चितवनको दियालो बङ्गला अब सबैका लागि सधै खुला
भरतपुर महानगरपालिकाको आग्रहपछि यहाँको दियालो बंगला सर्वसाधारणका लागि सन् २०२४ को प्रारम्भदेखि खुला गरिने भएको छ।
नेपाल ट्रस्टको बुधबार बसेको ७८औं सञ्चालक समितिको बैठकले दियालो बंगला सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको हो। सञ्चालक समितिका सदस्य देवीचन्द्र उपाध्यायका अनुसार यसको सञ्चालनका सम्बन्धमा अर्काे बैठकमा निर्णय गरिँदै छ।
महानगरपालिकाको अनुरोधमा दियालो बंगला सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरिएको उनले बताए।
उनका अनुसार भरतपुर महानगरपालिकासँग सहकार्य गरेर सर्वसाधारणका लागि प्रवेश व्यवस्था मिलाइने छ। जीर्ण रहेको संरचनाको मर्मत र अत्यावश्यक थप संरचनासमेत निर्माण गरेर खुला गरिने उनको भनाइ छ।
सञ्चालक सदस्य उपाध्यायले भने, ‘भरतपुर भ्रमण वर्षमा सर्वसाधारणले दियालो बंगला हेर्न पाउँछन्।’
ट्रस्टको स्वामित्वमा रहेको दियालो बंगला तत्कालीन राजा महेन्द्रले निर्माण गरेका हुन्। तत्कालीन राजा महेन्द्रको निधन भएको दियालो बंगला ३५ हेक्टर क्षेत्रफलमा फैलिएको छ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षमा थप महत्वपूर्ण गन्तव्य दियालो बंगला दरबारलाई बनाइएको बताए। महानगरले लिखित रूपमा नेपाल ट्रस्टलाई आग्रह गरेपछि खुला गर्ने निर्णय गरिएको हो।
नगर प्रमुख दाहालले नेपाल ट्रस्टसँग सहकार्य गरेर सर्वसाधारणका लागि दियालो बंगला खुला हुने बताए। उनले भने, ‘भ्रमण वर्षलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमा हामी लागिरहेका छौं।’
नेपाल ट्रस्ट प्रधानमन्त्री कार्यालयअन्तर्गत पर्दछ। महानगरले दियालो बंगलालाई खुला गर्न अधिकतम प्रयास गरेपछि ट्रस्टले निर्णय गरेको हो।
के छ दरबारमा?
दियालो बंगला क्षेत्र देवघाट प्रवेशद्वारमा छ। ऐतिहासिक रूपले महत्वपूर्ण मानिएको दरबार यतिबेला ओझेलमा छ। दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ, जसको भित्तामा राजा महेन्द्र र वीरेन्द्रको तस्बिर देख्न सकिन्छ। भर्याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ। भित्तामा बाघको टाउको राखिएको छ।
राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको त्यस्तै राखिएका छन्। दरबारछेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि आवास पनि छ। साथै सो क्षेत्रमा ‘ग्यारेज’ र त्यसछेउमा ‘स्विमिङ पुल’ पनि छ।
ऐतिहासिक यो दरबार सर्वसाधारणको पहुँचभन्दा बाहिर छ। शान्त एवं रमणीय यो बंगलाको पश्चिम भएर बग्ने नारायणी नदीले दरबार क्षेत्रको सौन्दर्य बढाएको छ भने दरबारको बगैंचाले जोकोहीलाई आकर्षित गर्छ।
–रासस
सम्बन्धित खवर
-
२२ वैशाख, काठमाडौं । संघीय संसद् ...
-
२२ वैशाख, काठमाडौं । राष्ट्रपति ...



















