0Shares

चितवन — चितवन उद्योग वाणिज्य संघमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएका चिरञ्जीवी सुवेदीले आगामी पुस २१ गते हुने संघको अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार रहने घोषणा गरेका छन्। विभिन्न जिम्मेवारी निर्वाह गर्दै संस्थागत विकास, सुशासन तथा व्यवसायीमैत्री पहलमार्फत योगदान पुर्‍याउँदै आएका सुवेदीले अब संघलाई थप गतिशील र परिणाममुखी बनाउन नेतृत्वमा आउने संकेत गरेका हुन्।

सुवेदीले वि.सं. २०६० देखि २०८२ सम्म संघको विभिन्न तहमा जिम्मेवारी सम्हालेका छन्। उनले कार्यसमिति सदस्यदेखि तृतीय, द्वितीय, प्रथम उपाध्यक्ष हुँदै हाल वरिष्ठ उपाध्यक्षका रूपमा कार्यरत रहँदै आएका छन्।

तृतीय उपाध्यक्षको कार्यकालमा उनले माडी र ईच्छाकामना क्षेत्रलाई क्षेत्रीय संघको रूपमा स्थापना गराएर दुर्गम क्षेत्रका व्यवसायीलाई संघको मूलधारमा ल्याउन सफल भएको उल्लेख गरेका छन्।

प्रथम उपाध्यक्ष हुँदा उन्होंने लेखा तथा वित्तीय योजना समितिको संयोजकका रूपमा मासिक आम्दानी–खर्च अनिवार्य कार्यसमिति अनुमोदनबाट पारदर्शिता र वित्तीय सुशासनको अभ्यास संस्थागत गरेका थिए।

पर्यटन प्रवर्द्धनका लागि उनले होटेल व्यवसायी संघ तथा होटल–रेष्टुरेन्ट व्यवसायी संघबीच समन्वय गरी चितवनको पर्यटन सम्भावना सुदृढ बनाउन भूमिका खेलेका छन्। हाल वरिष्ठ उपाध्यक्षका रूपमा उनले कर तथा राजश्व सम्बन्धी झन्झटमा परेका व्यवसायीलाई सहजीकरण गराउने, विभिन्न व्यावसायिक संस्थाबाट छुट सुविधा दिलाउने तथा वस्तुगत संघ गठनमा सक्रिय रहेको बताएका छन्। चितवनको सुनचाँदी व्यवसायी आन्दोलनमा पनि उनले संघको तर्फबाट दृढ साथ दिएको उल्लेख गरेका छन्।

चितवन महोत्सवमा पनि सुवेदीले हरेक वर्ष प्रदर्शक व्यवस्थापन, मेला स्थल निर्माण, स्वागत–सत्कार, टिकट व्यवस्थापनलगायतका समितिमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। संघ बाहिर उनले नेपाल रेडक्रस सोसाइटी, नेपाल अर्बुध रोग निवारण संस्था, लायन्स क्लब अफ चितवन, क्यान्सर सेवा समिति, नेपाल नेत्रज्योति संघ लगायतका सामाजिक तथा सामुदायिक संस्थामा सक्रिय रहेर सामाजिक सेवामा योगदान दिइरहेको जनाएका छन्।

आगामी नेतृत्वबारे बोल्दै सुवेदीले भने, “चितवन उद्योग वाणिज्य संघको अबको नेतृत्व अनुभवी, ऊर्जाशील र सम्पूर्ण व्यवसायीको भरोसाको केन्द्र बन्नुपर्छ। मेरो नेतृत्वमा संघ व्यवसायीको आवाजलाई नीतिगत तहमा सशक्त रूपमा उठाउनेछ।”

उनले संघको संस्थागत सुदृढीकरण, व्यवसायी समस्याको समाधान तथा चितवनको आर्थिक उत्थानमा केन्द्रित नयाँ ऊर्जा र परिणाममुखी नेतृत्व दिने प्रतिबद्धता जनाउँदै उद्योगी–व्यवसायीहरूसँग समर्थन, सुझाव र अमूल्य मतको अपील गरेका छन्।–00—

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement