0Shares

सबै भन्छन्,

छोराछोरी बराबरी,
म भन्छु,
बाबाआमा बराबरी।

‘बेबी हुम डु यु लभ मोर?’

म साढे तीन वर्षकी छु। र, बाबाले यो प्रश्न तेर्स्याउँदा फ्याट्टै जवाफ दिन्छु।

‘बाबा।’

खै मलाई थाहा छैन किन जवाफ ‘बाबा’ नै आउँछ। आमाको अलि बढी लाडप्यारले मात्तिएको पो हुँ कि?

आमाले कहिल्यै पनि मैंले तँलाइ नौ महिना पेटमा राखेर कति दुःखले जन्माएको भनेर भन्नुभएन। र, बाबा त सँधै ‘मैले तिमीलाई होइन तिमीले मलाई जिन्दगी दियौं भनिरहनुहुन्छ।’

म पेटमा हुँदा आमालाई मेरो चिन्ता धेरै थियो। र, बाबालाई त मसँगै आमाको पनि।

म सानो बयरको गेडा जत्रै हुँदो हुँ। आमाको पेटमा मेरो अस्तित्व सुरु भइसकेको थियो।

१० वर्ष भइसकेको थियो बाबा र आमाको बिहे भएको। तर, म किन आइन त्यतिका वर्ष? मलाई सम्झेर दुःख लाग्छ।

फेरि सम्झन्छु, म उहिल्यै आको भए यति मिठो अनुभव गर्न पाउँदिन थिएँ कि? ‘जे हुन्छ, राम्रै हुन्छ’ भन्छन् नि!

खहरे भेलजस्तै थियो आमाको महिनावारी। कतिबेला आउँछ र कतिबेला सुक्छ ठेगान नभएको।

त्यसैले त म बस्न खोज्थें, तर पखालिहालिन्थें। १० वर्षसम्म आमाको त्यान्द्रो समात्न खोजें तर बगिरहेँ। बस्न सकिन आमाको पेटभित्र। र, बाबा आमालाई भन्नुहुन्थ्यो, म नआएकै राम्रो।

बाबा आमा सँधै जोडी भएर बाँधिनुहुन्छ। म आएँ भने त, बाँडिन्छ रे माया। म, बाबा आमाको बीचमा पर्खाल हुन्छु रे। तर, मलाई थाहा छ, त्यो बाबाले आमालाई गरेको माया थियो। कतै आमा मेरो आशामा निराश हुनुहुन्छ कि भनेर?

म भित्र टुसाएँ कि टुसाएन बा–आमालाई थाहा नै हुँदैनथ्यो। आउनुस् म तपाईंलाई त्यो रातको कथा सुनाउँछु।

‘डियर, मिन्स नभाको चार महिना भयो, पेट दुखिराख्छ, तर खै किन यो पटक यस्तो लाग्दैछ, हाम्रो नयाँ साथी त आएन?’

१० वर्षसम्म हराएको विश्वासले आज ढोका ढकढकाएको थियो। आमालाई अंगालो हाल्दै बाबाले ‘भोलि बिहानै अस्पताल जानुपर्छ र मिन्स सुरु हुने औषधि खुवाउनुपर्छ।’ भन्दै गर्दा आँखा रसाएको हुनुपर्छ, बोली अलिक बाक्लो थियो।

तर, अचानक बाबाले आमाको पेट सुमसुम्याउनुभयो। म टुसाइसकेकी थिएँ। पहिलोपटक बाबाको स्पर्शले मलाई बाबाको मायाको आनन्द महशुस भएको थियो। तर, बाबा र आमा दुवैलाई थाहा छैन कि म भित्रबाट सबै कुरा सुनिरहेछु।

‘भोलि प्रेगनेन्सी टेस्ट गर्ने किड ल्याएर जाँच। खै किन मलाई यस्तो लाग्दैछ, साँच्चै हाम्रो आफ्नो भित्रैछ।’

कुनै तरङ्ग पुग्यो कि बाबासम्म। बाबाले निर्णय फेर्नुभो।

बाबा कामबाट फर्किएपछि फेरि आमासँगको भलाकुसारी सुरु भयो।

मलाई बडो मजा आइरहेको थियो, लुकामारी खेलेजस्तो। म लुकेकी थिएँ र बाबा आमा मलाई खोज्दै हुनुहुन्थ्यो।

‘डियर, टेस्ट त पोजिटिभ देखियो।’

आमाले यति भन्न नपाउँदै बाबाले आमाको भुँडी सुमसुमाउनुभो।

साँच्चै भनुँ, आमालेभन्दा बाबाले सुमसुमाउँदा मलाई अलि बढी आनन्द आउँथ्यो।

बाबाले खै के सोँच्नुभो, त्यो टेस्टर समात्नुभो। चाइनिज सस्तो टेस्टर भएकाले बाबा ढुक्क हुनुभएन, र जुरुक्क उठेर राती नै अलि महँगो अर्को टेस्टर ल्याउनुभो।
जे सुकै होस्, फर्केर आएपछि तातो तोरीको तेलले आमालाई तेल लगाइदिनुभयो। अलि स्वार्थी हुनुभयो क्यारे, भुँडीमा अलिक धेरै बेर लगाउनुभयो।

मनमनै सोचें बाबाले मलाई आमालाईभन्दा धेरै माया गर्नुहुन्छ कि! आमा अस्पताल गएपछि बल्ल दुवैजना ढुक्क हुनुभएको थियो, म भित्रै छु र करिब साढे दुई महिनाको भइसकेकी छु।

आमाको दैनिकी करिब त्यही थियो, काममा जाने फर्कने।

तर, बाबाको दैनिकी अचानक परिवर्तन भयो। बिहान खाजा बनाएर आमालाई तेल लगाइवरीमात्र पसल जानुहुन्थ्यो। तेल लगाउँदा भुँडीमै धेरै लगाउनुहुन्थ्यो। र, त्यो मसम्म पुग्थ्यो।

अँ, साँच्ची म पाँच महिनाको भइसकेकी छु। तर, बाबा आमालाई अझै थाहा छैन म छोरा कि छोरी।

‘डियर, आज त लात्ती हानेको अनुभव भो त!’

आमाले अनुभव सुनाउनुभो, ‘छोरो छ भित्र छोरो।’

मलाई झनक्क रिस उठ्यो। छोरोभन्दा दम्भ जस्तो। बाबाको ठूलो नाक फुलेको थियो।

‘छोरी हो मेरी साथी,’ आमाले जानेर भन्नुभयो या नजानेर। तर, खुसी लाग्यो। आखिर आमा भनेको आमै हो।

‘मैंले दिनभर इन्टरनेटमा हेरें। सबै लक्षण हेर्दा छोरो नै छ।’

बबाको दैनिकी बनिसकेको थियो– बिहानै उठेर आमालाई तेल लाइवरी पसलमा दिनभर इन्टरनेटमा खोजेको खोज्यै गर्ने। अनि एक भारी सब्जी र फलफूल ल्याउने।

जुस बनाउने, सुप बनाउने। आमाले जे खानुहुन्छ त्यो म पनि खान्छु रे। बाबा निकै संवेदनशील र जिम्मेवार बन्नुभएको थियो। शाकाहारी भएकोले पनि विशेष ख्याल राख्नुपर्छ भन्नुहुन्थ्यो, बाबा।

अँ साँच्ची, म फेरि बरालिएँ। म पाँच महिनाकी भैसकेकी थिएँ। र, आज आमासँगै अस्पताल जाँदै थिएँ।

म कत्रो भएँ मेसिन लगाएर बाबा र आमाले ‘लाइभ’ हेर्नुहुनेछ। जम्मा तीन मिनेटमात्र हेर्नुहुनेछ।

र, म सोच्दैछु, त्यतिबेलै म निदाएँ भने? अहँ म निदाउनु हुँदैन। तर, म निदाएछु।

आमाको पेटमा मेसिन राखेपछि, काउकुती लाग्यो। म ब्युउँझिएँ, म हाँसे। मसँगै बाबा आमा पनि हाँस्नुभयो। तर, आमा अलि बढी।

थाहा भइसक्यो म स्वस्थ छु र छोरी हुँ। बाबाको अनुहार अलिक कालो भयो। अहिलेसम्म छोरो नै छ भनेर जिद्दी कस्नु भाको थियो नि! मनमनै भनें ‘खुचिङ बाबा’।

उसो त आमाको पेटभित्र रात नै थियो। तर पनि मलाई रातीको समय नै मन पथ्र्यो।

बाबाले आमाको पेटमा तेल लगाउँदाको आनन्दको अनुभूति यहाँ कसरी भनुँ म। अनि, राती बाबा आमाबीचको कुराकानी। त्यसले निकै रोमान्चित बनाउँथ्यो मलाई। आज त झन् म छोरी भन्ने थाहा पाएको दिन।

‘डियर, अलिक खुसी हुनुभएन कि के हो छोरी हुँदा?’

आमाको यो प्रश्नको उत्तरले बाबा र मेरो मायाको कडी जोड्ने तयारी गर्दै थियो।

‘छोरो त आमाको हुन्छ, छोरी बाबाको हो। छोरो भाको भए तिम्रो हुन्थ्यो। मेरो त तिमी छँदैछौ नि?’

बाबाको यो जवाफले आमासँगै म पनि रसाएँ।

म भित्र छु भन्ने कुरा बाबा आमा र मलाईबाहेक कसैलाई थाहा थिएन। १० वर्षसम्म नटुसाएकी म। आमाको पेट कमजोर भएर म बगें भने? यही डर थियो बाबा आमालाई।

तर, म डराएकी थिइँन, म बलियो भइसकेकी थिएँ। झुन्डिएरै भए पनि पाँच महिनापछि बाबा आमाको काखमा आएरै छाड्छु भन्ने अठोट थियो।

फेरि भावुक भएँ म। छोरी मान्छे न हुँ, गन्थन धेरै गर्छु। म सात महिनाकी भइसकेकी थिएँ। अब त आमाले लुकाएर लुक्ने कुरा पनि भएन। आमाले मेरै लागि काम छाडिसक्नुभएको थियो। बाबाको दैनिकी पनि म र आमामै केन्द्रित थियो।

तर, त्यो रात भने म धेरै बेर रोएँ।

‘डियर, डर लाग्छ छोरी ठिकठाक त जन्मिन्छे नि?’ आमाको प्रश्न स्वाभाविक थियो।

यतिका वर्ष आमाको पेटबाटै बगेको या उम्रिन नसकेको म। आमाको संकेत म लाटी, लुली या लंगडी हुन्छु कि भन्ने थियो। ढुक्क हुनलाई पेट भित्रैको मेरो जाँच आवश्यक थियो। र, त्यो जोखिमपूर्ण थियो। मेरो लागि पनि र आमाको लागि पनि।

म ठिकठाक छैन भने मलाई यो संसार देखाउने या नदेखाउने अधिकार बाबा आमामा हुन्थ्यो। र, यदि यो जाँच भए, मलाई गाह्रो हुने थियो।

‘यहाँ हरेक केही न केही खुबी बोकेर जन्मन्छ, टेन्सन नलेउ, लाटी होस्, लंगडीहोस् जेसुकै होस्, मैले प्रार्थना गरेको छु, अन्धी नहोस्, यो संसार उसले देख्न पाउनैपर्छ।’

बाबा यतिमै रोकिनु भएन।

‘जाँच गरिँदैन। केही भए म सम्हाल्छु। चिन्ता नलेऊ, छोरी पूरै फिट छे।’

बाबाले मलाई कसरी देख्नु भो हँ? मेरो थप जाँच गरिएन। त्यसै रातको छाप मेरोमा परेको छ र बाबाले ‘बेबी हुम डु यु लभ मोर?’ भन्दा फ्याट्टै ‘बाबा’ आइहाल्छ।

छोरीको जात बकबक धेरै गर्ने भन्छन्। म पनि कति बकबक गर्छु है? भोलिपल्ट बिहानै बाबाआमाले हजुरबा हजुरआमालाई मेरो बारे जानकारी गराउनुभयो।

फेसबुकमा आमाको ठूलो भुँडी आदि छोपेर हाल्नुभो। बधाईको ओइरो लाग्या हुनुपर्छ। पक्कै यो सबै गरेर बाबाले आमालाई आत्मबल दिनुभएको थियो, छोरी गज्जब छे भनेर।

आज त मेरो जन्मिने दिन, कौतुहल छ बाबा र आमालाई देख्ने। तर, बाबा भन्नुहुन्छ मैले त सेतोमात्र देख्छु रे जन्मिँदा। बाबाआमा हेर्न त मलाई अझै एक वर्ष कुर्नुपर्छ।

तर, स्पर्शले मैले मेरा बाबाआमा देखिसकेको थिएँ। बाबा कालो-कालो, नाक ठूलो भएको आमा गोरी–गोरी चिटिक्क परेकी राम्री। बाबाको ठूलो नाक र कालोकालो रङ अनि आमाको फुच्ची हाइट आयो भने म कस्ती देखुँला है?

रातीको ११ बजेको हुँदो हो। अचानक आमाको पेट दुख्यो। डाक्टरले असाध्यै दुख्यो भनेमात्र अस्पताल ल्याउनु भनेको छ। बाबाले आमालाई डोर्‍याउँदै नजिकैको पार्क जाउँ भन्नुभयो।

‘भोलि बिहान अस्पताल जाउँला’ बाबाको कुरामा आमाको स्वीकृति थियो। तर, पार्क पुग्ने बित्तिकै आमालाई असह्य भयो।

‘अस्पताल नै जाऊँ’

बाबाले नजिकैको ट्याक्सीमा हालेर आमा र मलाई अस्पताल लग्नुभयो। नर्सहरु आएर भोलि बिहानसम्म म जन्मिन्छु भनेपछि आमा बेडमा पल्टिनुभयो। बाबा कुर्सीमै पहरा दिएर बस्नुभयो।

म निस्कन सकिनँ भने आमालाई चिर्छन् रे। बल लगाउँदा आमाको ढाड खुस्किन्छ रे। के–के खेलिरह्यो मनमा। तर, म दृढ थिएँ। सकेसम्म आमालाई दुःख दिने छैन।

बिहान भयो, अब मेरो निस्कने समय। बाबाले आमाको हात समात्नुभएको छ। चार-पाँच जना नर्स छन्। आमाले बल लगाउनुहुन्छ, ती नर्स हाँस्छन्। बाबा हेर्न सक्नुहुन्न, आमाको हात समातेर चुपचाप उभिनुभएको छ।

आमा फेरि बल लगाउनुहुन्छ, म जहाँको तहीँ। म आफैं बल लगाउन पनि त सक्दिन। नर्स फेरि हाँस्छन्। बाबालाई असह्य भयो, नर्सहरुलाई एकमुष्ट गाली गर्दिनुभो। डाक्टरले बाबालाई बाहिर निकालिन्। र बोलाएपछिमात्र भित्र आउन भनिन्। आमा र मलाई नरमाइलो लाग्यो। बाबा निस्कनुभो।

म जन्मीसकेकी थिएँ। तर, बाबा हुनुहुन्थेन। नर्सले मलाई मन तातो पानीले नुहाइदिएर आमाको काखमा राखिदिए। अहो, कति मिठो! साँच्ची बाबाको काख कस्तो हुँदो हो? आमा जत्तिकै?

कोठाभित्र म र आमामात्र थियौं। आमाको ओछ्यानको टाउकोमा मेरो सानो ओछ्यान थियो, र म त्यसैमा पल्टेर बाबा पर्खंदै थिएँ, आमासँगै।

बाबा आउनुभो। मलाई हेर्नुभयो, तर बोक्नु भएन। आमालाई हेरिरहनुभयो। आमाको निधारमा चुम्नुभयो। मलाई वास्तै गर्नु भएन।

‘कस्तो छ डियर तिमीलाई, छोरी त निकै राम्री छे त?’

आमा मुसुक्क मुस्कुराएछि, बाबाले मलाई बोक्नुभयो। आमाजस्तै थियो बाबाको काख पनि।

‘डियर सत्य कुरा भनौं?’ एकपटक मलाई अनि आमालाई हेर्दै बाबाले केही भन्न खोज्नुभयो।

‘मलाई छोरीको खासै माया लागेन, तिम्रो धेरै लाग्यो।’

मलाई रिस उठयो। आमा मुसुक्क हाँस्नुभयो। केही बेर बोकेपछि मलाई आमाको काखमा राखिदिनुभयो। बाबाले भनेको ठीकै त हो नि!

‘आखिर एक दिन म पनि त आमा बन्नुछ!’

र, आज बाबाको जन्मदिन। उपहार बोकेर बाबाको प्रतीक्षामा छु।

सेतो कागजमा रातो अक्षरले बाबाको नाम लेखेर। पक्कै बाबाले मन पराउनुहुनेछ।

मेरो गन्थन सुन्नुभो नि। गन्थने केटी नभन्नुहोला। एउटामात्र ढाँटेको छु। के थाहा छ?

‘बेबी हुम डु यु लभ मोर?’ ‘बाबा’।

बाबा मख्ख पर्नुहुन्छ के। आमाले सिकाउनुभाको मलाई।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement