0Shares

‘मेडिकल माफिया’ भन्ने गरिएका एक व्यवसायीले अहिले एकसेएक गणतन्त्रवादीको सातो खाइरहेका छन् । सत्तारुढ गठबन्धन उनीसँग आत्तिएको छ भने प्रमुख प्रतिपक्षी दल भिड्न मैदानमै उत्रिएको छ ।

नवराजावादी अभियन्ता दुर्गा प्रसाईंले संघीय गणतान्त्रिक व्यवस्था उल्टाउने लक्ष्यसहित ‘नागरिक बचाउ अभियान’ को घोषणा गरेका थिए, जसको उद्घाटन भोलि काठमाडौंमा हुँदैछ । प्रसाईंसँग जोरी खोज्दै एमाले निकट युवा संघले उही दिन एउटा निरुद्देश्यीय जनप्रदर्शन राख्यो । यहाँसम्म ठीकै थियो । तर, माउ पार्टी एमालेले नै युवा संघले गर्ने जनप्रदर्शनको स्वामित्व लिने बच्कना निर्णय गर्‍यो, जसले देशको प्रमुख प्रतिपक्ष नै एक अभियन्ता रुपी व्यवसायीसँग प्रतिस्पर्धा गर्ने तहमा ओर्लेको सन्देश गएको छ ।

प्रसाईं एक व्यक्ति हुन् । उनको पछाडि केही युट्युबर छन् । बाँकी पूर्ण रुपमा जनसमर्थनमा निर्भर छ उनको अभियान । अर्कोतिर, एमाले बलियो जनाधार भएको देशको दोस्रो शक्तिशाली दल हो । एमालेसँग पूर्णकालीन कार्यकर्ता नै लाखौंको संख्यामा छन् । अघिल्लो चुनावमा कांग्रेस-माओवादीसहितको महागठबन्धनलाई एमाले एक्लैले टक्कर दिएको थियो । यस्तो राजनीतिक शक्तिले एक व्यक्तिसँग प्रतिस्पर्धा गरेर के प्रमाणित गर्न खोजिरहेको छ भन्ने बुझ्न सकिएको छैन ।

सबैभन्दा स्मरणीय कुरा के हो भने दुर्गा प्रसाईं एमालेबाटै पालितपोषित व्यवसायी हुन् । पार्टीमा हुँदासम्म एमालेले आर्थिक पाटोबाट उनलाई दुहुनसम्म दुहेको हो । अध्यक्ष केपी ओलीले प्रसाईंसँग कुम जोडेर मञ्चमा बसेको, उनको गुणगान गाएका भिडिओहरु अहिले खोज्दा पनि बग्रेल्ती भेट्न सकिन्छ । चुनावी अभियानमा ओलीलाई हेलिकोप्टर चढाएर ठाउँ ठाउँ पुर्‍याउने, भीड जम्मा गराइदिने उनै दुर्गा प्रसाईं थिए । अहिले उनै दुर्गा प्रसाईं मानौं एमालेका ‘प्रधान शत्रु’ भएका छन् ।
जब दुर्गा प्रसाईंले एमाले त्यागे, आफ्नो स्वभावअनुसार तत्कालै अध्यक्ष केपी ओलीविरुद्ध आक्रमण सुरु गरे । जसरी माओवादीबाट एमालेमा आएपश्चात उनी प्रचण्डलाई तथानाम गाली गर्थे, एमाले छोडेर राजावादी भएपछि उनी ओलीलाई त्यसैगरी गाली गर्न थाले । हिजो प्रचण्डलाई गाली गर्दा ताली पड्काउने एमाले कार्यकर्ता अहिले प्रसाईंसँग आगो छन् । एमालेका केही नेताहरु प्रसाईंकै स्तरमा ओर्लिएर उनीसँग वाकयुद्ध र साइबर बुलिङ गरिरहेका छन् । यसो गरिरहँदा आफ्नो र पार्टीको कद छोट्टिएको चाल पाइरहेका छैनन् ।

युवा संघका कार्यकर्ताले दुर्गा प्रसाईंमाथि कालोमोसो फ्याक्नेसम्मका हर्कत गरे । त्यसपछि आमनेसामने भएका हुन् प्रसाईं र महेश बस्नेत । दुर्गा र महेश भिड्दासम्म यो व्यक्तिगत इगोको लडाइँ थियो । तर, ७ गतेको प्रदर्शनलाई एमालेले स्वामित्व लिएपछि अब पार्टीकै इज्जत दाउमा लागेको छ । दुर्गा प्रसाईंसँग पौंठेजोरी खेल्दै उही दिनमा कार्यक्रम गर्नु किन परेको हो एमालेलाई ? एमालेको भन्दा ठूलो भीड दुर्गा प्रसाईंले जम्मा गरेर देखाइदिए के होला ?

हिजो मध्यरातमा युवा संघका कार्यकर्ताले जुन हर्कत गरे, त्यो अति निन्दनीय छ । आमा–दिदीबहिनीहरु सुतिरहेको कोठाभित्र घुसेर उनीहरुलाई सडकमा निकाल्नु अराजकमात्र होइन, अमानवीय व्यवहार हो, दण्डनीय हो । यसमा सिंगो संगठन वा पार्टी संलग्न नहोला । तर, संगठनका जिम्मेवार व्यक्तिहरु संलग्न छन् भने उनीहरुमाथि तत्काल कारबाही गर्नु पार्टीको दायित्व हो । घटनामा हामी संलग्न छैनौं भनेरमात्रै पार्टी चोखिन सक्दैन ।

नेपालको संविधानले सबैखाले विचार बोकेर राजनीति गर्न छुट दिएको छ । आआफ्नो विचारका आधारमा संगठन र पार्टी निर्माण गर्न पाइन्छ । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई पनि संविधानले अपरिवर्तनीय मानेको छैन । त्यसैले कसैले राजतन्त्रको एजेन्डा बोकेर शान्तिपूर्ण आन्दोलन गर्न चाहन्छ भने पनि त्यो अधिकार संविधानले दिएको छ । दुर्गा प्रसाईंले त्यही अधिकारको प्रयोग गरेका हुन् । तर, अहिले उनले घोषणा गरेको अभियानलाई लिएर सत्ता र प्रमुख प्रतिपक्षबाट जुन असहिष्णुता प्रदर्शन भइरहेको छ, त्यसले लोकतन्त्रको भावनालाई सम्मान गर्दैन । प्रसाईंको आन्दोलनमा आएका मान्छेहरुलाई युवा संघले मात्र होइन प्रहरीले पनि दुःख दिएको गुनासो गरिएको छ । गृहमन्त्री आफैं पार्टी प्यालेसमा फोन गरिरहेका छन् ।

केही दिनअघि नेपालको पुरानो राष्ट्रिय गान कार्यक्रममा बजाएको भनेर प्रसाईंविरुद्ध प्रहरीमा जाहेरी दिइएको छ । राजनीतिक कार्यक्रममा आफ्नो पार्टीको अवधारणा जे हो, त्यहीबमोजिमका गीत संगीत प्रयोग गर्न पाइन्छ । हिजो राजतन्त्रकालमा कम्युनिष्ट गीतहरु बजाएरै आन्दोलन गरिएको होइन ? अब अहिले कसैलाई पुरानो राष्ट्रिय गीत बजाउन र सुन्न मन लाग्यो भने संविधानको कुन धाराले त्यसलाई रोक्छ ? यदि सरकारी कार्यक्रम थियो भने आपत्ति जनाउन सकिन्थ्यो । राजनीतिक दलको कार्यक्रममा उसकै तजबिज हुन्छ ।

दुर्गा प्रसाईं कुनै दूधले धोइएका महामानव होइनन् । उनको पृष्ठभूमि सङ्लो पनि छैन । घरी माओवादी, घरी एमाले हुँदै अहिले राजावादी बनेका प्रसाईं एक मौकापरस्त वाचाल अभियन्ता हुन् । उनीसँग कुनै राजनीतिक चरित्र छैन । बोलीमा अनुशासन छैन । अपुष्ट र कतिपय काल्पनिक कुरा गरेर जनतालाई भ्रमित गरिरहेका हुन्छन् ।

त्यसबाहेक उनीसँग आफ्ना दुःख छन् । एक व्यवसायीका हिसाबले उनी राज्यबाट अन्याय परेका र सताइएका पात्र पनि हुन् । होइन भने उनी खुरुखुरु आफ्नो काम गरेर खाइरहेका हुन्थे । डा. गोविन्द केसीको ‘बहुलठ्ठीपूर्ण सत्याग्रह’ का एक बाइप्रोडक्ट हुन् अहिलेका दुर्गा प्रसाईं । उनले ठूलो लगानीमा भव्य संरचनासहितको बीएण्डसी अस्पताल बनाए । त्यसलाई मेडिकल कलेजका रुपमा चलाउन चाहन्थे । त्यस निम्ति राज्यबाट आशयपत्र लिएर सबै पूर्वाधारहरु तयार गरे । तर, अन्तमा मेडिकल कलेजको सम्बन्धन पाउन सकेनन् । गोविन्द केसीको अनसन मेडिकल कलेजको तगारो बनिदियो । प्रचण्डदेखि ओलीसँग नजिक हुनुमा उनको पहिलो स्वार्थ यतिमात्रै थियो कि आफ्नो अस्पतालले मेडिकल कलेजको सम्बन्धन पाओस् । तर, प्रसाईंबाट अनेक फाइदा लिएका दुवै नेताले उनलाई न्याय दिन भने सकेनन् ।

प्रचण्डबाट पार नलाग्ने भएपछि उनी ओलीसँग नजिकिए । ‘हजुरबा’ भन्दै रातोदिन बालकोट धाउन थाले । ओलीले उनको पक्षमा सार्वजनिक रुपमा बोलिदिएका पनि हुन् । तर, ओली सरकारले पनि गोविन्द केसीको डरले प्रसाईंको पक्षमा निर्णय गर्न सकेन । उनको मेडिकल कलेज अलपत्र पर्‍यो । अहिलेसम्म अलपत्र छ । यता दुर्गा प्रसाईं ऋणमा डुबेका छन् । यही ऋणको बोझले उनलाई ‘विद्रोही’ बनाएको बुझ्न सकिन्छ । उनी आफू जस्तै ऋणमा डुबेकाहरुको वकालत गर्दै हिँडिरहेका छन् ।

२० लाखभन्दा कम ऋण भएका ऋणीहरुलार्ई पूरै उन्मुक्ति दिनुपर्ने उनको माग छ । प्रसाईंको पछि लाग्दा ऋण मिनाहा होला कि भन्ने पनि कतिलाई परेको छ । तर, यो सम्भव हुने कुरा होइन ।

जे होस्, प्रसाईंले गणतन्त्रवादी दल र नेताहरुको मनमा एउटा त्रास पैदा गरिदिएका छन् । उनीहरुलाई यो व्यवस्था नै उल्टिएला कि भन्ने गम्भीर चिन्ता उब्जिन थालेको छ । प्रधानमन्त्रीले गणतन्त्रवादी दलहरुको बैठक नै डाकेर सोधे- गणतन्त्रविरोधी गतिविधिहरु हामी टुलुटुलु हेरेर बस्ने हो त ?

प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीले उनलाई ढाडस दिँदै भने, ‘व्यवस्था जोगाउन आवश्यक पर्‍यो भने हामी पनि सडकमा होमिन तयार छौं ।’ त्यसपछि प्रचण्डले केही सान्त्वना महसुस गरे, तर छट्पटी सकिएको छैन ।दुर्गा प्रसाईंले दलहरुलाई एउटा मौका दिएका छन्, आफैंलाई पुनरावलोकन गर्ने । यत्रो भीड एउटा व्यक्तिको पछाडि हिँड्नु भनेको वर्तमान राजनीतिक प्रणाली र राजनीतिकर्मीको असफलताको द्योतक हो । दुर्गा प्रसाईंले पैसाको बलमा भीड जुटाएको भनेर अब पत्यारिलो हुनेवाला छैन ।

रङ नम्बर डायल गर्दा गुमाउँदै जनमत

एमाले सत्तामा छैन तर पनि अहिले आलोचनाको केन्द्रमा सत्तापक्ष होइन एमाले नै किन बनिरहेको छ ? एमालेका महासचिव शंकर पोखरेलले हालै नेपाल प्रेसको अन्तर्वार्तामा भनेका छन्- हामी सत्तामा छैनौं तर आज पनि हामी सत्तापक्ष गठबन्धन,नयाँ भनिएका दलदेखि राजावादीहरूको समेत प्रहारको निशानामा छौं ।

एमालेको दुःख यही हो । दुर्गा प्रसाईँ आफ्नै बोलीले विवादमा थिए र उनको प्रदर्शन सरकारको टाउको दुःखाइ बन्नुपर्थ्यो । तर, बीचमा एमाले आयो एक प्रकारले सत्ताको रक्षाकवचका रूपमा । अनि सत्ताविरोधी जनमतजति अहिले एमालेको विरुद्धमा प्रष्टै खनिएको छ ।

पछिल्लो समय विशेषगरी युवा संघका कार्यकर्ताका गतिविधिहरूले एमालेको जनमत घटाइरहेका छन् भन्ने कुरा नेतृत्वले महसुस गर्न ढिला गर्न हुँदैन । आज सामाजिक सञ्जालले जनमत निर्माण गर्ने युगमा एमालेले बिल्कुल उल्टो बाटो लिएको छ ।

दुर्गा प्रसाईँ र दुर्गा प्रसाईँहरूको आरोपको जवाफ दिने नाममा एमालेले जसरी संस्थागत शक्ति गलत ठाउँमा खर्चिरहेको छ । आज एमालेको प्रधान अन्तरविरोध राजावादीसँग हो कि गठबन्धनसँग ? एमालेको प्रमुख प्रतिस्पर्धी शेरबहादुर देउवा पुष्पकमल दाहालहरू हुन् कि दुर्गा प्रसाईँ ?

आज दुर्गा प्रसाई आउलान्, भोलि शर्मिला वाइबा वा डिल्लीराम खनाल अनि भेलुबाजेहरू आउलान् । सामाजिक सञ्जालले निर्माण गरेका भाइरल (नकारात्मक) बिम्बहरुसँग जुध्ने स्तरमा कुनै राष्ट्रिय राजनीतिक दलका नेताहरू झर्नु भनेको राजनीतिक र वैचारिक पतनको द्योतक पनि हो भन्ने बुझन् जरुरी छ ।

एमालेले यो कुरा बुझ्दासम्म ढिला हुनसक्छ । किनकी बारम्बार एमाले नेतृत्वले रङ नम्बर डायल गर्दैछ ।

साभार : नेपालप्रेस

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement