एसपी गोविन्द पुरीको कमाण्डमा: चितवन प्रहरी विश्वास, न्याय र अनुशासनको प्रतीक
रेशम सापकोटा र चितवन पत्र
भरतपुर चितवन
प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले जिल्ला प्रहरी कार्यालय, चितवनको नेतृत्व सम्हाल्ने वित्तिकै चितवनमा प्रहरी सेवाले नयाँ जीवन पाएको अनुभूति हुन थालेको छ। कानुनी कठोरता, जनताप्रतिको उत्तरदायी र प्रहरी संगठनभित्रको अनुशासनसहितको दृष्टिकोणले अब चितवन प्रहरी कुनै साधारण निकाय होइन । जनताको आँखामा आँसु पुछ्ने संयन्त्र, अपराधविरुद्धको आत्मबल, र भरोसा दिलाउने कार्यालय बनेको छ।
बीस वर्ष लामो अनुशासित सेवाको अनुभव बोकेका एसपी पुरीले प्रहरी निरीक्षकबाट सेवा यात्रा सुरु गरेका थिए। प्रहरी निरीक्षक हुदाँ चितवनमै खटिनुका साथै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्रमुखका रूपमा १३ महिनासम्म काम गर्दै नक्सालस्थित आर्थिक प्रशासन निर्देशनालयमा एसपीको हैसियतमा रहेर कानुनी नियमनमा योगदान पुर्याएका थिए।

चितवन आइपुग्नासाथै उनले एकैचोटि प्रशासनिक चुस्तता, जनउत्तरदायित्व, अनुशासन, पारदर्शिता र सेवामूलक कार्यहरूलाई रणनीतिक योजनाका रूपमा अघि सारे। “अब कुनै पनि अन्यायलाई बिर्सन पाइँदैन, जसले गल्ती गर्छ उसलाई सजाय, जसले पीडा भोग्छ उसलाई न्याय” भन्ने नीतिलाई व्यवहारमै उतार्दै चितवन प्रहरीलाई नयाँ पहिचान दिलाउने ढंगमा कार्य थालनी भयो।
उनको कमाण्डमा सुरू गरिएको “एक दिन एक युनिट एक कार्यक्रम” अभियानले अब प्रहरीलाई वर्दीभित्रको डर होइन, समाजभित्रको मित्रको रूपमा चिनाउन थालेको छ। स्कुल–कलेजमा लागूऔषधविरुद्ध सचेतना फैलाउने कार्यक्रमदेखि लिएर घरेलु हिंसा नियन्त्रणमा महिला र समुदायसँगको संवाद, ट्राफिक जागरुकता, सरसफाइ गतिविधि, योग अभ्यास, रक्तदान, वृक्षारोपण, धार्मिक भ्रमण, जंगल सफारी, मर्निङ वाक, बोटिङजस्ता मनोबलवद्र्धक तथा समुदायमैत्री कार्यक्रमहरू अब दैनिक जीवनको हिस्सा बनिरहेका छन् ।

त्यत्तिकैमा ट्राफिक अनुशासन तोड्ने बुलेट बाइकहरूको ध्वनि प्रदूषण नियन्त्रणका लागि उनी स्वयंको निर्देशनमा ४३ वटा मोटरसाइकल नियन्त्रणमा लिइएर कानुनी प्रक्रिया अघि बढाइएको छ । जसमा साइलेन्सर झिकेर नियम उल्लंघन गर्नेहरूलाई जरिवाना गरिएको छ। मापसे चेकजाँचलाई नियमित र कडाइका साथ कार्यान्वयन गरिएको छ । रात्रिकालीन गस्तीमा थप प्रभावकारिता ल्याइएको छ । जसले गर्दा सडक सुरक्षा र शान्तिमा सकारात्मक सुधार आएको छ।
भरतपुर महानगरसँगको सहकार्यमा सीसीटीभी क्यामरा जडानको कार्य अघि बढाइएको छ । जसले चितवनलाई डिजिटल निगरानी सञ्जालद्वारा सुरक्षित बनाउँदै लगेको छ। यस्तै, पछिल्ला केही सातामै फरार प्रतिवादी पक्राउ परेका छन्, तीमध्ये केहिलाई अदालतमा पेश गरी कानुनी दायराभित्र ल्याउँदै कैद सजाय र जरिवाना सुनाइएको छ — यसले प्रहरीको निष्पक्षता, तत्परता र न्यायप्रतिको प्रतिबद्धता झल्काउँछ।

महिला तथा बालमैत्री डेस्कलाई बलियो बनाउँदै घरेलु हिंसा, यौनजन्य हिंसा र बालशोषणसम्बन्धी मुद्दाहरूमा प्रहरीले तत्काल र प्रभावकारी रूपमा हस्तक्षेप गर्दै आएको छ। औषधि व्यवसायीहरूसँग भएको शान्ति सुरक्षा सम्बन्धी छलफल कार्यक्रम, सुधार केन्द्र सञ्चालकहरूसँग अन्तरक्रिया, पत्रकार सम्मेलनद्वारा जनतालाई तथ्यमा आधारित जानकारी दिने प्रयास, मुद्दा भएका ठाउँहरूको स्थलगत निरीक्षण, वीआईपी सुरक्षामा खटिने प्रहरीलाई लक्षित निर्देशन र तालिम — यी सबै कदमहरूले प्रहरीको गम्भीरता र संवेदनशीलताको दायरा विस्तार गरेका छन् ।

प्रहरी कार्यालयभित्रको वातावरण पनि अब भिन्न छ। फुलबारीको सौन्दर्य, सरसफाइ अभियान, अनुशासित विभागीय संरचना, छरितो मुद्दा व्यवस्थापन, जुनियर प्रहरीहरूलाई जिम्मेवारी, इन्स्पेक्टरको नेतृत्वमा कार्य समन्वय — यी सबैले प्रहरीभित्रको ऊर्जा, उत्साह र कर्तव्यबोधलाई बलियो बनाएको छ।
मातहत प्रहरीहरूको आत्मबल उच्च राख्नका लागि मासिक उत्कृष्ट प्रहरी सम्मान, भव्य विदाई समारोह, योग ध्यान शिविर, घुमघाम, धार्मिक स्थल भ्रमण, बोटिङ, याफ्टिङजस्ता कार्यक्रमहरू निरन्तर चलिरहेका छन् । यी कार्यक्रमहरू केवल मनोरञ्जन होइनन् — यिनीहरू एक उद्देश्य बोकेका छन् — प्रहरीले आफ्नो सेवा गर्वका साथ गरून्, प्रेरणाले भरिएको रहोस् ।

अब प्रहरी कार्यालय पीडितको लागी खुल्ला ढोका हो — जहाँ पीडा लिएर आउने नागरिकलाई न्यायको किरण देखिन्छ। चोरी भएका मोबाइलहरू फेला पारेर पीडितलाई फिर्ता दिने, रातिको समयमा हुने चोरी नियन्त्रणमा ल्याउने, सक्रिय गस्ती, सूचना संकलन र निगरानीबाट चोरीका घटना घट्दै गएका छन् — जसले प्रहरीप्रतिको जनविश्वासलाई झन् मजबुत बनाएको छ।

चितवनको पुलचोक क्षेत्रमा मनपरी भाडा उठाउने ४४ जनामाथि कडा कारबाही गरी ट्राफिक सचेतना कार्यक्रम गरिएको छ। बेवारिसे मानिसहरूको उद्धार र व्यवस्थित पुनःस्थापनादेखि लिएर विपद् व्यवस्थापन तालिम, सडक अबरुद्ध भएको बेला प्रहरी परिचालन गरेर बाटो खुलाउने पहलहरू अब प्रहरीको कार्यशैलीका विशेषता बनिसकेका छन् ।

अब प्रहरी केवल नियम पढाउने निकाय होइन — अपराधविरुद्धको पहरेदार , पीडितप्रतिको सम्बेदना, र नागरिकप्रतिको सच्चा भरोसा बनेको छ। नातावाद, कृपावाद वा पहुँच चल्दैन। चल्ने भनेको कानुन हो। जो गल्ती गर्छ, उसलाई माफी छैन। जो न्याय खोज्दै आउँछ, उसको हात खाली फर्किंदैन।
हिजो आज चितवनमा प्रहरीको अनुहार बदलिएको छ — अब प्रहरी टाढा होइन, तपाईँकै घरछेउको साथी हो। अब प्रहरी कागजको भरमा होइन, जनताको मनमा बस्ने विश्वासको छाया हो।

सडकको छेउमा निदाएको बालकको आमाको आँसु पुछ्न सक्ने हात आज चितवनमा प्रहरीको वर्दीमै भेटिन्छ। न्याय अब कागजमा होइन, व्यवहारमा बाँच्न थालेको छ। एसपी गोविन्द पुरीको नेतृत्वमा चितवन प्रहरी संस्था होइन, भरोसाको घर भएको छ।






















