७० औं प्रहरी दिवसको अवसरमा चितवन प्रहरी प्रमुख गोविन्द पुरी “उत्कृष्ट प्रहरी कार्य पुरस्कार” बाट पुरस्कृत
भरतपुर । ७० औं प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयले विधागत उत्कृष्ट प्रहरीलाई सम्मान गरेको छ । आज हेटौंडास्थित प्रदेश प्रहरी कार्यालय परिसरमा आयोजित कार्यक्रममा चितवन प्रहरी प्रमुख, प्रहरी उपरिक्षक गोवीन्द पुरीलाई पुरस्कृत गरिएको छ । पुरीलाई “उत्कृष्ट प्रहरी कार्य पुरस्कार” विधाबाट पुरस्कृत गरिएको हो ।
नेपाल प्रहरीको पेशागत मर्यादालाई आत्मसाथ गर्दै, सुरक्षित समाज निर्माणको पवित्र लक्ष्य प्राप्तिमा कुशल व्यवसायीक क्षमता प्रर्दशन गरी उत्कृष्ट रुपमा कार्यालय सञ्चालन तथा व्यवस्थापन गर्न सफल भएको भन्दै उहाँलाई पुरस्कृत गरिएको हो । उहाँले प्राप्त गर्नुभएको सम्मान पत्रमा जिल्लाको समग्र शान्ति सुरक्षा, अपराध, अनुसन्धानका साथै विपद् जोखिम न्यूनिकरण एवंम व्यवस्थापनमा महत्वपूर्ण योगदान गरीएका कारण उत्कष्ट प्रहरीको रुपमा पुरस्कृत गरिएको उल्लेख छ ।
साथै सोही अवसरमा ईलाका प्रहरी कार्यालय मुग्लिन प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक प्रतिक सिंहलाई पनि सम्मान गरिएको छ । शान्ति सुरक्षा, अपराध अनुसन्धानका साथै कुशल व्यवसायिक क्षमता प्रदर्शन गरी विपद जोखिम न्यूनिकरण एवं व्यवस्थापनमा योगदान पुर्याएको भन्दै उहाँलाई सम्मान गरिएको हो । उहाँले नारायणगढ मुग्लिन सडक खण्डमा आएको पहिरोमा परेका यात्रुहरुको उद्धार र सेवामा खटिएर यात्रुहरुलाई गन्तव्यमा सकुसल पुग्नको लागि सहयोग गदै आउनु भएको छ ।

कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण पौडेलले सम्मानति गर्नुभएको हो ।
जिल्लामा पुरीको आवागमन संगै भएका कामहरु
प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले जिल्ला प्रहरी कार्यालय, चितवनको नेतृत्व सम्हाल्ने वित्तिकै चितवनमा प्रहरी सेवाले नयाँ जीवन पाएको अनुभूति हुन्छ । बीस वर्ष लामो अनुशासित सेवाको अनुभव बोक्नु भएका एसपी पुरीले प्रहरी निरीक्षकबाट सेवा यात्रा सुरु गर्नुभएको थियो । प्रहरी निरीक्षक हुदाँ चितवनमै खटिनुका साथै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्रमुखका रूपमा १३ महिनासम्म काम गर्दै नक्सालस्थित आर्थिक प्रशासन निर्देशनालयमा एसपीको हैसियतमा रहेर कानुनी नियमनमा योगदान पुर्याउनु भएको थियो ।
चितवन आइपुग्नासाथै उहाँले एकैचोटि प्रशासनिक चुस्तता, जनउत्तरदायित्व, अनुशासन, पारदर्शिता र सेवामूलक कार्यहरूलाई रणनीतिक योजनाका रूपमा अघि सार्नुभयो । “अब कुनै पनि अन्यायलाई बिर्सन पाइँदैन, जसले गल्ती गर्छ उसलाई सजाय, जसले पीडा भोग्छ उसलाई न्याय” भन्ने नीतिलाई व्यवहारमै उतार्दै चितवन प्रहरीलाई नयाँ पहिचान दिलाउने ढंगमा कार्य गर्नुभएको छ ।
उहाँको कमाण्डमा सुरू गरिएको “एक दिन एक युनिट एक कार्यक्रम” अभियानले प्रहरीलाई वर्दीभित्रको डर होइन, समाजभित्रको मित्रको रूपमा चिनाएको छ । स्कुल–कलेजमा लागूऔषधविरुद्ध सचेतना फैलाउने कार्यक्रमदेखि लिएर घरेलु हिंसा नियन्त्रणमा महिला र समुदायसँगको संवाद, ट्राफिक जागरुकता, सरसफाइ गतिविधि, योग अभ्यास, रक्तदान, वृक्षारोपण, धार्मिक भ्रमण, जंगल सफारी, मर्निङ वाक, बोटिङजस्ता मनोबलवद्र्धक तथा समुदायमैत्री कार्यक्रमहरू गदै आउनु भएको छ ।

मापसे चेकजाँचलाई नियमित र कडाइका साथ कार्यान्वयन गरिएको छ । रात्रिकालीन गस्तीमा थप प्रभावकारिता ल्याइएको छ । जसले गर्दा सडक सुरक्षा र शान्तिमा सकारात्मक सुधार आएको छ। यस्तै, फरार प्रतिवादी पक्राउ परेका छन् । तीमध्ये केहिलाई अदालतमा पेश गरी कानुनी दायराभित्र ल्याउँदै कैद सजाय र जरिवाना सुनाइएको छ । यसले प्रहरीको निष्पक्षता, तत्परता र न्यायप्रतिको प्रतिबद्धता झल्काउँछ।
महिला तथा बालमैत्री डेस्कलाई बलियो बनाउँदै घरेलु हिंसा, यौनजन्य हिंसा र बालशोषणसम्बन्धी मुद्दाहरूमा प्रहरीले तत्काल र प्रभावकारी रूपमा हस्तक्षेप गर्दै आएको छ। औषधि व्यवसायीहरूसँग भएको शान्ति सुरक्षा सम्बन्धी छलफल कार्यक्रम, सुधार केन्द्र सञ्चालकहरूसँग अन्तरक्रिया, पत्रकार सम्मेलनद्वारा जनतालाई तथ्यमा आधारित जानकारी दिने प्रयास, मुद्दा भएका ठाउँहरूको स्थलगत निरीक्षण, भीआईपी सुरक्षामा खटिने प्रहरीलाई लक्षित निर्देशन र तालिम — यी सबै कदमहरूले जिल्लाको शान्ति सुरक्षाको अनुभुति गराएको छ ।

प्रहरी कार्यालयभित्र फुलबारीको सौन्दर्य, सरसफाइ अभियान, अनुशासित विभागीय संरचना, छरितो मुद्दा व्यवस्थापन, जुनियर प्रहरीहरूलाई जिम्मेवारी, इन्स्पेक्टरको नेतृत्वमा कार्य समन्वय — यी सबैले प्रहरीभित्रको ऊर्जा, उत्साह र कर्तव्यबोधलाई बलियो बनाएको छ।

मातहत प्रहरीहरूको आत्मबल उच्च राख्नका लागि मासिक उत्कृष्ट प्रहरी सम्मान, भव्य विदाई समारोह, योग ध्यान शिविर, घुमघाम, धार्मिक स्थल भ्रमण, बोटिङ, याफ्टिङजस्ता कार्यक्रमहरू निरन्तर चलिरहेका छन् । अब प्रहरी कार्यालय पीडितको लागी खुल्ला ढोका हो — जहाँ पीडा लिएर आउने नागरिकलाई न्यायको किरण देखिन्छ। चोरी भएका मोबाइलहरू फेला पारेर पीडितलाई फिर्ता दिने, रातिको समयमा हुने चोरी नियन्त्रणमा ल्याउने, सक्रिय गस्ती, सूचना संकलन र निगरानीबाट चोरीका घटना हुन नदिनका लागि स्थानियलाई नै गस्तीमा खटाउने काम जस्ता महत्वपूर्ण कार्य गदै आउनु भएको छ ।


















