चितवन सहित आठ जिल्लामा ‘मह मूल्य शृङ्खलाको लागि बजार पहुँच कार्यक्रम’ लागु

चितवन, माघ २०-
नेपालमा नेपाली ‘मह मूल्य शृङ्खलाको लागि बजार पहुँच कार्यक्रम’को परियोजना लागू भएको छ । नेपाली महको आन्तरिक, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्ने उद्देश्यले नेपालका आठ जिल्लामा यस परियोजना लागू भएको हो ।
संयुक्त राष्ट्र औद्योगिक विकास संगठन (यूएनआईडिओ)को आर्थिक सहयोगमा नेपालका चितवन, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, सर्लाही, कास्की र पाल्पा जिल्लामा परियोजना लागू भएको परियोजनाका राष्ट्रिय प्राविधिक संयोजक जगदिशभक्त श्रेष्ठले जानकारी दिए । उनका अनुसार उच्च गुणस्तरको मह बिक्री मार्फत परियोजना लागू भएका जिल्लाहरुमा साना मौरीपालक, साना, लघु, मझौला उद्यमी र मह प्रशोधकहरुका लागि जीविकाका अवसरहरु सुधार सिर्जना गरिएको हो । महको बजारीकरणको लागि विशिष्टीकरण गर्ने उद्देश्यले स्थापना भएको परियोजनाको समय चार वर्षको रहेको छ ।
परियोजना सञ्चालन गर्नका लागि नर्वे सरकारबाट १३ लाख ७९ हजार ९५६ यूरो बजेट विनियोजन भएको उनले बताए । कार्यक्रम सञ्चालनको प्रकृया तयार गर्नका लागि परियोजनाले जिल्लामा पुगेर सुझाव संकलन गरिरहेको उनले बताए । ‘परियोजनाले उत्पादकसँग मिलेर महको गुणस्तर सुधार गर्ने काम गर्नेछ’, श्रेष्ठले भने ‘विदेशी मह र स्वदेशी महको भिन्नता, पत्ता लगाउने र परियोजनाको क्षेत्रबाट मह खरिद बिक्री गर्ने व्यापारीलाई सहयोग गर्नेछौँ ।’
परियोजनाले महको बजारीकरणमा सहजता ल्याउनका लागि सरकारी तथा गैरसरकारी निकायमार्फत आफ्ना कार्यक्रम अगाडि बढाउने लक्ष्य राखेको छ । ‘हामीले सोझै किसानलाई अनुदान दिँदैनौँ’ परियोजनाका नेशनल भ्यालु चेन डेभलपमेन्ट एक्सपर्ट सुरेश बरालले भने ‘महसँग काम गरिरहेका संघसंस्थाहरु मार्फत बजार प्रवद्र्धनको काम गर्छौँ ।’ परियोजनाले राष्ट्रिय गुणस्तर पूर्वाधार प्रणालीको प्राविधिक क्षमता र दिगोपनमा सुधार ल्याउने अपेक्षा समेत गरिएको उनले बताए ।
‘प्रमुख गुणस्तर पूर्वाधार सेवा प्रदायकको प्रविधि क्षमता र महको गुणस्तरको लागि स्थानीय बजारको अनुमगन गर्न सबल हुनेछ,’ उनले भने ‘अन्तर्राष्ट्रिय नियमहरु र मौरीपालनमा खाद्य स्वच्छताका लागि गुणस्तर नियन्त्रण रणनीति र पाठ्यक्रमको पालना गर्न राष्ट्रिय क्षमता स्थापित हुने अपेक्षा छ ।’ स्थानीय बजारको लागि महको गुणस्तर अनुगमन गर्ने प्राविधिक क्षमता बलियो बनाउने लक्ष्य रहेको उनले बताए ।
नेपाली मह गुणस्तर भएपनि बिक्री हुन सकिरहेको छैन । यहाँ बाहिरी मुलुकबाट मह भित्रिरहेको छ । त्यसका लागि महको प्याकेजिङ र लेभलिङमा ध्यान दिनुपर्ने परियोजनाकी नेशनल क्वालिटी इन्फ्रास्टक्चर एक्सपर्ट मञ्जु क्षेत्रीले बताए । ‘हामीले महको गुणस्तर प्रमाणीकरण लिनुपर्दछ । यसले अन्तर्राष्ट्रिय बजारसम्म बिक्री गर्न सक्छौँ’, उनले भने, ‘घरेलु बजारहरुको प्रभावकारी सञ्चालन र अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न सक्छौँ।’
गुणस्तरीय महको लागि मापदण्ड, मापन विज्ञान, प्राविधिक नियमन, समरुपता मूल्यांकन, बजार अनुगमन, परीक्षण प्रमाणीकरण जस्ता विषयहरु समेटिनुपर्ने हुन्छ । मौरीविज्ञ खेमराज न्यौपानेले नेपाली महको गुणस्तर भएपनि मूल्यका कारण बिक्रीमा समस्या भएकाले यसतर्फ परियोजनाले काम गर्न उनले सुझाव दिए । जिल्ला स्तरीय सरोकारवाला परियोजना अभिमुखीकरण कार्यशाला गोष्ठीमा बोल्दै न्यौपानेले नेपालको महको ब्राण्ड गर्न समेत सुझाव दिए ।
‘कृषकले महमात्र बेच्नु हुँदैन । यसबाट विभिन्न वस्तुहरु उत्पादन गर्न सकिन्छ,’ उनले भने, ‘हामीले भ्यालु चेञ्जमा काम गर्नुपर्छ ।’ मौरीपालक किसान बाबुराम पन्तले गुणस्तर मह पहिचानका लागि जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताए । ‘विदेशबाट आउने मह जम्दैन । हाम्रो चिउरी र तोरीको मह जम्ने गरेको छ,’ उनले भने ‘वास्तवमा जमेको मह गुणस्तरीय हो । तर, उपभोक्ताले किन्न मानिरहनुहुँदैन ।’
जमेको मह खोज्ने उपभोक्ता न्यून भएको उनले बताए । मौरीपालक किसान शिव पौडेलले नेपालीले तोरीको मह लिन नमानेको समेत बताए । बागमती प्रदेश कृषि मन्त्रालयका निर्देशक सुदिप श्रेष्ठले उपभोक्ता र किसानको क्षेत्रमा चनचेतनाको अभिवृद्धि गर्नुपर्ने बताए । ‘डाबर र पतञ्जलीको मह जम्दैन । गुणस्तरीय मह जम्छ,’ उनले भने ‘परियोजनाले प्रचार प्रसारको अभियान नै चलाउनुपर्छ ।’ उनले ल्याबको मापदण्ड बनाउनुपर्ने बताए ।
मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अम्गाईले महको प्याकेजिङमा काम गर्ने हो भने महको बजारीकणमा समस्या नआउने बताए । ‘अघिल्लो वर्ष ३१ सय टन मह स्टक थियो । लेभलिङ र प्याकेजिङमा काम भएपछि यस्ता समस्या आउँदैन होला । परियोजनाले यसतर्फ काम गर्नुपर्दछ’–उनले भने ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख प्रमोद पौडेलले बजारिकरणका लागि गुणस्तरमा ध्यान दिनुपर्ने बताएका छन् । गुणस्तर मापदण्डको महिलो माध्यम प्याकेजिङ भएकाले यसमा ध्यान दिन समेत अनुरोध गरे । ‘महको प्याकेजिङ हेरेर गुणस्तर छ भन्न त सकिँदैन,’ उनले भने ‘पहिलो आधार चाँहि प्याकेजिङ हुन सक्छ ।’
कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकायका डिन प्राडा अच्यूत कुमार श्रेष्ठले महको बजारीकरणका लागि महको विषयमा पाठ्यक्रममा समावेश गर्नुपर्ने बताए ।