660Shares

रामनगर । रामनगरस्थित रामनगर माध्यमिक विद्यालयले विद्यालयको शैक्षिक स्तर अभिवृद्धि गर्न महायज्ञ लगाउने भएको छ । विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने र प्राविधिक शिक्षाको पठनपाठन गराउने उद्देश्यले महायज्ञ लगाउन लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर कुँवरले जानकारी दिए ।
२०१७ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा नर्सरीदेखि दश कक्षासम्म पढाई हुँदै आइरहेको छ । महायज्ञ सञ्चालन गर्न मंगलबार विद्यालयमा छलफल कार्यक्रमको आयोजना गरिएको थियो । विद्यालयले स्वर्ण महोत्सव पर्व मनाईसकेको छ ।
महायज्ञ आगामी माघ २ गतेदेखि ९ गतेसम्म सात दिन सञ्चालन हुने विद्यालयले जनाएको छ । हाल महायज्ञ सञ्चालनका लागि मूल समिति र विभिन्न विषयगत समितिहरु निर्माण गर्ने तयारी भईरहेको छ । महायज्ञमा कथा शिरोमणी पण्डित दिपकप्रसाद पौडेलले कथावाचन गर्नेछन् ।
महायज्ञलाई व्यवस्थित गर्न विद्यालयले राखेको छलफल कार्यक्रममा रामनगरका सरोकारवाला समुदायको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वार्ड नं. १ का वडाध्यक्ष जयराम श्रेष्ठ थिए । वडाध्यक्ष श्रेष्ठले महायज्ञलाई आर्थिक र सामाजिक रुपले व्यवस्थित गर्न स्थानीय संघसंस्था, राजनीतिक दल र सामाजिक व्यक्तित्वहरुलाई एकसाथ लिएर अघि बढ्न सुझाव दिए । रामनगरका स्थानीय राजनीतिक दलको भावना विपरित जान थालियो भने महायज्ञले सफलता प्राप्त नगर्ने श्रेष्ठको सुझाव थियो ।
यसैगरी कार्यक्रममा नेकपा चितवनका सचिवालय सदस्य नारायण अधिकारी, सतनचुली सामुदायिक वन उपभोक्ता समूहका लिलाबहादुर पौडेल, विद्यालयका पूर्व प्रधानाध्यापक जीवनाथ पराजुली, नेपाल पत्रकार महासंघ चितवनका सल्लाहकार हरिप्रसाद पोखरेल, पण्डित दिपकप्रसाद पौडेल, विद्यालय संस्थापक परिवारका तर्फबाट भीष्मराज रिमालले महायज्ञ सफलताको शुभकामना व्यक्त गर्दै विभिन्न सुझाव प्रस्तुत गरेका थिए ।
कार्यक्रममा महायज्ञलाई सफलताका सम्पन्न गर्न विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष जंगबहादुर भण्डारी, सल्लाहकार भीमकुमार श्रेष्ठ, गोविन्दप्रसाद देवकोटा, प्रकाश बराल, फूलमाया चेपांग, रश्मि रोक्का, गीता श्रेष्ठ, रामहरि कोइरालाले प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर कुँवरको सभापतित्वमा सम्पन्न भएको थियो ।

660Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement