प्रधानमन्त्री ओलीको धारणा: ‘गालीगलौज र परपीडक प्रवृत्तिबाट समाज जोगाउनु आवश्यक
काठमाडौं — सामाजिक सञ्जालमा दिनहुँजसो देखिने गालीगलौज, चरित्र हत्या र अरूको नाममा दोष थोपर्ने परपीडक प्रवृत्तिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर चिन्ता व्यक्त गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक मन्तव्य दिंदै प्रधानमन्त्री ओलीले यस्ता नकारात्मक व्यवहारले समाजलाई गलत दिशातर्फ डोर्याउन सक्ने भन्दै सबैले सचेत हुनुपर्ने बताएका हुन्।
लोकप्रिय गायिकाहरू एलिना चौहान र समीक्षा अधिकारीले हालै सुरु गरेको सामाजिक सञ्जालमै गाली गर्नेहरूलाई सार्वजनिक गर्ने अभियानको खुलेर समर्थन गर्दै प्रधानमन्त्री ओलीले समाजमा राम्रो गर्न खोज्नेहरूलाई निरुत्साहित गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने धारणा राखेका छन्। उनले लेखेका छन्, “आफू राम्रो देखिन अरूको दोष खोज्ने, जस्तो कुराको पनि विरोध गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ। समाजलाई उत्तेजनाले गाइड गरेर गलत बाटोतर्फ नलग्न दिनु जरूरी छ। विवेकको बाटो समात्न यस्तो अभियान सही लाग्यो।” ओलीका अनुसार समाजमा सकारात्मक सोच, सिर्जनशील प्रयास र अग्रगमनशील कामप्रति निरन्तर गाली गर्ने संस्कृति गढिन थालेको छ।
यस्तो अवस्थाले हिम्मत गरेका सर्जक, कलाकार, अभियन्ता र साधारण नागरिकलाई पनि निराश बनाउने खतरा रहेको उनले संकेत गरेका छन्। प्रधानमन्त्रीले राम्रो गर्न खोज्नेले डराउन नहुने र हिम्मत नहार्नुपर्ने सन्देश पनि दिएका छन्। “समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसकेको छ,” उनले भनेका छन्। प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्तिले डिजिटल स्पेसमा भइरहेको अमर्यादित व्यवहार, साइबरबुलिङ र अनावश्यक आलोचनामाथि बहस उकास्ने देखिएको छ। यस्ता अभियानलाई संस्थागत र दीर्घकालीन रूपमा अघि बढाउन सकिनेबारे पनि विभिन्न सामाजिक समूहहरूले चासो देखाएका छन्।
सम्बन्धित खवर
-
चितवन । पछिल्लो मत परिणामअनुसार ...
-
काठमाडौँ,फागुन २२ – नेपाली ...


















