0Shares

काठमाडौं – पछिल्लो समयमा युवाको मोह देख्दा लाग्छ–वैदेशिक रोजगारी भनेको सुखैसुखको संसार हो। पैसा कमाउने उपयुक्त माध्यम वैदेशिक रोजगारीभन्दा अरु छैन। तपाईले पनि यस्तै सोच्नु भएको छ भने त्यो गलत सावित हुन्छ। किनकि वैदेशिक रोजगारीबाट कमाउने मात्र नभई गुमाउने युवाको संख्या पनि बढ्दै गएको पाइएको छ।

वैदेशिक रोजगारीबाट कमाइ मात्र हुन्छ भन्ने ठानी म्यानपावर र दलाललाई एक लाख रुपैयाँभन्दा बढी रकम खुवाएर कतार गएका धनुषा, विधेयकका रोशन प्रमानी यतिखेर घर न घाटको भएका छन्। कतार जानुअघि उनले बोकेको सपना यतिखेर हावासरी उडेका छन्।

वैदेशिक रोजगारीबाट सुन्दर भविष्यको योजना बुनेका प्रमानीले कतारमा एक सुको त कमाउन सकेनन् नै उल्टै विदेश जाँदा लिएको ऋण कसरी चुक्ता गर्ने भन्ने चिन्ता थपिएको छ। कतारको अल करिम कम्पनीमा काम गर्न काठमाडौंको मदिना खलिफा म्यानपावरले पठाएका प्रमानी नौ महिनापछि रित्तो हात घर फर्किएका छन्।

उनका अनुसार नौ महिना अल करिम कम्पनीमा काम गर्दा तीन महिनाको मात्र पारिश्रमिक पाउन सके। ‘काम गरेको पारिश्रमिक दिने भन्दाभन्दै नौ महिना बित्यो,’ त्यसबीचमा फाटफुट रूपमा दिएको पारिश्रमिक जोड्दा तीन महिना बराबर पुगेछ।’

अनेक प्रयास गर्दा पनि कम्पनीले पारिश्रमिक नदिएपछि कतारमै रहेका एक आफन्तसँग सापटी लिएर टिकट खरिद गरी स्वदेश फर्केको उनले जानकारी दिए। मासिक एक हजार दुई सय कतारी रियाल पाउने सर्तमा उनी कतार गएका थिए। कतार जाँदा उनले म्यानपावर र दलालाई एक लाख ३० हजार रुपैयाँ बुझाएको बताए।

सोही कम्पनीका काम गर्न गएका कपिलवस्तु, जमनी–४ का हविव जोलाहाको हालत पनि प्रमानीको जस्तै छ। खलिफा म्यानपावरलाई नै एक लाख ३० हजार रुपैयाँ बुझाएर कतार गएका जोताहा पनि काम गरेको ६ महिनाको पारिश्रमिक नपाएपछि घर फर्केका छन्।

जोलाहाका अनुसार कतारमा काम गरेको पारिश्रमिक नपाएपछि कतारस्थित नेपाली राजदूतावास र श्रम अदालतमा मुद्दा दायर गर्दासमेत कुनै सुनुवाइ हुन सकेन। जोलाहा र प्रमानीसहित सोही कम्पनीमा काम गर्ने चार युवाले काम गरेको ६ महिनासम्म पारिश्रमिक पाउन नसकेपछि दूतावास र श्रम अदालत गुहारेका थिए। ती चारमध्ये दुईजना स्वदेश फर्किसकेको र बाँकी फर्कने क्रममा रहेको उनले बताए।

‘काम गरेको पारिश्रमिक साहुले नदिने भएपछि त्यहाँ बसिरहनुको कुनै अर्थ भएन,’ प्रमानीले भने, ‘नौ महिना काम गर्दा पाएको तीन महिनाको पारिश्रमिक पनि खानपीन तथा दूतावास र श्रम अदालत चाहार्दैमा सकियो।’ उनले अन्य युवा पनि फर्कने तयारीमा रहेको जानकारी दिए। वैदेशिक रोजगारीबाट एक सुको कमाउन नसकेपछि छोराछोरीलाई मिठाइसमेत ल्याउन उनले नसकेको गुनासो गरे।

‘कतारमा पारिश्रमिक नपाउने समस्या धेरै’
यसैबीच वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका कामदारलाई सेल्टर प्रदान गर्दै आइरहेको प्रवासी नेपाली समन्वय समितिले सन् २०१८ मा आफ्नो सेल्टरमा बस्न आएका पीडितलाई आधार मानेर गरेको अध्ययनमा सबभन्दा बढी कतारमा पारिश्रमिक नपाउने समस्या देखिएको जनाएको छ।

समितिले सन् २०१८ मा सेल्टरमा बसेकामध्ये एक सय पीडितलाई आधार मानी गरेको अध्ययनमा सबभन्दा बढी कतार पुगेकाले सम्झौताअनुसार पारिश्रमिक नपाएको जनाएको हो।

कतारमा सम्झौताअनुसार पारिश्रमिक नपाउनेको संख्या धेरै भए पनि लागत खर्च पनि सबभन्दा बढी नै लाग्ने गरेको पाइएको छ। समितिले कतार जान श्रमिकले एक लाख ६५ हजार रुपैयाँसम्म खर्च गर्नुपरेको तथ्य सार्वजनिक गरेको छ। कतारपछि सम्झौता अनुसार पारिश्रमिक नपाउने मुलुकमा क्रमशः साउदी अरेबिया र मलेसिया छन्। समितिका अध्यक्ष कुलप्रसाद कार्कीले कतारको समस्या बढी देखिनुमा आफूहरूको संयन्त्र कतारमा रहेको र बढी सूचना प्राप्त हुनुलाई मुख्य कारणको रूपमा लिएका छन्।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement