0Shares

रेशम सापकोटा , चितवन पत्र भरतपुर, चितवन — भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित धार्मिक, ऐतिहासिक तथा पुरातात्विक दृष्टिले महत्वपूर्ण गणेशधाम परिसरमा सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर गण, भरतपुर–२, आपटारी चितवनका प्रहरी टोलीले एकदिने सरसफाइ तथा गोडमेल कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका छन ।

गणेशधाम संरक्षण तथा सम्बर्द्धन समितिको संयोजनमा आयोजना गरिएको उक्त कार्यक्रममा करिब ३५ जना प्रहरी सदस्यहरू, समिति पदाधिकारीहरू, धाम कर्मचारी र स्थानीयबासीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य उद्देश्य धार्मिक स्थलको सरसफाइ, वातावरणीय सौन्दर्य अभिवृद्धि र हरियाली प्रवर्द्धन गर्नु थियो। कार्यक्रम अन्तर्गत परिसर वरपर रहेका विरुवाहरूको गोडमेल, झाडी सफा गर्ने, कचरा व्यवस्थापन र धाम परिसर सरसफाइ गर्ने लगायतका कार्यहरू गरिएका थिए।

सहभागी सबैले आफ्नो जिम्मेवारी बोध गर्दै मनोयोगसाथ श्रमदान गरेका थिए। गणेशधाम संरक्षण समितिका अध्यक्ष दिनेश कुमार चुकेले कार्यक्रमबारे भने, “धार्मिक स्थलहरूको संरक्षण हाम्रो साझा जिम्मेवारी हो।

आज सशस्त्र प्रहरी बलको टोलीले देखाएको सहयोग र सेवा भावले हामी सबैलाई उत्साहित गरेको छ। यस्ता क्रियाकलापहरूले सुरक्षाकर्मी र समुदायबीचको सम्बन्ध अझ प्रगाढ बनाउँछन्।” उनले थपे, “गणेशधामलाई व्यवस्थित, हरियालीपूर्ण र पर्यटकमैत्री स्थल बनाउन हामी निरन्तर प्रयासरत छौं। यस यात्रामा सुरक्षाकर्मीहरूको सहभागिता महत्वपूर्ण छ।”

कार्यक्रममा सहभागी सशस्त्र प्रहरी बलका सदस्यले पनि धार्मिक र सामाजिक क्षेत्रमा यस्ता सहयोगी कार्यक्रमहरुमा सधैं तत्पर रहेको बताए। स्थानीयवासीहरूका अनुसार, “गणेशधाम क्षेत्र पछिल्लो समय विकासको यात्रामा छ। यस्ता सरसफाइ तथा संरक्षणका कार्यहरूले धार्मिक स्थललाई मात्र होइन, वरपरको वातावरणलाई समेत सुन्दर बनाउँछन् र पर्यटकलाई आकर्षित गर्छन्।”

कार्यक्रमको अन्त्यमा समितिले सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर गणलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि यस्तै सहयोगको अपेक्षा व्यक्त गरेको छ। यस कार्यक्रमले धार्मिक स्थलमा सामाजिक उत्तरदायित्वका साथ सुरक्षाकर्मी र स्थानीय समुदायबीचको सहकार्यलाई थप बलियो बनाएको छ र यसले सामाजिक सद्भाव र एकता प्रवर्द्धन गर्ने विश्वास लिइएको छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement