त्यतिबेला तानातानकै क्रममा नीरकुमार र सञ्जीव होटल बाहिर पुगिसकेका थिए । चन्द समूहका कार्यकर्ताले सञ्जीवलाई गोली प्रहार गरे । त्यति नै खेर सादा पोसाकका हतियारधारी प्रहरी पनि घटनास्थलमा आइपुगे । प्रहरीले पनि नीरकुमारलाई गोली प्रहार गरे । दुवै जना गोलीले ढलेपछि चन्द समूहका चार जना कार्यकर्ता त्यहाँबाट भागे । प्रहरीले उनीहरूको खोजी भइरहेको जनाएको छ ।
होटल बाहिर हटियामा आएका सर्वसाधारण भागाभाग गर्न थाले । ‘गोली चलेपछि तरकारी पसले र ग्राहकको भागाभाग भयो, कोही डरले रुनसमेत थाले’ एक प्रत्यक्षदर्शीले भने ।
घटनामा एक प्रहरी घाइते छन् । जिल्ला अस्पतालमा उनको उपचार भइरहेको छ । बुधबारे हाटबजार आसपास चन्द कार्यकर्ता आएको गोप्य सूचनाका आधारमा पक्राउ गर्न गएका प्रहरी जवान राईलाई चन्द कार्यकर्ताले गोली चलाएको प्रहरीको दाबी छ । घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब ५ सय मिटर दूरीमा छ ।
‘चन्द समूहका हतियारधारी कार्यकर्ता रहेको गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिने अभिप्रायले सादा पोसाकमा प्रहरी खटिएका थिए,’ प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले भने, ‘हाट नजिकै रहेको पान्धारे होटलमा एक शंकास्पद मानिस भेटिएपछि पक्राउको प्रयास गर्दा अचानक प्रहरी जवान सञ्जीवमाथि गोली प्रहार भयो ।’
नीरकुमारले सञ्जीवको कोखमा गोली प्रहार गरेपछि सँगै सादा पोसाकमा रहेका प्रहरीलेआफ्ना साथीलाई जोगाउन र नीरकुमारलाई पक्राउ गर्न खोज्दा तानातान भएर नीरकुमारलाई गोली लागेको खतिवडाको दाबी छ । मृतक प्रहरी जवान सञ्जीवको घर खोटाङ हो ।
चन्द समूहका एक नेताले भने प्रहरी जवान सञ्जीवको मृत्यु प्रहरीकै गोलीबाट भएको दाबी गरे । ‘प्रशान्त (नीरकुमार) ओखलढुंगा सेक्रेटरी हुन्, उनी पार्टीमा बिदा लिएर घर गएका थिए । उनले कुनै किसिमको हतियार बोकेका थिएनन्,’ ती नेताले दाबी गरे, ‘घम्साघम्सीका क्रममा प्रहरीले चलाएको गोली नै सञ्जीवलाई लागेको हो ।’ नीरकुमारको घर भोजपुर षडानन्द १४ बोया हो । चन्द समूहको गोलीले घाइते प्रहरी जवान खेमनाथ भट्टराईको कुमको हड्डी भाँचिएको प्रहरीले जनाएको छ ।
प्रकाशित : असार २६, २०७६ ०७:३८


















