0Shares
शिवघाट । चितवनको नारायणी नदीकिनारमा ‘क्रुजसिप’ सञ्चालनमा आएको छ । राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले आइतबार दिउँसो १ बजे विशेष क्रुजिङको समयलाई साइत मानेर पर्यटकीय प्रयोजनका लागि क्रुज सञ्चालनमा ल्याएको हो ।
करिब २ वर्ष पहिले नै क्रुजसिपको परीक्षण गरिएको थियो । कोभिड महामारी र केही नीतिगत व्यवधानका कारण क्रुजसिप सञ्चालनमा आउन सकेको थिएन । अहिले सबै प्रक्रिया पूरा गरेर क्रुजसिप सञ्चालनमा ल्याइएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका कार्यकारी निर्देशक दीपक ढुङ्गेलले जानकारी दिए । निर्देशक ढुङ्गेलका अनुसार ३ तला रहेको क्रुजमा एकपटकमा १८० जना यात्रु चढ्न सक्छन् । यसको कुल क्षमता भने २०० जना रहेको छ । क्रुज चढ्न ७ सय रूपैयाँ शुल्क तिरेर टिकट काट्नुपर्ने हुन्छ ।
३ सिफ्टमा चल्ने क्रुजमा बिहानको ब्रेकफास्ट खाँदै नदीमा शयर गर्न चाहनेहरुले ब्रेकफास्टसँगै क्रुजको मज्जा लिनेछन् । अपराह्न क्रुजमा खाँदै रमाउन चाहनेका लागि लञ्च नै क्रुजमा हुनेछ र साँझमा डिनर क्रुजमा हुने व्यवस्था गरिएको छ ।
ब्रेकफास्ट क्रुजिङको एक हजार पाँच सय, लन्च क्रुजिङको दुई हजार, डिनर क्रुजिङको दुई हजार पाँच सय रहेको छ ।
हरेक यात्रुको १० लाख रूपैयाँबराबरको बिमा हुनेछ । क्रुजसिपभित्र रेस्टुरेन्टसहितको विवाह, पार्टी, कुनै कार्यक्रम गर्न मिल्ने हल तथा सांस्कृतिक कार्यक्रमका लागि स्टेज, बैठक हलसमेत राखिएका छन् ।
भरतपुर–१६ स्थित काभ्रेघाटबाट देवघाटसम्म सञ्चालनमा आउने भने पनि अहिले पानीको सतह कम भएकाले तत्काल छोटो दूरीमा सञ्चालनमा आउने उनले बताए । नदीले पानीको धार परिवर्तन गरेकाले छोटो दूरीमा मात्र सञ्चालनमा ल्याइएको हो । क्रुज सञ्चालनका लागि नारायणी नदीमा ४० किलोमिटरको अनुमति छ । तर, यतिबेला पानीको सतह निकै कम भएकाले केही किलोमिटर मात्रै चलाइने उनले बताए ।
क्रुजको पहिलो तलामा ९०, दोस्रो तलामा १०० जना अटाउन सक्ने क्षमता छ । पहिलो तलाको अगाडिपट्टि सेल्फी खिच्ने, चलचित्र तथा म्युजिक भिडियो सुटिङ गर्ने खुला ठाउँ छ । यहाँ १५ जना उभिन मिल्नेछ । यहाँ बैठक पनि गर्न मिल्नेछ । दोस्रो तलाको एक छेउमा १० जना विशिष्ट व्यक्तिका लागि कुर्सी राखिनेछ । क्रुज १०० फिट लम्बाइ र २५ फिट चौडाइको छ । नर्वेजियन प्रविधिको प्रयोग गरेर बनाइएको क्रुजसिप भारतको केरलाका प्राविधिकले तयार गरेका हुन् ।
सरकारले पानीजहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै यहाँ जहाज निर्माण सुरूआत भएको थियो । भरतपुर महानगरपालिका–१६ स्थित ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाट बगरमा पोर्ट र क्रुज निर्माण भएको हो । ज्ञानेश्वर सामुदायिक वनसँग २० वर्षको सम्झौता गरी क्रुज निर्माण गरिएको थियो ।
क्रुज जलप्रवाहको मापन, प्रकोपका चुनौतीको अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कनपश्चात् नर्वेली प्रविधिको प्रयोगबाट भारतीय प्राविधिकको सहयोगमा नारायणी नदीकिनारमै निर्माण थालिएको थियो । क्रुजमा दुई इन्जिन छन् । क्रुज निर्माण २०७५ चैतबाट थालिएको थियो ।
राइनो वाटर इन्टरटेनमेन्ट प्रालिमार्फत भारतीय कम्पनी ग्रान्डडुर मारिन इन्टरनेसनलले जहाजको निर्माण गरेको थियो । निर्माणका लागि १५ करोड रूपैयाँ हाराहारी खर्च भएको जनाइएको छ ।
0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement