0Shares

रुपन्देही । कैलालीको टिकापुरमा सामान्य खाजा पसलबाट व्यवसायिक यात्रा सुरुवात गरेका चिन्तामणी न्यौपाने ‘लक्ष्मण’ साढे दुई दशकमा पाँचतारे होटलको मालिक बनेका छन् । यो बीचमा उनी आफूमात्रै व्यवसायी बनेनन् धेरैलाई व्यवसायमा जोडे र रोजगारी पनि उसैगरी दिलाए ।

२०५४ माघ २३ गते टीकापुरमा खाजा पसल सुरु गरेका न्यौपानेले आफ्नो व्यवसायलाई निरन्तरता मात्रै दिएनन् र क्रमशः अन्य साथीहरुलाई पनि संलग्न गराउँदै संस्थागत बनाउँदै गए । अहिले उनले सिद्धार्थ बिजनेस ग्रप अफ हस्पिटालिटी प्रालि बनाएका छन् र आफू त्यसको नेतृत्व गर्दै अध्यक्ष बनेका छन् ।

उनकै अगुवाईमा करिब साढे २ अर्ब लगानीमा रूपन्देहीको भैरहवामा पाँचतारे होटल निर्माण भएको छ । होटल सिद्धार्थ भिलासा औपचारिक रूपमा सञ्चालन आएको छ । भैरहवा अञ्चलपुर प्रहरी चेकपोस्टदेखि दुई सय मिटर पश्चिमतिर मायादेवी गाउँपालिका वडा नम्बर ८ मा रहेको यो होटल चार विघा क्षेत्रफलमा फैलिएको छ । होटलमा डिलक्स, एक्जुकेटिभ स्विट, स्विट र प्रेसिडेन्ट स्विट गरी चार स्तरमा वर्गीकरण गरिएका ८५ वटा कोठा छन् ।

सुरूमा दुई वर्षमै निर्माण सक्ने र एक अर्ब रूपैयाँ बढी लागत अनुमान थियो । कोरोना महामारीका कारण योजनाअनुसार काम भएन । ढिलाइ, निर्माण सामग्रीको मूल्यवृद्धि तथा पूर्वाधार पनि थपिँदै जाँदा लागत बढेको न्यौपानेले बताए ।

भैरहवाको डिलक्स पाँचतारे होटल ग्रुपकै ‘ड्रिम प्रोजेक्ट’ का रूपमा रहेको उनको भनाइ छ । ‘यो मेरो सपना थियो, लामो यात्रामा सामान्य खाजा पसलदेखि सुरु भएको आतिथ्य सेवा पाँचतारेसम्म पुगेको छ, यो भन्दा खुसीको क्षण एक व्यवसायीलाई के हुनसक्छ ?’– न्यौपानेले भने ।
भैरहवाको पाँचतारे होटलमा समूहको आफ्नै लगानी छ । होटलमा डिलक्स एक्जुकेटिभ स्वीट,प्रेसिडेन्टियल स्वीट, स्वीट र ७२ वटा डिलक्ससहित चार स्तरका ८५ कोठा पहिलो चरणमा बनेका छन् ।

होटलमा क्यासिनो, नेपालकै ठूला सभा हल,३ वटा सेमिनार हल, लबी लाउञ्ज,अल डे डाइनिङ,रुफ टप रेष्टुरेन्ट,स्वीमिङ पुल,फिटनेस, जिम हल,स्पा,सहितको हेल्थ क्लब,लङ टेनिस कोर्टसहितका पूर्वाधार रहेका ग्रुपका सीईओ कृष्ण न्यौपानेले जानकारी दिए ।

क्यासिनोकै लागि मात्र १७ हजार वर्गफिट क्षेत्रफल प्रयोग गरिएको र सभा हल १२ सय जना क्षमताको रहेका उनले बताए । हाल पांचतारे होटल सफ्ट लञ्च भएको आगामी असोजमा ग्राण्ड ओपेनिङ सहित पूर्णरुपमा सञ्चालनमा आउने न्यौपानेले बताए । बुद्ध जन्मस्थल लुम्बिनी, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र भारतीय पर्यटकलाई मध्यनजर गरेर पांच तारे होटेलमा लगानी गरिएको न्यौपानेले बताए ।

होटेलभित्रका सबै संरचनाहरुमा बुद्धको जीवनीसंग सम्बन्धित र बुद्धत्व झल्किने नामाकरण गरिएको उनले बताए । सिद्धार्थ ग्रुपले छिटै चितवनको सौराहामा सिद्धार्थ भिलासाको दोस्रो शाखा सञ्चालनमा ल्याउने उनले बताए । त्यसपछि सिद्धार्थ बैभव र सिद्धार्थ बाटिका गरी तीन स्तरका लक्जरी होटेलहरु सञ्चालनमा ल्याउने योजना रहेको उनले बताए ।

रेष्टुरेन्टतर्फ सिद्धार्थ कटेजलाई ब्राण्डिङ र विस्तार गर्ने र कर्मचारी समेतको लगानीको एस क्याफेहरु सञ्चालन गर्ने न्यौपानेले बताए । ‘ट्रेडिङतर्फ सिद्धार्थ हस्पिटालिटी मार्ट र आइटीतर्फ सर्व टेक्नोलोजी, कृषि उत्पादनतर्फ बायोटिका, इन्स्टिच्युटतर्फ सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटी ब्रान्ड नाममा सेवा प्रवाह तथा वस्तु उत्पादन गर्दै आएका छौं’ न्यौपानेले भने ।

सञ्चालक योगराज कंडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित र बृद्धि गर्न भारतसंगको हवाई रुट प्राप्तिमा सरकारले भारत सरकारसंग निरन्तर पहल गर्नुपर्ने माग गरे ।

ग्रुपले आईटी, कृषि क्षेत्र र हस्पिटालिटी शिक्षा क्षेत्रमा समेत लगानी गरेर व्यवसायलाई विस्तार गरिरहेको बताए । सिद्धार्थ भिलासामा ३ सय जनासहित ग्रपले हालसम्म १६ सय जनालाई रोजगारी दिएको छ ।

समूहले हस्पिटालिटी क्षेत्रको २५ वर्षे व्यवसायिक यात्रामा पाँचतारे होटल भने पहिलोपटक सञ्चालन गरेको हो । बाह्य पर्यटक लक्षित तीनतारे र चारतारे होटल भने यसअघिदेखि नै सञ्चालन गरिरहेको छ । कटेज तथा रेस्टुरेन्ट व्यवसायबाट यात्रा विस्तार गरेको समूहले बुटवलमा सिद्धार्थ कटेज तथा रेस्टुरेन्ट सञ्चालन गरिरहेको छ ।

समूहले हस्पिटालिटीसँगै विभिन्न सेवा तथा उत्पादनको क्षेत्रमा पनि लगानी गरिरहेको छ । ग्रुपले कटेज रेस्टुराँ, तीनतारे र चारतारे स्तरका सहित ३२ वटा शाखा सञ्चालन गरेको छ । आफ्नै लगानी र व्यवस्थापनमा कर्णालीको चिसापानी, नेपालगन्जको धम्बोजी र कारकाँदो, रुपन्देहीको बुटवल र भैरहवा, सुर्खेत, चितवनको चुम्लिङटार, काठमाण्डौंको सुन्धारा, तिनकुने, पुरानो बानेश्वर, बौद्ध, ललितपुरको धोविघाटमा होटल तथा रेष्टुरेन्ट संचालन छन् ।

त्यसैगरी विभिन्न ६ ठाउँमा एसक्याफे, महेन्द्रनगर, लमही, चन्द्रौटा, नुवाकोट, बिर्तामोडमा व्यवस्थापन साझेदारी होटल संचालनमा चलेका छन् । यस्तै जुम्लाको ताम्रा, इलामको कन्याम चियाबगान, काभ्रेको धुलिखेल, कैलालीको धनगढी र कास्कीको पोखरामा समेत होटल तथा रिसोर्ट सञ्चालन गर्ने योजना रहेको संचालकहरुको भनाइ छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement