ग्लोबल र जनता बैंकको ‘बिग मर्जर’
काठमाडौँ (रासस) ः सरकारले चालू आर्थिक वर्षको बजेटमा समावेश गरेको ठूला बैंक तथा वित्तीय संस्थालाई एकापसमा गाभ्ने (मर्जर) नीति कार्यान्वयन गर्ने पहिलो संस्थाका रुपमा स्थापित भएको छ ग्लोबल आइएमई बैंक ।
साबिकको जनता बैंक र ग्लोबल आइएमई बैंक गाभिएर देशकै धेरै पूँजी भएको बैंक बनेको छ । अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा शुक्रबारदेखि दुई ठूला बैंक गाभिएर एकीकृत कारोवार शुरु गरेका हुन् ।
सरकारले चालू आवको बजेटमार्फत र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्तीय संस्थाको सबलीकरणका लागि मर्जर तथा प्राप्ति प्रक्रियालाई प्रोत्साहित गरी आएको तथ्यलाई दृष्टिगत गरी दुवै बैंक एकापसमा गाभिएको बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।
एकापसमा गाभिएसँगै बैंकको चुक्ता पूँजी रु १९ अर्ब पुगेको छ । यस्तै कूल प्राथमिक पूँजी रु २४ अर्ब, निक्षेप रु दुई खर्ब १३ अर्ब, कर्जा रु एक खर्ब ९४ अर्ब पुगेको छ । यो परिमाणको वित्तीय अवस्था हाल सञ्चालनमा रहेका कुनै पनि बैंकको नरहेको अध्यक्ष ढकालको भनाइ छ ।
त्यसैगरी, ७७ वटै जिल्लामा ३०० भन्दा धेरै शाखा, २५९ वटा एटिएम बुथ, २४३ वटा शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्शन काउन्टर, विदेशमा तीनवटा प्रतिनिधि कार्यालय गरी कूल सञ्जाल ८३८ पुगेका छन् । यस्तै बैंकमा तीन हजार २५० कर्मचारी र २० लाख ग्राहक पुगेका छन् ।
सरकार तथा नेपाल राष्ट्र बैंककोे नीतिगत व्यवस्थालाई अङ्गीकार गरी यसअघि पनि ग्लोबल आइएमई बैंकले १० वटा वित्तीय संस्थालाई गाभ्ने तथा प्राप्ति गर्ने कार्य सम्पन्न गरिसकेको छ ।
ग्लोबल आइएमई बैंक ‘क’ वर्गको वाणिज्य बैंकका रुपमा १३ वर्षअगाडि र जनता बैंक नेपाल लिमिटेड ‘क’वर्गको वाणिज्य बैंकका रुपमा १० वर्षअगाडि स्थापना भएका हुन् ।
गाभिने प्रक्रियाबाट प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धि हुने, बैंकको वित्तीय, मानव–संशोधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि हुने, ग्राहकलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ सुविधा प्रदान गर्न सहज हुने बैंकले विश्वास लिएको छ ।
मुलुकको बैंकिङ तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने, बैंकले प्रदान गर्ने सेवासुविधा तथा सहुलियतमा समेत अभिवृद्धि भई व्यापक पहँुचका साथ स्तरीय सेवा प्रदान गर्न सकिने सो अवसरमा जानकारी दिइयो ।
बैंकको घोषित नीतिअनुरुप खुद्रा तथा मझौला कर्जा विस्तारमा विशेष महत्व दिनाका साथै केन्द्रीय बंैकको निर्देशनअनुरुप विपन्न क्षेत्र साथै तोकिएको उत्पादनशील क्षेत्रमा हुने कर्जा प्रवाहलाई प्राथमिकतामा राख्ने लक्ष्य राखिएको छ ।
प्रविधिमा लगानी थप्नुस् ः अर्थमन्त्री
कार्यक्रममा अर्थमन्त्री डा खतिवडाले प्रविधिमा लगानी थप्न आग्रह गरे । “प्रविधिमा थप लगानी नगर्ने हो भने जतिसुकै ठूला संस्थासमेत समस्यामा पर्न सक्छन्, ग्लोबल आइएमई र जनता बैंक मिलेपछि बैंक पनि ठूलो भएको छ, अब प्रविधिमा थप लगानी नगरी सुखै छैन”, उनले भने ।
अर्थमन्त्रीले बैंकलाई थप विदेशी लगानी भित्र्याउनसमेत आग्रह गरे । आर्थिक वर्ष २०६५÷६६ तिर रु पाँच अर्ब रकम खोज्न पनि धेरै बैंक मिल्नुपर्ने अवस्थाको स्मरण गर्दै उनले अब संस्था ठूलो भएकाले विदेशी लगानी भित्र्याउन लाग्नुपर्नेमा जोड दिए ।
उनले दुईवटा बैंक मिलेपछि एउटै बैंकको पूँजी रु २० अर्बको हाराहारीमा पुगेको र अब रु १२ अर्बसम्म लगानी गर्न कुनै समस्या नपर्ने बताए । उनले भने, “नेपाली बैंकले अब नेपाली मात्रै नभई विदेशी लगानी पनि ल्याउनुपर्छ, अहिले हामीलाई आन्तरिकभन्दा पनि बाह्य लगानीको निकै आवश्यक छ ।”
उनले बैंकका शेयर सदस्य र कर्मचारीको समेत नेतृत्व गरेर ब्याज खाने प्रवृत्ति मौलाएकोमा आपत्ति प्रकट गरे । उनले भने, “ब्याजमात्र खाएर मोटाउन सजिलो छ । मोटाएपछि घटाउन गाह्रो हुन्छ । भोलि घटाउन समस्या होला, त्यो विचार गर्नुहोला ।”
अर्थमन्त्री खतिवडाले ठेक्कामा कर्मचारी राख्ने प्रवृत्ति गलत भएको टिप्पणी गरे । उनले भने, “आफ्ना कर्मचारी चिन्नुस् । ठेक्कामा कर्मचारी राख्ने प्रवृत्ति तत्काल सच्याउनुस् । किनकि लगानी नगरी प्रतिफल प्राप्त हुँदैन । कर्मचारीको वृत्तिविकासमा लगानी गर्नुस् ।”
उनले बैंकले ग्राहकको व्यक्तिगत विवरण मात्रै नभई कर्मचारीको विवरणसमेत चुस्त राख्न ध्यानाकर्षण गराउनुभयो । ऋण लिन चाहनेलाई सेवाशुल्क लगायतका अनेकन बाहनामा धेरै शुल्क लिएकामा समेत अर्थमन्त्रीले खरो टिप्पणी गरे । उनले भने, “बैंकले लिने सेवा शुल्क सबैलाई स्वीकार्य होस्, नाफा पनि सबैले स्वीकार्य हुने खालकै कमाउनुस् ।”
कर्मचारीको क्षमता वृद्धिमा किन ध्यान नदिएको ः गभर्नर
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले कर्मचारीको क्षमता वृद्धिमा बैंक तथा वित्तीय संस्थाले ध्यान नदिएकामा आपत्ति प्रकट गरे ।
उनले बैंकलाई चुनौतीबाट बचाउन प्रविधिमा लगानी गर्न आग्रह गरे । उनले भने, “एक आपसमा गाभिएपछि ग्लोबल आइएमई बैंक ठूलो वित्तीय संस्था भयो, पूँजी र सबै हिसाबले । अब निक्षेपकर्ताको अपेक्षा पनि बढ्न जान्छ, त्यसैले त्यसतर्फ काम गर्नुहोला ।”
उनले आफ्ना कर्मचारीलाई समयसापेक्ष तालीम दिन, उनीलाई अद्यावधिक गर्न र सक्षम बनाउनेतर्फ पनि लाग्नुपर्नेमा जोड दिए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बैंक तथा वित्तीय संस्थालाई कम ब्याजमै लगानी गर्न आग्रह गरे ।



















