चितवन गाँजीपुरमा मदन भण्डारीको स्मृति सभा
चितवन । ‘जनताको बहुदलीय जनवाद’का प्रणेता एवम् नेकपा (एमाले)का तत्कालीन महासचिव स्व मदन भण्डारीको शव प्राप्त भएको ठाउँ गाँजीपुरमा स्मृति सभा गरिएको छ। मदन भण्डारी फाउण्डेशन चितवनले सोमबार मदन–आश्रितको स्मृतिमा सभा गरेको हो।
२०५० साल जेठ ३ गते दासढुङ्गामा भएको रहस्यमय जीप दुर्घटनापछि जेठ ५ गते भरतपुर महानगरपालिका वडा नं १७ गाँजीपुरमा भण्डारीको शव प्राप्त भएको थियो। मदन–आश्रित स्मृति सभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं चितवन जिल्ला इञ्चार्ज देवी ज्ञवालीले मदन भण्डारीकै बिचारका कारण नेकपा एमाले हालसम्म जीवित रहेको बताए। मदन भण्डारीको बिचार नभएको भए अहिले नेकपा एमाले क्रमशः मोहनविक्रमकै हालतमा हुने उनले बताए।
विगतमा हिंसात्मक संघर्ष चलाउनेहरु पनि १० वर्षपछि मदन भण्डारीको नाउँ लिएर वा नलिएर जनताको बहुदलीय जनवादको बाटोमा आउन बाध्य भएको उनको भनाइ छ। माओवादीलाई यो कुरा स्वीकार गर्न गाह्रो भइरहेको बताउँदै नेता ज्ञवालीले भने, ‘यो कुरालाई अझै पनि स्वीकार गर्न गाह्रो छ भने, कानलाई सीधै समाउन अप्ठ्यारो छ भने, घुमाएर समाउनुहोस् तर योभन्दा अर्को बाटो छैन।’
नेकपा एमालेका केन्द्रीय सदस्य यमबहादुर परियारले कुनै पनि कम्युनिष्ट पार्टीलाई सही दिशामा अघि बढाउनका लागि पार्टीको राजनीतिक कार्यदिशा सही हुनु पर्ने बताए। जनताको बहुदलीय जनवाद हेर्दा एमालेको बिचार भए पनि छरिएर रहेका कम्युनिष्टहरुलाई त्यसले सकारात्मक प्रभाव पारेको उनले बताए।
एमाले वागमती प्रदेश उपाध्यक्ष एवं पूर्वमन्त्री दावा दोर्जे लामाले मदन भण्डारीलाई विश्व कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन सक्ने देखेपछि योजनाबद्ध ढङ्गले स्वदेशी तथा विदेशी शक्तिले मदन भण्डारीको हत्या गरेको बताए। यसको वास्तविक हत्यारा अहिलेसम्म पत्ता लगाउन नसकिएको उनले बताए।
एमाले वागमती प्रदेश कमिटी सदस्य एवं फाउण्डेशनका केन्द्रीय सदस्य रामप्रसाद न्यौपानेले मदन भण्डारी गुमाउँदा नेपालको कम्युनिष्ट आन्दोलनले आफ्नो विचारक गुमाएको बताए। जनताको बहुदलीय जनवादले विश्व कम्युनिष्ट आन्दोलनमा नयाँ उचाइ प्राप्त गरेको न्यौपानेको भनाइ छ।
मदन भण्डारी फाउण्डेशन चितवन अध्यक्ष डा तिलचन्द्र भट्टराईले फाउण्डेशन स्थापना भएदेखि हालसम्मका कामबारे चर्चा गरे। उनले फाउण्डेशनले स्थापनासँगै बैचारिक र राजनीतिकसँगसँगै सामाजिक र आर्थिक विकासको काम गरेको बताए। समाजको वर्तमानअवस्थालाई परिवर्तन गर्दै अगाडि लैजानु फाउण्डेशनको उद्देश्य रहेको बताउँदै डा भट्टराईले भने, ‘बैचारिकसँगै सामाजिक र आर्थिक परिवर्तनलाई पनि अगाडि लैजानुपर्छ।’
समग्र नारायणी नदी किनारसँगै गाँजीपुर क्षेत्र र दासढुङ्गा क्षेत्रको विकास गर्नुपर्ने उनले बताए। दासढुङ्गा–गाँजीपुर एकीकृत विकास परियोजनाको नाममा समिति तयार गरी विज्ञटोलीसहित यस क्षेत्रको अध्ययन गरी खाका तयार गरिएको भन्दै त्यो खाका केन्द्र र प्रदेश सरकारलाई पठाइसकिएको उनको भनाइ छ।
व.सं. २०५० साल जेठ ३ गते नारायणघाढ–मुग्लिन सडकखण्डको दासढुङ्गामा तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित सवार जीप दुर्घटनामा परेको थियो । आश्रितको शव दासढुङ्गामा नै भेटिएको थियो भने भण्डारीको शव घटना भएको तीन दिनपछि गाँजीपुरमा भेटिएको थियो।


















