0Shares

नेपालगन्ज– नेपालगन्जस्थित रानी तलाउ तरकारी मण्डीमा स्थापना गरिएको ‘विषादी अवशेष दु्रत विश्लेषण इकाई’ अहिले बन्द अवस्थामा छ। भारतबाट आउने तरकारी र फलफुलको अनिवार्य विषादी परिक्षण गर्नुपर्ने सरकारले नीति लिएपछि कुनै बेला उक्त इकाईमा बिहानदेखि राती अबेरसम्म चहल पहल हुन्थ्यो। सरकारले विषादी परिक्षण नगर्ने निर्णय गरेपछि बन्द हुन पुगेको हो। कृषि ज्ञान केन्द्र नेपालगन्जमा कार्यरत बाली संरक्षण अधिकृत सकिल अहमदले तालिम लिएर विषादी परीक्षणको जिम्मेवारी सम्हाल्दै आएका थिए।

इकाई बन्द भएसँगै उक्त कार्यालयमा राखिएको विषादी परीक्षण गर्ने ‘इस्पेक्टोफोटो मिटर’ मेसिन पनि अहिले प्रयोगविहीन भएको छ। सरकारले तरकारी र फलफुलको विषादी परीक्षणको काम स्थगित गरेपछि आफू फुर्सदिलो भएको सकिलले बताए। ‘फलफुल र तरकारीको विषादी अनिवार्य परिक्षण गराउने निर्णय भएपछि कामको धेरै चाप थियो, अहिले परिक्षणको काम नभएपछि कार्यालयमा बसिँदैन’, उनले नागरिकसँग भने। सकिलले विषादी परीक्षण सम्बन्धी तालिम पटक–पटक लिइसकेका छन्। आफूले लिएको सीप प्रयोग गर्न नपाउँदै बन्द भएको सकिल बताउँछन्।

इकाईले असार ९ गतेदेखि १९ गतेसम्म ठूलो परिमाणको तरकारी र फलफुलको विषादी परीक्षण गरेको थियो। सबैभन्दा बढी आलु २ हजार ८ सय २४ दशमलभ ४४ मेट्रीक टन, प्याज ५ सय २७ दशमलभ ८२, आँप ६ सय ७५ दशमलभ ८४, केरा ४ सय ८३ दशमलभ ३, अन्य फलफुल (अनार, भुइँकटहर, स्याउ, मौसमी) ८६ दशमलभ ५८, तरबुजा २६ दशमलभ ५ र हरियो तरकारी (गोलभेडा, भिन्डी, करेला, लौका) ५४ दशमलभ ५७ मेट्रिक टनको विषादी परीक्षण गरिएको प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय नेपालगन्जले जनाएको छ।

इकाईमा विषादी परीक्षण गर्ने मेसिन उपलब्ध भए पनि पर्याप्त जनशक्ति नहुँदा छिटो, छरितो सेवा दिन समस्या भएको कर्मचारी स्मरण गर्छन््। विषादी परीक्षणको काम सम्वेदनशील भएपनि सरकारले यसलाई खासै महत्व नदिएको कर्मचारीको गुनासो छ। ‘सरकारले इच्छा शक्ति मात्रै देखाउनु पर्यो, भारतबाट आउने तरकारी र फलफुलको विषादी परीक्षण गर्न समस्या छैन’, एक कर्मचारीले नाम नछाप्ने शर्तमा भने, ‘सरकार र मन्त्रीले दोष जति कर्मचारीमाथि थोपारेर आफू उम्किन खोज्नु हुँदैन।’ सरकारले अहिलेसम्म स्थापना गरेका विषादी अवशेष दु्रत विश्लेषण इकाईमा जनशक्ति ब्यवस्थापनसँगै भन्सार, विषादी अवशेष दु्रत विश्लेषण इकाई र क्वारेन्टिन कार्यालय एकै स्थानमा राख्न सकेमा विषादी परीक्षणमा बिलम्व नहुने कर्मचारीको सुझाव छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement