0Shares

चितवन, माघ २७-

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा जङ्गली हात्ती (मकुना) को मृत्युका सम्बन्धमा बनेको छानबिन समितिले औपचारिक रुपमा आफ्नो काम सुरु गरेको छ।

आइतबार मन्त्रालयमा पहिलो बैठक बसेर समितिले कार्य प्रारम्भ गरेको हो। बैठकले समितिको आन्तरिक कार्यविधिको मस्यौदा बारे अध्ययन गरेर अनुसन्धानको तयारी थालिएको छानबिन समितिका संयोजक वन मन्त्रालयका सहसचिव डा. बुद्धिसागर पौडेलले जानकारी दिए।

‘मकुनाको मृत्यु सम्बन्धमा शुक्रबार छानबिन समिति बनेको थियो। बिचमा बिदा भएकाले आजबाट काम सुरु गरेका छौँ, डा. पौडेलले भने ‘सोमबारबाट स्थलगत अध्ययन गर्दैछौँ।’

छानबिन समितिले चितवनमा दुई दिनसम्म बसेर घटनाको विषयमा स्थलगत अध्ययन गर्ने तयारी रहेको उनले बताए। ‘चितवनमा दुई दिनसम्म बसेर चितवन राष्ट्रिय निकुञ्ज, निकुञ्जका सेक्टर कार्यालय, सुरक्षा निकाय, मध्यवर्ती सामुदायिक वनका पदाधिकारी, स्थानीय पालिका र प्रशासनसँग छलफल तथा अन्तरक्रिया गरी घटनाको विवरण बुझ्ने तालिका छ,’ उनले भने ‘त्यहाँबाट फर्किएर हामीले प्रतिवेदन तयार गछौँ।’

होटल व्यवसायीले पालेका हात्तीका कारण जङ्गली हात्ती मानव वस्तिमा बसेको गुनासो आएकाले होटल तथा हात्ती व्यवसायीलाई समेत भेट्ने उनले जानकारी दिए।

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेनाको गोली लागेर माघ २३ गते मकुनाको मृत्यु भएको थियो। वन मन्त्रालयले सात दिनभित्र घट्नाको विस्तृत विवरण तथा कारणहरू पहिचान गर्न माघ २५ गते छानबिन समिति बनाएको थियो।

समय छोटो रहेकाले तीव्रताका साथ अध्ययन गरिने उनले बताए। छानबिन समितिले आगामी दिनहरूमा यस्ता घटना हुन नदिनका लागि सुरक्षा सावधानी लगायतका विषयहरू प्रतिवेदनमा समावेश गरी सुझाव दिने समेत उनले बताए। सकेसम्म मृत्युको सम्बन्धमा स्थलगत रुपमा अवलोकन, निरीक्षण गरी भए गरेका तथ्यहरू प्रतिवेदनमा समावेश गरिने उनले बताए।

पौडेलको नेतृत्वमा बनेको पाँच सदस्यीय छानबिन समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत पुरुषोत्तम शर्मा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख सेनानी गजेन्द्र रावल, वन तथा भू संरक्षण विभागका वन अधिकृत सवनम पाठक, चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका पशु चिकित्सक डा. दिनेश शाह रहेका छन्।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार बुधबार कुमरोज सामुदायिक वनको लामिताल क्षेत्रमा हात्तीलाई ‘स्विपिङ’ गर्दै निकुञ्जतिर पठाउने क्रममा निकुञ्जका हात्ती र मानिसलाई समेत आक्रमण गर्न थालेपछि सुरक्षार्थ खटिएको नेपाली सेनाले आत्मरक्षाका लागि गोली चलाउँदा मकुनाको मृत्यु भएको जानकारी दिएको छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement