्थीरुलाई सफलताको अभियानमा सरिक बनाउनुपर्ने बताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी चितवनका अध्यक्ष ज्ञानशाली न्यौपाने, बालकुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणबहादुर थापा, बालकुमारी कलेजका प्रिन्सिपल जगदिश्वर खनाल लगायतले महासंघमा निर्वाचित चापागाईलाई बधाई दिँदै रेडक्रसको मानवीय सहयोगको अभियानलाई सबैका सामु लानुपर्ने बताए ।
सम्मान कार्यक्रमको सञ्चालन बालमाविद् एलुम्नाई एशोसियसनका महासचिव सेवन पन्तले गरेका थिए भने कार्यक्रमको सभापतित्व एलुम्नाईका अध्यक्ष बद्रिलाल प्रधानले गरेका थिए ।

129Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement