0Shares

चितौन कचहरी र डबली बुक क्याफेको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा बोल्ने बक्ताहरुले उपन्यासले चितवननको इतिहास उधिन्न सफल भएको धारणा राख्नुभयो । इतिहासविद् प्रा. डा. ईश्वरीराज लौडारीले प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङको जीवनीलाई आधार बनाएर चितवनको तत्कालीन आर्थिक, सामाजिक, सांस्कृतिक र ऐतिहासिक विषयवस्तुलाई उपन्यासमा सशक्त रुपमा उठान गरिएको बताउनुभयो ।

“बखानभित्र धेरै कुरा छ । चितवनको बस्ती विकासदेखि सामाजिक अवस्था चित्रण भएको छ यो युगयुग सम्म जीवन्त रहनेछ”, उहाँले भन्नुभयो । २०४६ साल अघिसम्म जनताको इतिहास लेख्ने चलन नभएका कारण ऐतिहासिक पात्रहरुको समेत इतिहास बन्न नसकेका बेला बखानले लुकेर बसेका बखानसिंह गुरुङको जीवनीलाई उपन्यासकै माध्यमबाट भए पनि उजागर गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै बखानसिंह गुरुङका नाति एवम् सहिद लालध्वज गुरुङका छोरा चन्द्रध्वज गुरुङले बखान उपन्यास भएकाले अटोग्राफका रुपमा चित्रण गर्न नहुने तर्क गर्नुभयो । “बखान उपन्यासले मेरा हजुरबा (बखानसिह) र मेरा परिवारका कथा नजिकबाट छोएको छ । अटोग्राफमा जस्तै सबै जीवनी उपन्यासमा आओस् भन्ने अपेक्षा पनि राख्नुहुँदैन”, उहाँले थप्नुभयो, “बखान उपन्यास सार्वजनिक भएसँगै बखानसिंह गुरुङका बारेमा राष्ट्रिय रुपमा बहस हुनु उपन्यासको बलियोे पक्ष हो”, उहाँले भन्नुभयो ।

देश र जनताका लागि आफ्ना अग्रजहरुले बलिदानी दिए पनि आफूहरु अहिलेसम्म अन्यायमा परेको उहाँले गुनासो गर्नुभयो । “मेरा बा (लालध्वज) २०१८ सालको आन्दोलनमा र काका (धर्मध्वज)ले २००७ सालको क्रान्तिमा शहादत प्राप्त गर्नुभयो । हजुरबाले जीवनभर निर्वासनसहित घर आगजनी र सर्वस्व हरणमा पर्नुपर्या । हाम्रो परिवारले अहिलेसम्म न्याय पाउन सकेको छैन”, उहाँको गुनासो छ ।

 

कार्यक्रममा थारु महिला सभा चितवनकी पूर्व अध्यक्ष धन्जु महत्तोले चितवनको बस्ती विकासका क्रममा आदिवासी थारुहरुले पहाडबाट बसाइँ सरेर आउने अन्य जातिहरुलाई सहृदय स्वीकार गरेर सहयोग गरेको बताउनुभयो । “नयाँ बस्ती विकासका चरणमा यहाँ थारुहरु मात्रै थिए । बस्ती सरेर आउनेहरुलाई त्यो बेलासँगै राखेर अन्नको समेत व्यवस्था मिलाइदिएको प्रसङ्ग उपन्यासमा छ । जुन हाम्रा बा बाजेहरुले गर्नुभएको कथा अहिले पनि समाजमा सुन्न पाइन्छ”, उहाँले भन्नुभयो ।

 

लेखक जीवन क्षेत्रीले २०१८ सालको आन्दोलनमा चितवनमा शहादत प्राप्त गरेका सहिदहरुको खोजी थप अनुसन्धान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रमको सहजकर्ता पत्रकार सरिता पौडेल हुनुहुन्थ्यो भने कार्यक्रममा बोल्दै लेखक वसन्त पराजुलीले अनुसन्धानमूलक उपन्यास लेखनका सीमा हुने हुँदा कतिपय पाठकले सोचे अनुसार कृतिमा विषयहरु समेट्न नसकिने स्वीकार गर्नुभयो

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement