0Shares

चितवन, मंसिर १७– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित कल्भर्टमा मंसिर ६ गते जुटको बोराभित्र भेटिएको दुई शवको अझै पहिचान हुन नसकेपछि प्रहरीले स्केच सार्वजनिक गरेको छ ।

 

प्रहरीले मृतकहरुको अनुहार प्रष्ट्याउने किसिमको बिशेषज्ञद्वारा तयार पारिएको स्केच आज फेसबुकमार्फत् सार्वजनिक गरेको हो ।

 

स्केचसहित मृतकहरुको हुलिया, शरीरमा भेटिएका चिजबस्तु, चिन्ह तथा कपडाहरुको बिवरण सहितको फोटोबाट सनाखत हुन सक्ने भएकोले सार्वजनिक गरिएको चितवन प्रहरीले जनाएको छ । प्रहरीले कोही कसैको परिवारका सदस्य, आफन्तजन तथा साथीसंगी हराइरहेको भएमा जानकारी गराउन पनि अनुरोध गरेको छ ।

भरतपुर महानगरपालिका–१२ मंसिर ६ गते केरुङ्गा खोलामाथि बनेको कल्भर्टमा जुटको बोराभित्र महिला र पुरुषको शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले ७७ वटै जिल्ला र मातहतका निकाय तथा भारतमा समेत शवको प्रकृति र हुलियाका बारेमा जानकारी गराइसकेको छ । तर कतैबाट घटनाको सुइँको पाउन सकेको छैन । कुनै कुरा पत्ता लगाउन नसक्दा थप अनुसन्धान नै सुरु गर्न नसकिएको प्रहरी अधिकारीहरुले बताएका छन् ।
प्रहरीले यसअघि मृतकको हुलिया र लगाएका पहिरनबारे सूचना फेसबुकमार्फत सार्वजनिक गरेको थियो । त्यसबाट पनि केही सूचना प्राप्त नभएपछि आज स्केच सार्वजनिक गरेको जनाइएको छ ।

घटनास्थल वरपर सीसीटीभीको समेत पहुँच नभएका कारणले अनुसन्धानमा समस्या भएको प्रहरी अधिकृतहरु बताउँछन् । यो घटनाका सम्बन्धमा डेढ सय जना भन्दा बढीसँग विभिन्न ठाउँमा सोधपुछ गरिएको तर कतैबाट पनि क्लू भेटाउन नसकिएको प्रहरी अधिकृतहरुको भनाइ छ ।
एक जना व्यक्तिले मात्रै अन्यत्र हत्या गरेर त्यहाँ ल्याएर शव फाल्न नसक्ने प्रहरीको भनाइ छ । त्यसैले यसमा समूह नै सहभागी भएको अनुमान छ । यो ठाउँको अवस्थाका बारेमा बुझेको, जानेको, पहिला रेकी गरेर गएको ब्यक्तिहरुले नै यहाँ ल्याएर शव राखेका हुन सक्छन्, उसले सबैभन्दा सुरक्षित ठाउँ यसलाई ठानेर नै ल्याएको देखिने प्रहरीका अनुसन्धान अधिकृतहरु बताउँछन् ।

नजिकै रहेको सुकुमबासी बस्तीका कसैले पनि शव ल्याएर फालेको बारेमा सूचना दिन नसकेको प्रहरी अधिकारीको भनाइ छ । वीरगञ्ज तथा कपिलवस्तुतिरबाट चितवन आएका ठूला सवारी साधनहरुको निगरानीसमेत गरिरहेको प्रहरी अधिकृतहरु बताउँछन् ।

पोष्टमार्टम गर्ने चिकित्सकहरुका अनुसार शव भेटिएको ४८ घण्टा अगाडि उनीहरुको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । पुरुषको मुखमा कानदेखि नै निलो टेप बाँधिएको छ, जिउमा भित्री बस्त्रमात्र छ भने महिलाको शवमा ढाकाको चोलो र प्याजी रंगको टाउजर छ । महिलाको हातमा एस लेखिएको छ ।

 

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement