22Shares

रामनगर, १८ मङ्सिर । सतनचुली सामुदायिक वन उपभोक्ता समूहको १५ औँ साधारण सभा एवम् आठौँ अधिवेशनको उद्घाटन समारोह बुधबार रामनगरमा सम्पन्न भएको छ । अधिवेशनको बन्द सत्र सुरु भएपनि नयाँ नेतृत्व चयन गर्ने विषयमा भने सहमति हुन सकेको छैन ।
विधान संशोधन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्ने भएकाले अधिवेशन लम्बिएको समूहका उपाध्यक्ष जीवनाथ पराजुलीले जानकारी दिए । समूहको विधान संशोधनलगायत नयाँ नेतृत्व चयनका लागि तयारी गर्न साधारण सभाले पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ । निर्वाचन समितिले नयाँ नेतृत्व चयनको मिति पछि तय गर्नेछ । जसमा भरत कुँवर, यमबहादुर राना, टिकादत्त भट्टराई, जीवकला रिमाल र अर्जुन भेटवाल रहेका छन् ।
समूहका अध्यक्ष लेठबहादुर पौडेलको अधयक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन समारोहमा चितवन क्षेत्र नं. २ (क) बाट निर्वाचित प्रदेश सांसद घनश्याम दाहाल प्रमुख अतिथि थिए । कार्यक्रममा प्रमुख अतिथि दाहालले स्थानीय उपभोक्ताहरुको हितलाई ध्यानमा राखी प्रदेश सरकारको बजेटबाट रामनगर हुँदै ठिमुरा र देवघाट जाने बाटोलाई कालोपत्रे चक्रपथको रुपमा विकास गर्न लागिएको जानकारी दिए । जल, जमिन र जंगलको अधिकार प्राप्तिमा सामुदायिक वनका उपभोक्ताहरु लाग्नुपर्ने पनि सांसद दाहालको जोड थियो ।
कार्यक्रममा डिभिजन वन अधिकृत विष्णुप्रसाद पौडेल, सामुदायिक वन उपभोक्ता महासंघ चितवनका अध्यक्ष भरत ढुंगाना, ३ नं. प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रकाश रानाभाट, नेकपा १ नं. वार्डकमिटि अध्यक्ष शुक्रकुमार श्रेष्ठ, नेपाली काँग्रेसका द्रुपतराज भट्टराई, बरण्डाभार क्षेत्र सामुदायिक वन परिषद्का उपाध्यक्ष टंकप्रसाद न्यौपाने, सहायक डिभिजन वन अधिकृत कलाधर बास्तोला, जलदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केशव थापा ‘निरु’, पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष हरिप्रसाद पोखरेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यसैगरी वन समूहका पूर्व अध्यक्षहरु बद्रिनाथ आचार्य, यमबहादुर राना, भरत कुँवर, जंगबहादुर भण्डारी, भगवान घले, अतिथि परिषद् संयोजक मुकुन्दशरण सिग्देल, विधान मस्यौदा समितिका संयोजक सोमराज आचार्यलगायतले पनि कार्यक्रममा शुभकामना व्यक्त गर्दै सामुदायिक वनको हितमा काम गर्न सबैलाई अनुरोध गरे ।
कार्यक्रममा सामुदायिक वनका पूर्व अध्यक्षहरु र वन संरक्षण कार्यमा सहयोग गर्ने उपभोक्ता एवम् कर्मचारीहरुलाई सम्मान गरिएको थियो । यसैगरी समूहका ज्येष्ठ नागरिक, अपाङ्ग, एकल महिलालाई जनही एक हजार रुपियाँका दरले आर्थिक सहयोग प्रदान गरिएको थियो ।
कार्यक्रममको बन्द सत्रमा सचिव राधा कार्कीद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष हरेन्द्रराज केसीद्वारा प्रस्तुत दुई करोड ९६ लाख दुई सय सात रुपियाँको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो ।
वि.सं. २०५६ सालमा रामनगर, ठिमुरा र देवघाटबाट संरक्षण प्रारम्भ भएको सतनचुली वनलाई वि.सं. २०६७ भदौ १९ गते समूहमा हस्तान्तरण गरिएको थियो । समूहमा ८०२ घरधुरी उपभोक्ता रहेका छन् ।

22Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement