0Shares

भरतपुर । चितवनबाट प्रकाशित नारायणी टुडे मासिक पत्रिकाले आज सोमबारबाट आफ्नो अनलाइन सँस्करण पनि शुरु गरेको छ । ं
नारायणी टुडे डट कम (www.narayani2day.com) को नाममा पत्रिकाले आफ्नो अनलाइन शुभारम्भ गरेको हो । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले सो अनलाइन क्लिक गरेर औपचारिक शुभारम्भ गर्नुभएको हो ।
अनलाइनको शुभारम्भ गर्दै मन्त्री थपलियाले सकारात्मक पत्रकारिताले मात्रै देशलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउन सक्ने बताउनुभयो ।
‘अहिले सेलिब्रेटी हुने तरिकाले नकारात्मक पत्रकारिताले प्रश्रय पाएको छ । अब यसलाई रोक्न सक्नुपर्छ ।’–मन्त्री थपलियाले भन्नुभयो । प्रदेश सरकारले सबै पत्रकारको क्षमतालाई कदर गर्ने बताउँदै उहाँले यहाँका पत्रकार र सञ्चारमाध्यमको सवलीकरणका लागि ठोस कार्यक्रम ल्याउन लागिएको पनि बताउनुभयो ।
अब सिंहदरबारदेखि गाउँपालिकासम्मको खाडललाई सञ्चारजगत्ले पुर्नुपर्ने विषयमा पनि मन्त्री थपलियाको जोड थियो । उहाँले चितवनको पत्रकारितामा नारायणी टुडे मासिकले पु¥याएको योगदानको पनि चर्चा गर्नुभयो । ‘पत्रिकाले यहाँको गतिविधिलाई महत्व दिएको पाएको छु, अब अनलाइन संस्करणले पनि यस कुरालाई निरन्तरता दिनुपर्छ ।’–उहाँले भन्नुभयो ।

नारायणी टुडे मासिकका प्रकाशक एवम् अनलाइनका सञ्चालक वीरेन्द्रमणि पौडेलले पत्रिकाको विषयवस्तुलाई विश्वव्यापीकरण गर्नका लागि अनलाइन संस्करणमा प्रवेश गरेको बताउनुभयो । पत्रकारिता क्षेत्र चुनौतिपूर्ण रहेपनि आफ्ना विषयवस्तुलाई अनलाइनमार्फत देशविदेशमा पु¥याउन पाउँदा खुशी लागेको उहाँले उल्लेख गर्नुभयो । ‘अहिलेको युग डिजिटल युग हो । नयाँ मिडियालाई हामीले पछ्याएका मात्रै हौँ । अब नयाँ मिडियाको प्रयोगसँगै हामीले चालेको नयाँ यात्रालाई आम पाठकले पक्कै न्याय दिनुहुनेछ ।’–सञ्चालक पौडेलले भन्नुभयो ।
नारायणी टुडे मासिक विगत २३ वर्षदेखि चितवनबाट नियमित प्रकाशन भईरहेको छ । सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालबाट अनलाइन सँस्करण सुरु गर्न अनुमति पाएसँगै नारायणी टुडे डट कम सञ्चालनमा आएको हो । अनलाइनको सञ्चालकमा वीरेन्द्रमणि पौडेल र सम्पादकमा हरिप्रसाद पोखरेल रहनुभएको छ ।
अनलाइन शुभारम्भ कार्यक्रममा चितवनमा विभिन्न सञ्चारकर्मी, व्यवसायी र सामाजिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement