0Shares

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ।

केन्द्रीय कार्यालय सानेपामा बिहीबार सुरू भएको बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरूले धारणा राखेका थिए।

बैठकमा नेता पदाधिकारी र पूर्वपदाधिकारीबाहेक नेता शेखर कोइराला, प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मालगायत पनि सहभागी भए।

भदौ २४ गते जेन-जी पुस्ताको आन्दोलनका क्रममा कांग्रेस कार्यालयमा पनि तोडफोड र आगजनी भएको थियो।

आगजनी भएको कार्यालयको एक कोठामा कांग्रेस बैठक बसेको हो।

बैठकमा सभापति शेरबहादुर देउवा अनुपस्थित रहे। सभापति देउवा असोज २६ देखि सुरू हुने केन्द्रीय समिति बैठकमा भने सहभागी हुने नेताहरूले बताएका छन्।

जेनजी पुस्ताको आन्दोलनपछि कांग्रेस पनि सत्ताबाट बाहिरिएको थियो। सभापति देउवामाथि बूढानीलकण्ठस्थित घरमै आक्रमण भएको थियो। सभापति र तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका थिए भने स्वास्थ्यलाभ गरिरहेका छन्।

२६ असोजदेखि कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ। आगजनी भएको केन्द्रीय कार्यालयको भुइँतलाको कोठामा केन्द्रीय समिति बैठक राख्न अहिले मर्मतको काम धमाधम चलिरहेको छ।

केन्द्रीय समिति बैठकमा सभापति देउवा उपस्थित रहने प्रवक्ता प्रकाशशरण महतले बताए।

उक्त केन्द्रीय समितिका एजेन्डा तय गर्न पदाधिकारी र पूर्वपदाधिकारीबीच परामर्श बैठक भएको हो। उक्त बैठक आज पनि बस्दैछ।

सभापति शेरबहादुर देउवाको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काले बैठक अध्यक्षता गर्दै आएका छन्। उपसभापति खड्कालाई नै अब कार्यवाहक सभापति दिने संकेत सभापति देउवाको छ। तर संस्थापन पक्षका कतिपय नेताहरू भने अहिले सभापति देउवाले कसैलाई कार्यवाहक नदिने दाबी गर्दै आएका छन्।

बिहीबार दिउँसो पदाधिकारी बैठक सुरू गर्दै उपसभापति खड्काले सभापति देउवाले पठाएको सन्देश सुनाएका थिए। सभापति देउवाले देश असजिलो परिस्थितिमा रहेकोले पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने सन्देश पठाएका थिए।

सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरी फागुन २१ मा चुनाव घोषणा गरेको छ।

कांग्रेसले प्रतिनिधि सभा विघटनको विरोध गरेको छ र सरकारको उक्त कदम संविधानविपरीत भनेको छ।

कांग्रेसका कतिपय नेताहरू प्रतिनिधि सभा पुनर्स्थापनाको सम्भावना देख्छन् भने कतिपय नेताहरू चुनावमा भाग लिनुपर्ने भएकोले त्यसअनुसार तयारी सुरू गर्नुपर्नेमा छन्।

बिहीबारको पदाधिकारी बैठकमा महामन्त्री गगन थापाले यो कार्यसमितिको नियमित कार्यकाल मंसिरमा सकिने भएकोले अब नियमित महाधिवेशन गर्नुपर्ने बताए।

सभापति देउवा नेतृत्वको यो केन्द्रीय समितिको म्याद थप गर्न नहुने उनको भनाइ छ।

‘२६ असोजमा बस्ने केन्द्रीय समिति बैठकमा म यो केन्द्रीय समितिको म्याद थप गर्ने प्रस्ताव ल्याउँदिनँ,’ महामन्त्री थापाले भने, ‘सभापतिको मात्र होइन, म आफै महामन्त्री छु, मेरै म्याद पनि नथप्ने पक्षमा म छु। मंसिरमा यो कार्यसमितिको कार्यकाल सकिन्छ, अब नियमित महाधिवेशन गरौं। नियमित महाधिवेशन नगर्ने हो भने विशेष महाधिवेशन हुन्छ।’

विशेष महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूले जिल्ला-जिल्लामा हस्ताक्षर संकलन गरेर तयारी अवस्थामा राखेको हस्ताक्षर अभियानमा सक्रिय रहेका नेताहरूले बताएका छन्। ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशनका पक्षमा उभिएको उनीहरूको दाबी छ। १४ औं महाधिवेशनमा ४७४३ जना महाधिवेशन प्रतिनिधि थिए।

विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरेपछि सभापति देउवा पक्ष भने झस्किएको छ। त्यसैले संस्थापननिकट नेताहरू विशेष महाधिवेशन माग गर्न गरिएको हस्ताक्षर अभियानको आलोचनामा छन् र यसले पार्टीमा विभाजन ल्याउँछ भनिरहेका छन्। तर महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन माग गर्न हस्ताक्षर गर्न पाउने विषय विधानअनुसार भएको बताएका छन्।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशनका नाममा हस्ताक्षर अभियान सञ्चालन हुँदा त्यसले पार्टीलाई विभाजनतिर लैजाने चिन्ता व्यक्त गरेका छन्।

‘घरमा त आगो लाग्यो अब पार्टी संगठनमा पनि आगो लाग्छ, कसैले पनि संगठनमा आगो नलगाऊँ भन्ने आसयमा मलाई पनि फोन आएका छन्,’ सभापति देउवा र आफूनिकट केही केन्द्रीय सदस्यहरूसँग बिहीबार निवासमा कुराकानी गर्दै सिटौलाले भनेका थिए, ‘दुई जना महामन्त्रीजीहरूले हस्ताक्षर अभियान चलाइरहेका छन्। यो अभियानले पार्टीलाई फुट्ने स्थितिसम्म पुर्‍याइदिन सक्छ। हस्ताक्षर अभियान चलाएपछि हस्ताक्षर गर्ने र नगर्ने दुई ठाउँमा बाँडिन्छन्।’

उनले पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने बताइरहेका छन्। र पार्टीभित्र एकता राख्न मुख्यगरी सभापति, उपसभापतिहरू र महामन्त्रीहरू चुकेको उनको भनाइ छ।

महामन्त्री विश्वप्रकाश शर्माले पनि नियमित महाधिवेशन हुनुपर्नेमा जोड दिए।

अर्का महामन्त्री गगन थापाजस्तै शर्मा पनि मंसिरभित्रै नियमित महाधिवेशनका पक्षमा उभिएका हुन्।

‘यदि मंसिरभित्रै नियमित महाधिवेशन नगर्ने हो भने विशेष महाधिवेशनमा जानुपर्ने हुन्छ,’ बिहीबारको पदाधिकारी बैठकमा महामन्त्री शर्माले भने।

महामन्त्रीद्वय थापा र शर्माले यसअघिको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पनि नियमित वा विशेष महाधिवेशनमा जोड दिएका थिए। सोही कुरालाई पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा पनि उनीहरूले उठाएका छन् भने केन्द्रीय कार्यसमिति बैठकमा पनि यही विषय राख्नेमा छन्।

‘मंसिरभित्र नियमित महाधिवेशन गर्न सकिन्छ, गर्नुपर्छ। सकिन्न भन्ने निष्कर्षमा केन्द्रीय समिति पुगे, विशेष महाधिवेशन विकल्प हो। नियमित महाधिवेशन मंसिर मसान्तभित्रै गर्न सकिन्छ। यसले सभापतिज्यूको बहिर्गमनलाई पनि सहज बनाउनेछ,’ महामन्त्री शर्माले भने।

महामन्त्री शर्माले महाधिवेशन तयारीका लागि रातदिन खट्न सक्ने नेतृत्व चाहिने उल्लेख गर्दै कार्यवाहकले त्यो गर्ने अथवा अरू कोही सिनियर नेताले संयोजन गर्ने भन्ने टुंगो गर्नु उचित हुने बताए।

‘नियमित महाधिवेशन गर्दा विधानमा संशोधन गरेर सबै तहमा व्यापक युवा सहभागिता बढाउन सकिन्छ। छोटो समयमा नियमित महाधिवेशन गर्न सकिन्न भन्ने हो भने, विशेष अधिवेशन गर्नुपर्ने हुन्छ। ४० प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेको अवस्थामा हस्ताक्षर अभियानका साथीहरूले बताउनु भएको छ,’ शर्माले भने।

साथै उनले फागुन २१ मै चुनाव गर्न सरकारलाई साथ र दबाब दुवै दिनुपर्ने बताए।

पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले मंसिरमै नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन्।

साथै उनले विशेष महाधिवेशन माग गर्न गरिएको हस्ताक्षर विधानसम्मत भएको र यसले पार्टीमा मतभेद नल्याउने बताएका थिए। ‘विधानमै ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाएर विशेष महाधिवेशन माग गर्न पाउने भनेको छ, यसले कसरी पार्टीमा विभाजन ल्याउँछ?,’ उनको प्रश्न छ।

साथै सहमहामन्त्री महेन्द्र यादव र उमाकान्त चौधरीले मंसिरमा नियमित महाधिवेशन गर्न तयारी नपुग्ने हो कि भन्ने कुरा राखेका छन्।

क्रियाशील सदस्यता नवीकरणका काम नसकिएको र नवीकरण म्याद असोज मसान्तसम्म कायम रहेको तथा नयाँ क्रियाशील सदस्यता नै नबाँडेको स्थितिमा कसरी मंसिरमै नियमित महाधिवेशन गर्ने भनेर उनीहरूले प्रश्न उठाएका थिए।

महामन्त्री गगन थापाको नेतृत्वमा क्रियाशील सदस्यता व्यवस्थापन समिति छ। उक्त समितिले काम गरिरहेको छ। महामन्त्री थापा भने क्रियाशील नवीकरण र नयाँ वितरणको कार्य गरेर पनि मंसिरभित्रै नियमित महाधिवेशन गर्न सकिन्छ भन्ने पक्षमा छन् र उनले सोहीअनुसार १५ औं महाधिवेशन कार्यतालिका २६ असोजको केन्द्रीय समितिमा प्रस्ताव लैजाने तयारी गरेका छन्।

पूर्वउपसभापति विमलेन्द्र निधिले भने अहिले महाधिवेशन नगर्न सुझाव दिए।

सरकारले प्रतिनिधि सभा निर्वाचन घोषणा गरेकोले उक्त चुनावमा पार्टीकेन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

‘नियमित वा विशेष महाधिवेशनतिर अहिले नलागौं, सरकारले चुनाव घोषणा गरेको छ, एकताबद्ध भएर त्यसमा ध्यानकेन्द्रित गरौं,’ निधिले बैठकमा भने।

पूर्वउपसभापति निधिले तत्काल कार्यवाहक सभापति तोकेर अघि बढ्न सके राम्रो हुने पनि बताएका थिए।

पदाधिकारी वा पूर्वपदाधिकारी नभए पनि बैठकमा नेता शेखर कोइराला सहभागी छन्। सभापति देउवाले यसअघिदेखि नै पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा कोइरालालाई पनि बोलाउने गरेका थिए।

कोइराला पनि मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।

विशेष महाधिवेशन माग गर्न जिल्ला-जिल्लामा भइरहेको हस्ताक्षर अभियानमा नेता कोइराला पक्षका महाधिवेशन प्रतिनिधि दुई कित्तामा उभिए।

कसैले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका छन् त कसैले नेता कोइरालाले विशेष महाधिवेशनबारे मुख नखोलेको र फोनसमेत नगरेकोभन्दै मौन बसेका छन्।

प्रवक्ता प्रकाशशरण महतले भने अहिले कार्यवाहक सभापति तोकेर जाने विषयमा कुरा नभएको दाबी गरेका छन्।

पार्टीमा मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्छ र तयारी अपुग हुने भएकोले सकिन्न कि भन्ने धारणा नेताहरूबाट आइरहेको महतले बताए।

विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरू भने केन्द्रीय समिति बैठकअघि नै हस्ताक्षर बुझाउने पक्षमा छन्।

विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान चलाएपछि संस्थापन पक्ष अहिलेको केन्द्रीय कार्यसमितिको म्याद थप्नबाट हच्चेको उनीहरूको भनाइ छ।

विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षरले पार्टीलाई नियमित १५ औं महाधिवेशनसम्म पुर्‍याउने विश्वास उनीहरूको छ। यदि केन्द्रीय कार्यसमिति नियमित महाधिवेशन मंसिरभित्रै गर्ने गरी तयार नदेखिए विधानअनुसार तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्नेमा हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरू छन्।

तर संस्थापन पक्षले भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफ्ना पक्षमा जिल्लामा कति महाधिवेशन प्रतिनिधि उभिन्छन् भन्ने थाहा पाउन विशेष महाधिवेशनका नाममा महाधिवेशन प्रतिनिधिहरूका हस्ताक्षर संकलन गरेको दाबी गरेको छ।

पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आज दिउँसो पनि बस्दैछ। बिहीबार धारणा नराखेका नेताहरूले आज बोल्नेछन् भने २६ असोजदेखिको केन्द्रीय कार्यसमितिको सम्भावित एजेन्डा तय हुनेछ। पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरू नियमित महाधिवेशन गर्न एकमत देखिन्छन् तर कहिले भन्नेमा भने मतभेद देखिन्छ।

महामन्त्री गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइराला मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा छन् भने सभापति देउवा पक्षका नेताहरू भने कार्यवाहक सभापति तोकेर चुनावमा भाग लिएर वैशाखमा महाधिवेशन गर्नुपर्नेमा छन्।

जेनजी पुस्ताको आन्दोलनको भावनाअनुसार तत्काल नीति र नेतृत्व परिवर्तन गर्ने गरी अघि बढ्नुपर्नेमा संस्थापनइतर पक्ष छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement