213Shares

भरतपुर, २८ मङ्सिर ।
भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानको दोश्रो केन्द्रीय साधारण एवम् अधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई शनिबार भरतपुरमा पद हस्तान्तरण गरिएको छ । ‘एकीकृत साँस्कृतिक पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ प्रतिष्ठानको गएको असोज २६ र २७ गते चितवनमा अधिवेशन सम्पन्न भएको थियो ।

पद हस्तान्तरण समारोहमा आधिकारिक कर्मचारी ट्रेड युनियन महासंघका उपाध्यक्ष एवम् निर्वाचन समितिका सदस्य भोलानाथ पोखरेलले निर्वाचित सदस्य एवम् पदाधिकारीहरुको नाम घोषणा गर्दै उनीहरुलाई सपथ समेत खुवाएका थिए । निर्वाचित समितिलाई बधाई दिँदै उनले सबै समुदायले आफ्नो ईतिहास खोजेर संगठित भईरहेका बेला प्रतिष्ठानको यो कार्य सम्मानयोग्य भएको बताए । अब यो संगठित अभियान परिष्कृत र देशकै समृद्धितर्फ लाग्नुपर्नेमा उनको जोड थियो ।
प्रतिष्ठानले यसअघि अधिवेशन सम्पन्न गर्न राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलको संयोजकत्वमा कर्मचारी ट्रेड युनियन महासंघका उपाध्यक्ष भोला पोखरेल र जिल्ला कारागार पर्साका प्रमुख श्रवणकुमार पोखरेल सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।
अधिवेशनबाट पुनः ओमप्रसाद पोखरेलकै अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । प्रतिष्ठानको कामलाई व्यवस्थित बनाउन शनिबार ११ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ । जसमा अध्यक्ष ओमप्रसाद पोखरेल, उपाध्यक्षहरु शान्तप्रसाद पोखरेल, शंकर पोखरेल र माधवप्रसाद पोखरेल छन् । यसैगरी महासचिव हरिप्रसाद पोखरेल, कोषाध्यक्ष रेखा पोखरेल, सह कोषाध्यक्ष धनप्रसाद पोखरेल र सदस्यहरुमा भीमप्रसाद पोखरेल, रामप्रसाद पोखरेल, शारदा पोखरेल, यदुनाथ पोखरेल कार्यसम्पादन समितिमा छन् ।
देशका विभिन्न जिल्लाबाट आएका पोखरेलहरुको कार्यक्रममा सहभागिता रहेको थियो । पोखरेलहरुले आफ्नो वंशावली, टेलिफोन डाइरेक्ट्री, केन्द्रीय कार्यालय निर्माण गर्ने विषयमा कार्यक्रममा व्यापक छलफल गरेका थिए । कार्यक्रममा अध्यक्ष ओमप्रसाद पोखरेलले प्रतिष्ठानको भावी कार्ययोजना, महासचिव हरिप्रसाद पोखरेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रेखा पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक प्राध्यापक श्रीधर शर्मा मजगैया पोखरेल, गोविन्दप्रसाद पोखरेल, सुनिलकुमार पोखरेल, महेन्द्र पोखरेललगायतले प्रतिष्ठानको कामलाई गतिशिल बनाउन अनुरोध गरे ।
केन्द्रीय कार्यालय निर्माण सहयोगार्थ पोखरेलहरुले आगामी माघ ११ गतेदेखि १८ गतेसम्म चितवनमा वृहद् महायज्ञ सञ्चालन गर्दैछन् । चितवनको देवघाटमा पोखरेलहरुको केन्द्रीय प्रतिष्ठान निर्माण गर्न स्व. चुणामणि पोखरेलले दिएको करिब डेढ कठ्ठा जमिनमा भारद्वाज ऋषिको मूर्ति सहित विश्राम गृह र मन्दिर निर्माण गरिने प्रतिष्ठानको तयारी छ । चितवनको पारसनगरमा हुने वृहद् धनधान्याञ्चल महायज्ञ कार्यक्रम सम्पन्न गर्न ओमप्रसाद पोखरेलको संयोजकत्वमा मूल समिति निर्माण गरिएको छ । महायज्ञकै लागि विभिन्न ३२ वटा विषयगत उपसमितिसमेत निर्माण गरिएको छ ।
भवनलाई भारद्वाज गोत्रीय पोखरेलहरुको आफ्नो भवन भन्ने भावना दिलाउनको लागि देशभरिका पोखरेलहरुबाट मुठ्ठी दान उठाएर भवन निर्माण गर्नुपर्ने सहभागिहरुले बताएका थिए । उक्त स्थानमा हवनकुन्ड सहितको पितृलाई पिन्ड दिने स्थल समेत निर्माण गरिने भएको छ ।
यसैगरी प्रतिष्ठानले श्रीधर मजगैया पोखरेलको संयोजकत्वमा ७ सदस्यीय वंशावली मस्यौदा समिति, प्रा.डा. राजाराम सुवेदीको संयोजकत्वमा विज्ञ समिति, र महासचिव हरिप्रसाद पोखरेलको संयोजकत्वमा टेलिफोन डायरी प्रकाशन समिति निर्माण गरेको छ ।

213Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement