0Shares

रवि लामिछाने साउन महिनाभरि नै देश दौडाहामा रहे। उनले झापा, धरान, इटहरी, जनकपुर, काभ्रे, धादिङ, चितवन, पोखरा, बुटवल, सुर्खेत, दाङ, नेपालगन्ज, धनगढीजस्ता ठाउँमा गरेका भेलामा मानिसहरू उल्लेख्य संख्यामा उनलाई हेर्न र उनका कुरा सुन्न आए।

ती ठाउँमा आएको भीडले रविको मनको कुनामा रहेको प्रधानमन्त्री बन्ने महत्वाकांक्षामा आगो झोसिदिएको छ।

अहिले उनी आफूलाई प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गर्न थालेका छन्। बलिउड सिनेमा ‘नायक’ मा अभिनेता अनिल कपुरले झैं काम गर्ने जोश उनमा भरिएको छ।

साउन १५ गते कञ्चनपुरको महेन्द्रनगरमा आयोजित पार्टी भेलामा उनले भने, ‘म जहाँ रहन्छु, अन्याय, बेथितिविरूद्ध बोलिरहन्छु। नागरिकका समस्या थुप्रै छन्, ती समस्या समाधान गर्छु। मेरो नेतृत्वमा सरकार बने २४ घन्टाभित्रै बेथितिको भ्वाङ पुर्छु।’

वर्षौंदेखि जकडिएको समस्याको भ्वाङ २४ घन्टाभित्र पुरिदिने तिलस्मी कुरा मात्र उनले गरेका छैनन्, राष्ट्रियताको टेको पनि टेकेका छन्। उनी पार्टी कार्यक्रमहरूमा नेपालको राष्ट्रिय झन्डा ओढेर पुग्छन्। आफ्नो भाषण सकेपछि स्टेजमा नेपालको झन्डा फहराउँछन्। पार्श्वमा ‘रातो र चन्द्र सूर्य, जंगी निशान हाम्रो…’ बोलको स्वदेश गान बजिरहेको हुन्छ।

असार ३० गते झापामा भएको पार्टी भेलामा उनले भने, ‘मैले अहिले लगाएको तलदेखि माथिसम्मको पोसाक नेपाली उत्पादन हो। म निरन्तर नेपाली उत्पादन मात्रै प्रयोग गर्नेछु।’

बक्स अफिसमा चल्ने सिनेमा बनाउन सबै उपलब्ध फर्मुला मिसाउन उद्दत निर्देशकझैं देखिएका छन् रवि। तर यस्तो निर्देशक जसलाई न सिनेमाप्रति साँच्चै लगाव छ, न त सिनेमा के हो र केले बन्छ भन्ने गहिरो अनुभूति वा कलाप्रति कुनै अनुराग छ।

लोकतन्त्र र त्यसका मूल्य-मान्यता, नेपाली समाजका मूल राजनीतिक, आर्थिक तथा सामाजिक प्रश्न, नेपालले अपनाएको संसदीय प्रणाली, समानुपातिक निर्वाचन प्रणाली र तिनका गुण वा दोषबारे रवि अनभिज्ञ मात्र छैनन्, त्यसमा उनको रूचि र चासो पनि देखिन्न। यो पद्धति र राज्य सञ्चालनका जटिलता र तिनमा सुधारका मुद्दाबारे बुझ्ने प्रयत्न त झनै परको कुरा!

केवल प्रधानमन्त्री बन्ने भुत उनमा यस्तरी सवार छ, म पछि परेँ कि भनेर उनी हतार-हतार यो दौडमा सामेल छन्। र, यो हतारो बालेन शाहले काठमाडौंको मेयर जितेपछि उनमा देखिएको हो।

मत सर्वेक्षण गर्ने एउटा कम्पनीले केही वर्षअघि ‘नेपाली जनताले केपी शर्मा ओलीपछि तिमीलाई प्रधानमन्त्रीमा देख्न चाहेका छन्’ भनेर उनलाई भनिदिएको थियो। उनको मनमा प्रधानमन्त्री बन्ने सपना टुसाएको त्यही बेलादेखि हो।

तै पनि राजनीतिमा हामफाल्ने निधो उनले गरिसकेका थिएनन्। लगानीकर्ता खोजेर, त्यसमा साझेदार बनेर उनी गत वर्षदेखि ग्यालेक्सी फोरके टिभीमा कार्यरत थिए। जब बालेन भारी मतान्तरसहित काठमाडौंको मेयरमा चुनिए, उनलाई लाग्यो- मैले लिनुपर्ने ठाउँ बालेनले लियो, ऊ राजनीतिको नयाँ हिरो हुन लाग्यो। त्यसपछि ग्यालेक्सी टिभीका लगानीकर्ताको विश्वासमाथि लात हानेर उनी बिनातयारी राजनीतिमा हामफालेका हुन्। यसले राजनीति, संविधान, संसदीय प्रणाली, निर्वाचन र मुलुकका प्रमुख राजनीतिक-आर्थिक विषयमा उनमा रहेको आधारभूत ज्ञान र सुझबुझको अभाव पछिल्ला केही महिनामै छताछुल्ल भएको छ।

जसरी रविले राजनीति चिनेका छैनन्, त्यसरी नै रविलाई हेर्न, सुन्न र सेल्फी खिच्न जिल्ला-जिल्लामा आएका मानिसले रविलाई चिनेका छैनन्। उनका बारेमा उनीहरूलाई धेरै थाहा छैन। उनीहरूलाई रविले चलाउने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमबारे थाहा छ। त्यसका नायक रविबारे थाहा छ। टेलिभिजनको पर्दामा पत्रकारिताको आधारभूत मर्यादाविपरीत ठाउँको ठाउँ दूध र पानी, न्याय र अन्याय छुट्टयाउने ‘न्यायाधीश’ रविबारे थाहा छ। अनि टेलिभिजन पर्दाको त्यो ‘नायक र न्यायाधीश’ ले राजनीतिमा त्यस्तै गरेको हेर्ने हुटहुटी छ।

‘सिधा कुरा जनतासँग’ रविको एउटा चिनारी हो, तर रवि त्यो मात्र होइनन्। उनको जीवनको बाटो त्यति सिधा पनि छैन। उनको निजी जीवन, व्यावसायिक जीवन र देश-विदेशका कहानीमा रविको चरित्र र इमान उनको राजनीतिक सुझबुझभन्दा कमजोर देखिन्छ।

पहिले उनको राजनीतिक सुझबुझकै कुरा गरौं। उनको राजनीतिक एजेन्डा र देश विकासका उनका योजनाको कुरा गरौं।

असार ७ गते पार्टी घोषणा गर्दा रविले आफूहरू कसरी अरू पार्टीभन्दा फरक छौं भन्नेबारे केही बुँदा प्रस्तुत गरेका थिए। पहिलो बुँदामा चुनावमा उम्मेदवार बन्न पार्टीमा प्राइमरी निर्वाचन हुने उल्लेख थियो भने तेस्रो बुँदामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री हुने लेखिएको थियो। प्रोजेक्टरमा देखाइएका केही बुँदाबाहेक उनको राजनीतिक दर्शन वा योजनाको कुनै व्याख्या त्यहाँ थिएन।

पार्टी सभापति भइसकेपछि असार १० गते रविले पहिलो पत्रकार सम्मेलन गरे। उक्त पत्रकार सम्मेलनमा मैले ‘तपाईंको दलले गणतन्त्र मान्छ कि मान्दैन?’ भनी सोधेको थिएँ। उनले गणतन्त्र नमानीकन कुनै पनि राजनीतिक दल दर्ता नहुने बताए।

मैले फेरि सोधे, ‘मान्छ कि मान्दैन मात्र भन्नुस् न?’

उनले भने, ‘मान्छ।’

‘तपाईंको दलले धर्म निरपेक्षता मान्छ कि मान्दैन?’ भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘मान्नैपर्छ।’

‘संविधानमै संसदीय व्यवस्था भएको देशमा तपाईंको पार्टीले कसरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री छान्छ’ भन्ने प्रश्न गरेपछि रवि केही अकमकिए।

सम्हालिँदै उनले भने, ‘जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री नभएर प्रधानमन्त्रीको उम्मेदवार बन्न पार्टीमा प्रत्यक्ष चुनाव लडेर आउनुपर्ने भनेको हुँ।’

रविले राष्ट्रिय सभागृहमा प्रस्तुत गरेको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डा तीन दिन नहुँदै लडखडाएको थियो। अहिले उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भन्न छाडेका छन्।

प्रदेशमा भने प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुनुपर्ने उनको धारणा छ। अर्कातिर प्रदेश चलाउन आवश्यक कानुन बनाउन चाहिने प्रदेशसभा खारेज गरिदिनुपर्ने उनको तर्क छ। यो सबैका लागि पनि संविधान नै बदल्नुपर्छ। प्रदेशबारे उनको दलको यस्तो धारणा साउन ३१ गते मात्र आएको हो।

त्यो निर्वाचन आयोगमा दल दर्ता गर्ने अन्तिम दिन थियो। अन्तिम समयमा दल दर्ता गर्न पुगेका रविले संघीय चुनावबाट मात्रै लड्ने गरी फाइल दर्ता गराए। सात प्रदेशमा चुनाव लड्न दलहरूले हरेक प्रदेशका लागि छुट्टै फाइल दर्ता गर्नुपर्छ। निर्वाचन आयोगका अधिकारीहरूले त्यो दिन लामिछाने एउटा मात्र फाइल लिएर आइपुगेको बताएका छन्।

प्रदेशसभा र त्यहाँका मन्त्रीहरूले राज्यकोषमा भार थपेको र भ्रष्टाचार मात्र बढाएकाले प्रदेशसभा चुनाव आफूले नलड्ने निर्णय गरेको उनको तर्क छ। आफूहरूले केन्द्रीय कमिटीबाटै प्रदेशसभा चुनाव नलड्ने निर्णय गरेको उनको दाबी छ।

प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुने, त्यो मुख्यमन्त्रीले फरक लिंगको उपमुख्यमन्त्री नियुक्त गर्ने, मुख्यमन्त्रीहरूले नै जिल्ला प्रमुखहरू नियुक्त गर्ने र प्रदेश मातहतका अन्य सबै मन्त्रालय खारेज गर्ने उनको प्रस्ताव छ।

‘देशको व्यवस्था बदल्न होइन, अवस्था बदल्न आएका हौं’ भन्दै भाषण गर्ने रविले अहिलेको संवैधानिक व्यवस्था नबदली प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाउन सकिँदैन भन्ने सामान्य राजनीतिक बुझाइ राखेको देखिन्न। केन्द्र सरकारको प्रधानमन्त्री संसदबाट चुनिने तर प्रदेशको मुख्यमन्त्री प्रत्यक्ष जितेर आउने अनि ऊ मन्त्रीमण्डल बिनाको नेता हुने जुन प्रणाली उनले परिकल्पना गरेका छन्, त्यो कुनै राजनीतिशास्त्रीको समझभन्दा बाहिरको कुरा छ। संसारमा अर्को कुनै मुलुक छैन जहाँ उनले भनेजस्तो ‘उँट प्रणाली’ लागू छ।

सबभन्दा मुख्य कुरा, उनले यस्तो प्रणाली जसरी बिना कुनै संकोच प्रस्ताव गरेका छन्, त्यसमा उनको राजनीतिक ‘नादानी’ मात्र देखिन्न, नेपाली समाज र राजनीतिलाई कति हलुका ढंगले लिएका छन् र बुझेका छन् भन्ने पनि देखाउँछ।

राष्ट्रिय स्वतन्त्र पार्टीको वेबसाइटमा उद्देश्य र नीति कार्यक्रम भनेर २५ वटा बुँदा राखिएका छन्। ती बुँदामा लेखिएका विषयहरू उत्तिकै सतही देखिन्छन्। ती बुँदाको २० नम्बरमा सनातन वैदिक संस्कृति र आध्यात्मिकता प्रवर्द्धन गर्ने लेखिएको छ। त्यसमा भनिएको छ- हरेक धर्मावलम्बीको सम्मान गर्दै नेपाललाई आध्यात्मिक राष्ट्रतर्फ उन्मुख गराइने छ।

लैंगिक समानता, समावेशिता र समानुपातिक प्रणाली, मुलुकको विकासका लागि चाहिने आर्थिक नीति, परराष्ट्र नीति लगायत विषयमा उनको पार्टीको कुनै प्रस्ट धारणा आएको छैन। देश दौडाहामा रहेका रविले सार्वजनिक सेवा लिँदा पाएको सास्ती, वैदेशिक रोजगारीमा भोगेका पीडा, भ्रष्टाचार र ढिलासुस्ती, नेताहरू सरकारी खर्चमा विदेश उपचार गर्न गएका तर नागरिकले आधारभूत स्वास्थ्य सेवा लगायत नपाएका कुरा जोडतोडले उठाउने गरेका छन्। उनको दलले ती समस्या समाधान कसरी गर्नेछ र त्यसका नीति के हुन् भन्नेबारे उनी एक शब्द बोल्दै बोल्दैनन्।

मैले सोधेँ, ‘यी तमाम विषय कसरी सम्बोधन गर्नुहुन्छ त?’

‘यी सबै विषयमा हाम्रो विज्ञहरूको टिमले काम गरिरहेको छ। हामी छिट्टै दस्तावेज ल्याउँछौं। त्यसपछि सबै कुरा प्रस्ट हुनेछ,’ रविले भने।

त्यो टिममा को-को छन् भन्ने चाहिँ उनी खुलाउन चाहँदैनन्। त्यसले उनले भनेको टिमबारे शंका उत्पन्न गर्छ।

राजनीतिमा आउने सबैको सबै कुरामा राजनीतिक सुझबुझ हुनुपर्छ भन्ने होइन। उनीहरू राजनीतिशास्त्री, अर्थशास्त्री वा संविधानविद् हुनुपर्छ भन्ने होइन। यी सबै नभए पनि हुन्छ। यी सबै जानेर शेरबहादुर देउवा, केपी शर्मा ओली वा पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिमा आएका होइनन्। एउटा फरक पेसामा सफल मानिस राजनीतिमा आउन हुन्न भन्ने झनै होइन। फरक क्षेत्रबाट आएका मानिसले मात्रै राजनीतिमा फरक किसिमको क्षमता र विज्ञता ल्याउने छन्। राजनीतिलाई चलायमान र प्रतिस्पर्धी बनाउने छन्।

तर त्यस्तो मानिसको चरित्र के हो? उसको इमान के हो? ट्रयाक रेकर्ड के हो? क्षमतासँगै त्यो मानिस कति असल हो? राजनीतिमा आउने, अझ प्रधानमन्त्री बन्ने महत्वाकांक्षा राख्ने मान्छेबारे यी प्रश्नले पक्कै अर्थ राख्छन्। कुनै मानिसको विगत उसको भविष्य देखाउने ऐना पनि हो, खासगरी चरित्रका सवालमा। जीवनको एउटा कालखण्डमा मानिस सफल वा असफल हुन सक्छ, त्यो महत्वपूर्ण कुरा होइन। विगतको सफलता वा असफलताले भविष्यको सफलता वा असफलताबारे यकिनसाथ केही पनि भन्दैन। तर मानिसको चरित्रले, उसले हिजो र आज बाँचेको जीवनले भोलिबारे धेरै कुरा भन्छ।

रविको हिजो र आजको जीवनकथाले भोलिका रविबारे र भोलिका राजनीतिज्ञ रविबारे हामीलाई धेरै कुरा भन्छ। आज रविले जे भनिरहेका छन्, जे विश्वास दिलाउन चाहिरहेका छन्, त्योभन्दा धेरै भन्छ। त्योभन्दा साँचो भन्छ।

त्यसो भए के हो ४६ वर्षीय रविको जीवनकथा? को हुन् उनी?

२०३२ भदौ २८ मा काभ्रेको मण्डनदेउपुरमा जन्मेका रवि पाँच दाजुभाइ र दिदीबहिनीमध्ये कान्छा हुन्। उनका बुवा उपप्रधानपञ्च थिए।

उनीहरूको घर काभ्रेसँगै काठमाडौंको महांकालमा पनि थियो। आर्थिक अवस्था राम्रै भएकाले रवि बोर्डिङ स्कुलमा पढे। भोटेबहालको अरनिको बोर्डिङ स्कुलमा केही वर्ष पढेका उनी पछि भृकुटी माध्यमिक विद्यालय गए। स्कुल पढ्दादेखि नै उनलाई रेडियोमा बोल्ने ठूलो सोख थियो रे। त्यति बेला उनका जेठा दाइ हरिशरण लामिछाने रेडियो नेपालमा काम गर्थे।

‘म कविता बोकेर बासुदेव मुनालको बाल कार्यक्रममा सुनाउन जान्थेँ। साथीभाइका कविता पनि आफैं लेखेर उनीहरूको नाम हालिदिन्थेँ,’ रवि भन्छन्, ‘बदलामा उनीहरू मलाई चिया-नास्ता खुवाउँथे।’

भृकुटी माध्यमिक विद्यालयबाट उनले एसएलसी दिन भने पाएनन्। निष्कासनमा परे।

विद्यार्थीहरूबाट लिने शुल्क घटाउनुपर्छ भनेर आन्दोलनको नेतृत्व गर्दा आफू निष्कासनमा परेको उनी दाबी गर्छन्।

एसएलसी दिने वर्ष भृकुटीबाट निष्कासित भएपछि उनी डिल्लीबजारस्थित विजय स्मारक विद्यालयमा गए। त्यही स्कुलबाट २०४९ सालमा एसएलसी पास भए।

एसएलसीपछि उनी रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा पत्रकारिता पढ्न भर्ना भए। आइए पढ्दा-पढ्दै २०५० मंसिरमा उनले विवाह गरे। काठमाडौंकी इशा श्रेष्ठ र उनीबीच स्कुल पढ्दादेखि नै प्रेम सम्बन्ध थियो। विवाह गर्ने बेला रविको उमेर १८ वर्ष मात्र थियो। विवाहको केही समयमै उनी घर छाडेर भाडामा बस्न थाले। किन परिवारसँग बसेनन्, त्यसबारे रवि खुलाउन चाहँदैनन्।

आइए पढ्दा-पढ्दै उनले रेडियोमा बोल्ने, टेलिभिजनमा सहायक निर्देशकको काम गर्ने, कार्यक्रमहरूमा उद्घोषण गर्नेजस्ता काम गर्न थालिसकेका थिए।

कलाकार दीपकराज गिरी २०५० सालतिर आफूले रविलाई सिंहदरबारमा रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रांगणमा देखेको सम्झन्छन्।

‘त्यति बेला हामी ट्वाक्कटुक्क भन्ने कार्यक्रम चलाउँथ्यौं। म रेडियो नेपालमा संघर्ष गरिरहेको थिएँ, उनी टेलिभिजनमा। एनटिभीमा उनी कुनै निर्देशकको असिस्टेन्ट भएर काम गर्थेजस्तो लाग्थ्यो। एउटा कार्यक्रममा मलाई पनि बोलाएका थिए,’ गिरीले भने, ‘उनी त्यति बेलादेखि नै निकै महत्वाकांक्षी थिए। विभिन्न कुरामा सम्भावना खोजिरहेका हुन्थे। आफूले गर्छु भनेको काम गर्न उनी निकै मिहिनेत गरेर लाग्थे। ऊर्जावान् थिए। आफ्नो काम पूरा गर्न क-कसलाई के-के गर्ने भन्नेमा उनी माहिर थिए।’

त्यो समय रवि ‘यहाँको चलन’ भन्ने हास्यव्यंग्य कार्यक्रम पनि चलाउँथे। फिल्मी कलाकारहरूसँग कुराकानी, सामाजिक विषयवस्तुमाथि व्यंग्यजस्ता विषय त्यो कार्यक्रममा समावेश हुन्थे।

केही समय उनले इमेज एफएममा ‘नो हर्न प्लिज’ भन्ने कार्यक्रम पनि चलाए। बिहान प्रसारण हुने उक्त कार्यक्रममा पत्रपत्रिकाका समाचार पढ्नेदेखि समसामयिक विषयमा श्रोतासँग कुराकानी गरिन्थ्यो। अहिले त्यो कार्यक्रमको नाम ‘शुभ दिन’ बनाइएको छ।

‘मलाई कहिले पनि पत्रिकामा लेख्न रूचि भएन। आरआरमा पढ्दा सरहरूले पत्रिकामा कसरी लेख्ने भनेर पढाउनुहुन्थ्यो, मलाई त्यसमा कुनै रूचि हुन्थेन,’ रवि भन्छन्, ‘सुरूदेखि नै मेरो ध्यान अडिओ, भिडिओमै थियो।’

त्यही भएर होला, आइएपछि रविले थप पढेनन्। काममै लागे।

रेडियो, टेलिभिजनमा कार्यक्रम चलाउने, औपचारिक कार्यक्रमहरू उद्घोषण गर्ने र धाराप्रवाह बोल्न सक्ने रविले ७-८ वर्ष काम गर्दा त्यति बेला पनि चर्चा कमाएका थिए। उनका फ्यानहरू घरमै चिठी पठाउँथे।

‘म त्यति बेला सेलिब्रेटी भइसकेको थिएँ। कार्यक्रममा जापान र बेलायत गइसकेको थिएँ,’ रविले भने।

सन् २००२ मा उनले अमेरिका जान भिजिट भिसा पाए। आफ्नो सार्वजनिक छविका कारण सजिलै भिसा पाएको उनी बताउँछन्।

‘टेलिभिजनमा मेरो झगडा पनि परेको थियो, त्यही बेला म अमेरिका गएँ,’ उनले भने।

भिजिट भिसा भनेको निश्चित समयका लागि दिइने भिसा हो। त्यो समय सकिएपछि आफ्नै देश फर्कनुपर्छ। तर उनले अमेरिका नै बस्ने योजना गरे। सुरूमा न्यूयोर्क पुगेका रवि साथीकोमा बसे।

‘मैले आफ्नो भिजिट भिसालाई स्टुडेन्ट भिसामा बदल्न खोजेँ तर नमिल्ने रहेछ,’ उनले भने।

एक वर्षपछि उनी नेपाल फर्किए र फेरि भिजिट भिसामै अमेरिका गए। यसपालि उनी नेपाल नफर्किने गरी गएका थिए।

दोस्रोचोटि अमेरिका जाँदा उनी बाल्टिमोर सहर पुगे। बाल्टिमोरमा त्यति बेलादेखि नै लोकगायक प्रेमराजा महत लगायत अरू कलाकार पनि बस्थे। महत नेपालबाट कलाकार बोलाएर कार्यक्रम गर्नेदेखि समस्यामा परेका नेपालीहरूलाई सघाउने, बस्न दिने लगायत सामाजिक काम गर्थे। रवि पनि उनैको सम्पर्कमा पुगे।

रविले बाल्टिमोर पुगेपछि ग्रिनकार्डका लागि निवेदन दिए। उनले सामान्य मानिसले आवेदन दिने ग्रिनकार्डका लागि नभई इबी-१ भिसाका लागि निवेदन दिएका थिए। अमेरिकाले विज्ञान, कला, शिक्षा, व्यापार, खेलकुद लगायत क्षेत्रमा प्रतिभा भएका विदेशी नागरिकलाई यस्तो खालको ग्रिनकार्ड दिन्छ।

बाल्टिमोरमा रविले भारतीय मूलका व्यापारीकोमा काम सुरू गरे। कमल सन्धु नामका ती भारतीय बाल्टिमोरमा स्यान्डविच बेच्ने सबवे ब्रान्डको फास्टफुड रेन्टुरेन्ट चलाउँथे।* सन्धुको पसलमा कामदारका रूपमा जागिर सुरू गरेका रविको जिम्मेवारी बढ्दै गयो।

‘मैले निकै मिहिनेत गरेँ। उसले पनि ब्रान्चहरू खोल्दै गयो। पछि त म एउटा एरियाभित्रका उसका ५-७ वटा पसलको म्यानेजर भएको थिएँ,’ रविले भने।

सन्धुका पसलमा म्यानेजर हुँदा रविले डिभी परेर भर्खरै अमेरिका पुगेका, भाषा नजान्ने, कागजात नभएका, पढ्न गएका धेरै विद्यार्थीलाई सबवेमा काम लगाइदिन्थे। जसले उनीहरूलाई ठूलो राहत हुन्थ्यो।

‘त्यति बेलै बाल्टिमोरमा मलाई धेरै नेपालीले ‘रवि दाइ’ भन्थे,’ उनले भने।

बाल्टिमोरमा रविसँग संगत गरेका नेपाली उनलाई इमान भएको असल मानिसका रूपमा चिन्दैनन्।

‘साह्रै हावा थियो, ठूला ठूला कुरा गर्ने। भर नभएको,’ बाल्टिमोरमै बस्ने एक नेपालीले भने।

कति नेपालीलाई एक-दुई दिन काम लगाएर पैसा नदिएको आरोप पनि उनीमाथि छ।

‘आफूले काम गरेका ठाउँमा नेपालीलाई दुई-चार दिन काम लगाउने, पछि काम गरेको भएन भनेर पैसै नदिई निकालिदिने तर साहुबाट उनीहरूको ज्याला लिएर आफूले राख्नेसम्म उनले गरे,’ बाल्टिमोरको बसाइमा उनलाई नजिकबाट चिनेका एक नेपालीले सेतोपाटीसँग भने।

रविले भने आफूले एक जनालाई पनि त्यस्तो गर्दै नगरेको र त्यो निराधार आरोप भएको जिकिर गरेका छन्।

रविले राम्रो काम गर्दै गएपछि बाल्टिमोरको एउटा सबवे पसल आफ्नै बनाएका थिए। किस्ता तिर्ने गरी घर-गाडी किनेका थिए।

सबवे पसलको कामसँगै उनी नेपाली समुदायले गर्ने विभिन्न कार्यक्रममा उद्घोषकको काम पनि गर्थे। नेपालबाट जाने कलाकारहरूको कार्यक्रममा पनि सहभागी हुन्थे। त्यो बेला नेपालमा माओवादी द्वन्द्व जारी थियो। सात दल आन्दोलनमा थिए। शासनको बागडोर राजाले लिएका थिए। राजनीतिको कुरा हुँदा उनी राजावादी कित्तामा हुन्थे।

‘बाल्टिमोरमा हुने नेपाली समुदायका चुनावदेखि अरू विषयमा उनी कहिल्यै लोकतन्त्र पक्षधरहरूसँग हुँदैनथे,’ अहिले पनि बाल्टिमोरमा रहेका गौतम दाहाल भन्छन्, ‘उनको बोली र व्यवहार दुवै राजावादी थियो। संगत पनि मण्डलेहरूसँगै गर्थे।’

रवि भने त्यति बेला आफ्नो कुनै राजनीतिक मत नभएको बताउँछन्।

‘म जन्मेपछि बुवा उपप्रधानपञ्च हुनुभयो तर म सानैदेखि कुनै राजनीतिक सिद्धान्तमा आस्थावान् थिइनँ। मलाई राजनीतिभन्दा समाजलाई केही प्रभाव पर्ने काम गर्न सकुँ भन्ने मात्र थियो,’ उनले भने।

पाँच वर्षको पर्खाइपछि सन् २००८ मा रविले अमेरिकाको ग्रिनकार्ड पाए।  उनी सन् २०११ मा खुलेको ह्वाइट हिमाल टेलिभिजनमा पनि कार्यक्रम चलाउन थालेका थिए। उनको मनमा सबभन्दा लामो समयसम्म टेलिभिजनमा अन्तर्वार्ता गरेर गिनिज बुकमा रेकर्ड राख्ने सोच आयो।

सन् २०११ मा युक्रेनका दुई जना टेलिभिजन प्रस्तोताले लगातार ५२ घन्टा ‘टक सो’ चलाएर गिनिज बुकमा रेकर्ड राखेका थिए। रविले त्यो रेकर्ड तोडेर ६२ घन्टासम्म ‘टक सो’ चलाउने योजना बनाए। त्यसका लागि विभिन्न मानिसहरूसँग कुरा गरे।

पुरानो बानेश्वरमा रहेको वेलकम एड्भर्टाइजिङ र मार्केटिङका सञ्चालक अध्यक्ष निर्मलराज पौडेलले रविको प्रस्ताव न्यूज २४ टेलिभिजनका सञ्चालक अनिल जोशीसम्म पुर्‍याइदिए।

‘बुद्ध नेपालमा जन्मेका हुन् भन्ने थिममा गिनिज बुकमा नाम लेखाउन कार्यक्रम गर्न लागिएको हो भन्ने प्रस्ताव उहाँले ल्याएपछि हामीले ओके गर्‍यौं,’ जोशी भन्छन्, ‘पछि अमेरिकामै गएर रविसँग कार्यक्रम चलाउने सम्झौता पनि भयो।’

२०६९ चैत २९ गते रविले न्यूज २४ मा कार्यक्रम सुरू गरे। २०७० वैशाख १ गते उनले ६२ घन्टा १२ मिनेटसम्म लगातार कार्यक्रम चलाएको रेकर्ड बनाए।

उनले गिनिज बुकमा पहिलाको रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएको समाचार बिबिसी, रोयटर्सजस्ता विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आयो। नेपाली सञ्चारमाध्यमले पनि यसलाई प्राथमिकतासाथ प्रकाशन-प्रसारण गर्लान्, आफूसँग अन्तर्वार्ता गर्लान् भन्ने रविको अपेक्षा थियो।

‘तर मलाई त्यति बेला कसैले वास्तै गरेन। कतिपय टेलिभिजनले त कार्यालयमा पुगिसकेपछि पनि अन्तर्वार्ता नगरौं भने,’ रविले भने, ‘त्यति बेला नेपाली मिडियासँग मेरो निकै तीतो अनुभव भयो।’

नेपाली मूलधारका मिडियामा रविले अपेक्षा गरेजस्तो कभरेज नभए पनि गिनिज बुकमा उनले रेकर्ड राखेको कुरा नेपाल र अमेरिकाको नेपाली समुदायमा चर्चाको विषय बनेको थियो।

सार्वजनिक चर्चा चुलिँदै गएका बेला उनको निजी जीवन भने संकटग्रस्त बन्दै गएको थियो। त्यो संकटको केन्द्रमा थिए, रविले एकपछि अर्का स्त्रीहरूसँग राखेका विवाहेत्तर सम्बन्ध!

स्कुले जीवनको प्रेमलाई विवाहमा परिणत गरेका रवि श्रीमती र दुई छोरी छाडेर अमेरिका गएका थिए। अमेरिकामै उनी नेपालकी एक चर्चित नायिकासँग ‘लिभिङ टुगेदर’ सम्बन्धमा बाँधिए। खुलमखुला सँगै बस्न थाले।

‘बाल्टिमोरका नेपालीमाझ उनीहरूको सम्बन्ध ओपन सेक्रेटजस्तै थियो,’ त्यो सम्बन्धबारे जानकार एक नेपालीले भने।

सन् २००८ मा रविले श्रीमती र दुई छोरीहरूलाई अमेरिका लगे। श्रीमतीले पनि रविका सम्बन्धबारे थाहा पाइन्। ती नेपाली नायिकासँग उनको सम्बन्ध टुट्यो। सेतोपाटीसँगको कुराकानीमा रविले भने उक्त सम्बन्ध अस्वीकार गरे।

श्रीमती सँगै हुँदा पनि रवि सुध्रिएनन्। उनी एक अर्की विदेशी महिलासँग जोडिए। उनीहरूबाट एक छोरा जन्मिए। श्रीमती र परिवारसँगको सम्बन्धमा दरार आउन थाल्यो। उनको सामाजिक प्रतिष्ठा पनि कमजोर हुन थाल्यो।

रविले ती अर्की महिलासँगको सम्बन्ध स्वीकारे तर थप कुरा गर्न मानेनन्। मेरो निजी सम्बन्धको विषय हो भनेर पन्छिए।

उनले यति भने, ‘निजी जीवन त आमिर खानदेखि एलन मस्कसम्म कसको भद्रगोल छैन र!’

सायद अमेरिकाको यही पारिवारिक, सामाजिक झमेलाबाट मुक्ति पाउन उनले नेपाल आउने बाटो खोज्न थाले।

रविलाई नेपाली सञ्चार क्षेत्रमा दोस्रो इनिङ्स सुरू गर्ने वातावरण गिनिज बुकमा रेकर्ड राखेको त्यही कार्यक्रमले बनाइदिएको थियो।

‘उक्त कार्यक्रम मैले नेपाल आउन ढोकामा ढकढक हानेजस्तो हो,’ उनले भने, ‘म जहाँ भए पनि नेपालमै केही गर्नुपर्छ भन्ने सोच थियो। नेपालमै केही गर्नुपर्छ भन्ने सोचका साथ म फर्किएँ।’

एक अमेरिकी नागरिक र पत्रकारका रूपमा नेपाल फर्कँदा पनि रविले न्यूनतम इमान देखाएनन्। पारिवारिक भिसामा नेपाल बसेका उनले आफू अमेरिकी नागरिक भएको बताएनन्।

नेपाल फर्किएपछि आफू अमेरिकी नागरिक बनेको कुरा लुकाएरै रवि न्यूज २४ टेलिभिजनमा प्रस्तोताका रूपमा जागिर खान थाले। टेलिभिजनमा जागिर खाँदा रविले आफू अमेरिकी नागरिक हुँ भन्ने जानकारी नदिएको न्यूज २४ का सञ्चालक अनिल जोशी बताउँछन्।

‘मलाई सुरूमा उनी अमेरिकी नागरिक हुन् भन्ने थाहै थिएन। पछि विवाद भएपछि मात्र थाहा पाएँ,’ जोशीले भने।

करिअरको सुरूदेखि रवि अरूभन्दा फरक हुन र देखिन चाहन्थे। नेपाली मिडियामा विषयवस्तुहरू जसरी आइरहेका थिए, त्यसमा उनलाई चित्त बुझेको थिएन। उनका लागि पत्रकारिताको अनुशासन र सीमाको कुनै अर्थ थिएन।

‘म जनतालाई सिधै प्रधानमन्त्रीसँग कुरा गराउन चाहन्थेँ। जनताका समस्या लाइभ सुन्ने र प्रधानमन्त्रीले त्यसको जवाफ दिने कार्यक्रम चलाउनुपर्छ भन्ने मेरो सोच थियो,’ रविले भने, ‘मैले यस्तो प्रस्ताव तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासमक्ष पठाएको थिएँ तर उहाँहरूले कुनै जवाफ दिनुभएन।’

कोइरालाले उनको आइडिया वास्ता नगरे पनि रविले हिम्मत हारेनन्।

२०७२ को संविधान जारी हुनुभन्दा पहिला संविधान जारी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुन्छन् भन्ने चर्चा थियो।

२०७२ भदौतिर रविले ओलीलाई फोन गरे। उनको बालकोटस्थित निवासमै गएर आफ्नो कार्यक्रमको आइडिया सुनाए। ओली उनको आइडियामा सहमत भए। संविधान जारी भएपछि ओली पहिलोपटक प्रधानमन्त्री बने। रवि ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम चलाउने प्रस्ताव लिएर बालुवाटार पुगे। ओलीले ‘हुन्छ, गर्ने’ भनिदिए।

त्यति बेला शेरधन राई सञ्चारमन्त्री थिए, प्रमोद दाहाल प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थिए।

‘उनले सातामा चार दिन प्रधानमन्त्री टेलिभिजनमा लाइभ आउने प्रस्ताव राखेका थिए। प्रधानमन्त्री त्यो कुरामा कन्भिन्स हुनुहुन्थ्यो,’ दाहालले त्यति बेलाको कुरा स्मरण गरे, ‘प्रधानमन्त्री ओली रविले गिनिज बुकमा नाम लेखाएको देखेर प्रभावित हुनुहुन्थ्यो। त्यही भएर मान्नुभयो होला।’

नेकपा (एमाले) निकट पत्रकारहरू प्रेस चौतारीसँग आबद्ध हुन्छन्। पार्टी सरकारमा हुँदा मन्त्रीका प्रेस सल्लाहकार लगायत नियुक्ति पाउनेमा उनीहरू नै पर्छन्। पार्टीसँग कुनै सम्बन्ध नभएका रविलाई प्रस्तोता राखेर प्रधानमन्त्री ओली साताको चार दिन टेलिभिजनमा लाइभ आउन तयार भएको देखेर एमालेजनहरू चकित परेका थिए।

ओली र रविको सम्पर्क र सम्बन्ध भने नेपाल आएर बनेको थिएन, अमेरिका हुँदा नै सुरू भएको थियो।

‘सन् २०१२ मा अमेरिकामा नेपालीले चलाएको ह्वाइट हिमाल टेलिभिजनमा म कार्यक्रम चलाउँथेँ। ओली अमेरिका जानुभएका बेला उहाँको पनि अन्तर्वार्ता लिएको थिएँ। त्यहाँदेखि उहाँसँग मेरो चिनजान हो,’ रविले भने।

रविको प्रस्तावअनुसार प्रधानमन्त्री ओली टेलिभिजनमा लाइभ आउन तयार भइसकेपछि सञ्चारमन्त्री राई र प्रेस सल्लाहकार दाहालले लामो सल्लाह गरे।

‘सुरूमा हामीले यस्तो कार्यक्रम महिनामा एकपटक गरे हुन्छ भन्ने राय दियौं। पछि सातामा एक दिन चलाउने कुरामा सहमति भयो,’ दाहालले भने।

२०७३ वैशाख ११ गते सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रमको पहिलो शृंखला प्रसारण भयो।

कार्यक्रमका लागि निर्मलराज पौडेलको वेलकम एड्भर्टाइजिङले प्रायोजक खोजेको थियो भने स्टुडियो सेट बनाउनेदेखि सबै प्राविधिक सामान नेपाल टेलिभिजनले निःशुल्क दियो।

त्यति बेला प्रधानमन्त्रीलाई हप्तैपिच्छे टेलिभिजनमा लाइभ ल्याउन र जनतासँग कुराकानी गराउन निकै मुस्किल भएको दाहाल बताउँछन्।

‘कार्यक्रमका प्रस्तोता भए पनि रविलाई राजनीतिक प्रश्नमा प्रतिप्रश्न कसरी गर्ने भन्ने आउँदैनथ्यो। मास्टर रूममा म बसेर उनलाई सिकाउँथेँ,’ उनले भने।

‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम नेपालको टेलिभिजन र राजनीतिक इतिहासमा एउटा यस्तो घटना हो जहाँ अमेरिकी नागरिकता र पासपोर्टधारी प्रस्तोता नेपालको प्रधानमन्त्रीसँग सरकारी टेलिभिजनमा प्रश्न सोधिरहेको थियो।

२०७३ साउनमा प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीले जसरी रविलाई विश्वास गरेनन्। उनलाई सिधा कुरा प्रधानमन्त्रीसँगको प्रस्तोताबाट हटाइदिए। स्टुडियोको स्वरूप पनि परिवर्तन गरे। माओवादीनिकट पत्रकार बबिन शर्मा नयाँ प्रस्तोता बने। केही समयपछि उक्त कार्यक्रम नै बन्द भयो।

उनीबाट कार्यक्रम खोसिए पनि त्यसले रविको चर्चा चुलियो। नेपाली टेलिभिजनमा आफूले अहिले कमाएको लोकप्रियतामा त्यो कार्यक्रम कोशेढुंगा भएको उनी बताउँछन् र एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति अनुगृहित हुन्छन्।

‘उहाँ त्यो कार्यक्रम गर्न तयार नहुनुभएको भए म टेलिभिजनमा यहाँसम्म आइपुग्दैन थिएँ होला,’ ओलीप्रति कृतज्ञ हुँदै रविले भने, ‘त्यो विश्वासका लागि म जिन्दगीभरि उहाँप्रति अनुगृहित हुनेछु।’

‘सिधा कुरा प्रधानमन्त्रीसँग’ बन्द भएपछि रविले ‘सिधा कुरा जनतासँग’ सुरू गरे। न्यूज २४ मा प्रसारण हुने उक्त कार्यक्रममा उनी सुरूमा उभिएर कुनै विषयमा धाराप्रवाह बोल्थे। नेताहरूलाई तथानाम गाली गर्थे। वैदेशिक रोजगारीमा ठगिएका, सार्वजनिक सेवा लिँदा घुस मागेका लगायत समसामयिक विषयमा आक्रामक रूपमा प्रस्तुत हुन्थे। दर्शकसँग लाइभ कुराकानी गर्थे। कुनै कार्यालयमा स्टिङ अप्रेसन पनि गर्थे। पत्रकारिताको मर्यादा र आचारसंहिताबारे उनी बेपरवाह रहन्थे।

‘… लाज पचेका नकचराहरूलाई टुँडिखेलमा राखी उडेर घुमाएर एक-एक किक हान्न मन छ, त्यो पनि नाकको डाँडी भाँचिने गरी,’ उनले राष्ट्रिय टेलिभिजनमा यसै भने।

खरो शैली र नेताहरूलाई गाली गर्ने आक्रामक प्रस्तुतिले सर्वसाधारणमा उनको लोकप्रियता चुलिँदै गयो। विशेष गरी मलेसिया, खाडी मुलुक लगायतमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूमाझ उनी निकै लोकप्रिय बने। गोरखाकी अष्टमी गुरूङको युएईमा भएको आत्महत्याबारे रिपोर्टिङ गर्न २०७४ पुसमा उनी आबुधावी नै पुगे। नेपाली दूतावासमा कार्यक्रम गरे। त्यति बेलासम्म रवि अमेरिकी पासपोर्ट बोकेर हिँडिरहेका थिए।

लोकप्रियतासँगै उनी विवादमा पनि पर्दै गए। २०७५ मा उनीविरूद्ध परेको उजुरीमा प्रेस काउन्सिलले छानबिन थाल्यो।

प्रेस काउन्सिलका तत्कालीन कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ रविविरूद्ध पहिल्यै काउन्सिलमा उजुरी आए पनि कसैले तिनको छानबिन नगरेको तर आफूले ती उजुरीमा छानबिन अघि बढाएको बताउँछन्।

‘त्यति बेला उनी अमेरिकी नागरिक थिए तर नेपालको राष्ट्रिय स्तरको टेलिभिजनबाट नेताहरूलाई नानाथरी गाली गर्थे। उनले बार्गेनिङ गरेका, ब्ल्याकमेल गरेका, धम्क्याएका भनेर थुप्रै उजुरी प्रेस काउन्सिलमा परेपछि हामीले अनुसन्धान थालेका थियौं,’ श्रेष्ठ भन्छन्, ‘उनले छानबिन प्रक्रियामा सहयोग गर्नुको साटो उल्टै राज्यका निकायलाई नटेर्ने काम गरे।’

त्यति बेला रविमाथि दुइटा प्रश्न उठेका थिए।

पहिलो, नेपालमा पत्रकारिता गर्न उनले सूचना तथा प्रसारण विभागले जारी गर्ने अनुमति लिएका छन् कि छैनन्?

दोस्रो, कुनै पनि विदेशी नागरिकले नेपालमा काम गर्न श्रम मन्त्रालयबाट श्रम स्वीकृति लिनुपर्छ। रविले त्यो लिएका छन् कि छैनन्?

पहिलो प्रश्नको जवाफमा न्यूज २४ टेलिभिजनले उनी पत्रकार नभएको, वरिष्ठ कार्यक्रम संयोजक तथा वरिष्ठ प्रस्तोता मात्रै भएको जानकारी दियो। रवि आफैंले पनि प्रेस काउन्सिललाई ‘म पत्रकार होइन, भइसकेको छैन’ भन्ने जवाफ पठाए। न्यूज २४ ले दोस्रो प्रश्नको उत्तर भने गोलमटोल दियो।

न्यूज २४ टेलिभिजनका सञ्चालक अनिल जोशी ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम चलाउनुभन्दा अघि नै रवि आफ्नो टेलिभिजनको पे-रोलमा भएको बताउँछन्। तर रविले नेपालको कानुनअनुसार लिनुपर्ने श्रम स्वीकृति लिएका थिएनन्।

प्रेस काउन्सिललाई पठाएको जवाफमा रविले गृह मन्त्रालयमा कार्य सहमति नवीकरण गर्न दिएको निवेदन निर्णय प्रक्रियामा रहेको र गृहका अधिकारीहरूले काम गर्न कुनै समस्या छैन भनेर मौखिक रूपमा बताएको उल्लेख गरेका छन्। त्यही पत्रमा उनले श्रम मन्त्रालयबाट काम गर्ने अनुमति लिएको पनि दाबी गरेका छन्। श्रम मन्त्रालयले भने उनले श्रम स्वीकृति नलिएको पत्र प्रेस काउन्सिललाई पठाएको छ।

रविले गैरआवासीय नेपालीसम्बन्धी ऐनको दफा १३ उल्लेख गर्दै ‘गैरआवासीय नेपालीले काम गर्न मात्र होइन, नेपालमा उद्योग र व्यवसाय गर्ने अधिकार पनि रहेको’ तर्क गरेका छन्।

ऐनको उक्त दफाले गैरआवासीय नेपालीहरूलाई लगानी गरी व्यवसाय चलाउन पाउने व्यवस्था गरेको छ। उक्त दफामा भनिएको छ- यस ऐनबमोजिम लगानी गर्ने नेपाली मूलको विदेशी नागरिकले नेपाली नागरिकसरह नेपालमा उद्योग वा व्यवसाय सञ्चालन गर्न पाउनेछ।

त्यसको अर्थ नेपालमा जागिर खान मिल्छ भन्ने होइन।

प्रेस काउन्सिलले उनीमाथि छानबिन थालेपछि रविका समर्थकहरू उनको बचाउमा ओर्लिए। रविले पनि प्रेस काउन्सिल संस्थाले भन्दा कार्यवाहक अध्यक्ष श्रेष्ठका कारण आफूलाई अप्ठ्यारो परेको आरोप लगाए। प्रेस काउन्सिललाई दिएको लिखित जवाफमा रविले कार्यवाहक अध्यक्ष श्रेष्ठलाई लक्षित केही आरोपहरू लगाउँदै ‘अहिलेको अवस्थामा प्रेस पास लिनुभन्दा यो पेसा नै त्यागेर दोबाटोमा जुत्ता पालिस गर्न पाए गर्वको अनुभूति गर्ने’ उल्लेख गरेका छन्।

सरकारको अर्धन्यायिक निकायलाई रविले त्यसरी ठाडो चुनौती दिनुका पछाडि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगको उनको सम्बन्ध कारण रहेको श्रेष्ठ बताउँछन्।

‘हामी उनलाई कानुनसम्मत कारबाही गर्ने प्रयासमा थियौं। उहाँ (ओली) रविलाई भेटेर केही हुँदैन भनेर धाप मार्नुहुन्थ्यो,’ श्रेष्ठले भने।

रविले पनि यो विषयमा प्रधानमन्त्री ओलीसँग भेटेर कुरा गरेको स्वीकारे।

‘मैले उहाँलाई यस्तो समस्या पर्‍यो भनेर सुनाएको हो,’ उनले भने।

आममानिसको समर्थन र राजनीतिक सम्बन्ध रविका पक्षमा भए पनि कानुनी रूपमा उनी गलत थिए। विदेशी नागरिकका रूपमा देशको कानुन उल्लंघन गरेका थिए। अर्कातिर नेपाली नागरिकता कायमै राखेर विदेशी नागरिकता लिएका थिए। त्यसले उनी अप्ठ्यारोमा पर्दै गए। यो विवादबाट मुक्ति पाउन उनले अन्तत: अमेरिकी नागरिकता त्याग्ने निर्णय गरे। २०७५ जेठ ४ मा आफ्नो पासपोर्ट काठमाडौंस्थित अमेरिकी दूतावासमा बुझाएको उनले सार्वजनिक रूपमै बताएका छन्।

उनले अमेरिकी नागरिकता त्यागेसँगै त्यो विवाद सेलाउँदै गयो। फेरि महिलासँग सम्बन्धको अर्को विवादमा उनी मुछिए।

श्रीमती र छोरीहरू अमेरिकामा छाडेर आएका रवि चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष निकिता पौडेलसँग प्रेम सम्बन्धमा थिए। बिस्तारै त्यो कुरा बाहिर आयो। उनले पौडेलसँग विवाह गर्न २०७५ मंसिरमा अमेरिकाको सबै सम्पत्ति दिने र छोरीहरूको खर्च व्यहोर्ने सर्तमा श्रीमती इशासँग सम्बन्धविच्छेद गरे।

सम्बन्धविच्छेद गर्दाको सम्झौताअनुसार रविले छोरीलाई अमेरिकामा खर्च पठाए कि पठाएनन्, तिर्न बाँकी घरको किस्ता तिरे कि तिरेनन्? यी विषयमा हामीले इशासँग बुझ्न चाहे पनि सम्भव भएन।

रविले भने आफ्नो प्रष्टीकरण दिए।

‘मैले भनेअनुसार पैसा पठाउन सकिनँ। नेपालबाट अमेरिका पैसा पठाउन गाह्रो रैछ। राष्ट्र बैंकमा निवदेन दिएको थिएँ तर सकिएन,’ रविले भने, ‘पछि उतै रहेका साथीभाइहरूसँग सरसापट दिएको पैसा फिर्ता मागेर व्यवहार मिलाएँ। अब सबै मिलिसकेको छ।’

अमेरिकासँगको पारिवारिक र नागरिकताको सम्बन्ध टुंग्याएर २०७५ माघमा उनले चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष निकिता पौडेलसँग कानुनी विवाह गरे।

२०७६ साउनमा रवि फेरि विवादमा परे।

‘सिधा कुरा जनतासँग’ कार्यक्रमका उनका पूर्वसहकर्मी शालिकराम पुडासैनीले चितवनको एक होटलमा आत्महत्या गर्नुअघि रेकर्ड गराएको भिडिओ सार्वजनिक भयो। उक्त भिडिओमा पुडासैनीले आफूलाई रविसमेतले आत्महत्या गर्न बाध्य पारेको आरोप लगाए। सोही विषय अध्ययन गर्न २०७६ साउन ३० मा प्रहरीले उनलाई न्यूज २४ को कार्यालयबाट पक्राउ गर्‍यो।

११* दिन थुनामा बसेपछि उनलाई अदालतले पाँच लाख धरौटी राखेर रिहा गर्न आदेश दियो।

‘त्यो दिन चितवनमा मानिसहरूले मलाई गरेको स्वागत र निकालेको र्‍याली देखेपछि मैले अब राजनीतिमा आउनुपर्छ भन्ने सोचेको हुँ,’ रविले भने।

हिरासतमुक्त भएर आएपछि रविले फेरि ‘सिधा कुरा जनतासँग’ चलाउन थाले। उनी बेला-बेला विवादमा आइरहन्थे र त्यही कार्यक्रमबाट आफ्नाबारेमा पनि स्पष्टीकरण दिन्थे।

त्यहीबीच उनले ‘द लिडर’ भन्ने कार्यक्रम चलाउने घोषणा गरे। २०७६ मंसिर २६ मा त्यो कार्यक्रम घोषणा गरियो। ‘द लिडर’ का विजेतालाई काठमाडौंमा अपार्टमेन्ट, गाडी र २० लाख रूपैयाँ नगद पुरस्कार दिने भनिएको थियो। रविले चलाउने कार्यक्रममा बाबुराम भट्टराई, सुशीला कार्की, रवीन्द्र मिश्र, प्रदीप गिरि र प्रदीप नेपाल निर्णायक थिए।

रविलाई भने त्यो कार्यक्रम दुई सिजन चलाउँछु अनि उत्कृष्टहरूलाई समेटेरे राजनीति गर्छु भन्ने थियो रे! तर उनको त्यो सपनामा कोरोनाभाइरस बाधक बनिदियो। कोरोनाभाइरस रोक्न लगाइएका प्रतिबन्धका कारण अडिसन हुन सकेनन्। २०७७ पुसमा रविले न्यूज २४ को जागिर छाडे।

रविको पनि लगानी रहेको ग्यालेक्सी फोरके टेलिभिजन २०७८ असोजमा खुल्यो। अमेरिकामा भएको जायजेथा सबै उतै छाडेर आएका रविले एउटा टेलिभिजनमा जागिर खाएर केही वर्षमै टेलिभिजनमा सेयर हाल्ने पैसा कहाँबाट ल्याए?

उनी भन्छन्, ‘ग्यालेक्सी फोरकेमा मैले लगानी गरेको होइन। मेरो ब्रान्डका आधारका उहाँहरूले केही सेयर दिनुभएको हो।’

सात वर्षसम्म रविसँग काम गरेका न्यूज २४ का सञ्चालक अनिल जोशीका नजरमा रवि निकै महत्वाकांक्षी र मिहिनेती मान्छे हुन्।

‘टिम वर्क पनि उहाँले राम्रै गर्नुहुन्थ्यो,’ जोशीले भने, ‘उहाँको इमानको बारेमा चाहिँ म यसै हो भन्न सक्दिनँ।’

न्यूज २४ का सहकर्मी पुडासैनीले चितवनमा आत्महत्या गर्नुअघि रविमाथि लगाएका संगीन आरोपले पनि उनको इमानको पाटोलाई संदिग्ध देखाउँछ।

पुडासैनीले रेकर्ड गरेको भिडिओमा सिधा कुरा जनतासँगको टिमबारे भनेका छन्, ‘उनीहरूमा सिधा कुराको दम्भ धेरै थियो। कतिलाई बिनाकारण दोष लगाएर न्यूज बनाउँथे। मलाई पनि त्यसै गर्न भनिन्थ्यो। जोसँग रिस उठ्यो, त्यसैलाई सिध्याउँथे। व्यक्तिगत रिस टेलिभिजनमा ल्याएर साँध्थे।’

रविले दिनदु:खीका लागि काम गरे पनि अरूहरूबाट पैसा उठाउने गरेको आरोप उनले लगाएका थिए। पुडासैनीले भनेका छन्, ‘अन्धभक्तहरूले रवि राम्रो हो भन्लान् तर रविको असली रूप देखिन अझै केही वर्ष लाग्छ। बालुवा तस्करहरू, ठूलाठूला व्यापारीहरू, ठूलाठूला उद्योग र सिमेन्ट फ्याक्ट्रीसँग करोडौं असुलेका छौ रवि तिमीले। त्यो पैसाले तिमीलाई एकदिन पोल्छ, पोल्छ हेरिराख।’

आत्महत्या दुरूत्साहनको मुद्दाबाट छुटकारा पाएपछि पनि रवि आफ्नो काममा रोकिएनन्। रविले आफ्नै नाममा एउटा फाउन्डेसन पनि खोलेका छन्। त्यो फाउन्डेसनले बाढी-पहिरो पीडितलाई राहत दिनेदेखि विभिन्न सामाजिक काम गर्दै आएको छ।

उनको फाउन्डेसनले गरेको सबभन्दा ठूलो काम कालीकोटको रास्कोटमा बनाएको अस्पताल हो। रवि लामिछाने फाउन्डेसनले बनाएको १५ शैयाको उक्त अस्पताल रास्कोट नगरपालिकाले चलाउँछ। त्यहाँ दुई जना एमबिबिएस डाक्टर छन्।

ऊर्जा रविको सबभन्दा ठूलो सम्पत्ति हो। जस्तोसुकै अप्ठ्यारो अवस्थामा पनि उनी बिनासंकोच क्रियाशील, गतिशील देखिन्छन्। अहिले त्यो ऊर्जा उनले ‘फुलटाइमर’ राजनीतिज्ञ बन्नमा उपयोग गरेका छन्। मुलुकभर दौडधुप छ उनको।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका भेला र कार्यक्रमहरू प्राय: रिसोर्ट र होटलका हलभित्र हुन्छन्। भर्खर जन्मेको पार्टीलाई एनजिओ र आइएनजिओका कार्यक्रमझैं देशभर होटल र रिसोर्ट कार्यक्रम गर्न पैसा कहाँबाट आउँछ?

‘हामीले कार्यक्रम गर्ने होटल र रिसोर्ट महँगा हुँदैनन्। पार्टीका स्थानीय शुभचिन्तकमध्ये कसैले हल भाडा तिरिदिन्छन्, कसैले चिया-नास्ताको व्यवस्था गरिदिन्छन्,’ रविले भने, ‘विदेशमा बस्नेहरूले पनि आर्थिक सहयोग गरिरहनुभएको छ। कसले कति सहयोग गर्‍यो भन्ने हामी तीन-तीन महिनामा सार्वजनिक गर्ने छौं।’

रविको दलको नारा ‘जान्नेलाई छान्ने’ भन्ने छ।

मैले रविलाई सोधेँ, ‘तपाईंलाई चाहिँ के जान्नुहुन्छ भनेर तपाईंका समर्थकले छानेका हुन्?’

रवि आफूले सबैलाई मिलाएर लैजाने कुरा जानेको बताए। ३० वर्षदेखि रविलाई चिनेका र पछिल्लो समय रविकै अनुरोधमा ग्यालेक्सी फोरकेमा ‘क्राइम प्याट्रोल’ कार्यक्रम बनाएका कलाकार दीपकराज गिरी भने राजनीति गर्न रविलाई ‘टिम स्पिरिट’ को सबभन्दा ठूलो बाधा हुने हो कि भन्ठान्छन्।

‘उनी अहिलेसम्म आफूले चाहेका काम सफल पारेरै यहाँसम्म पुगेका हुन्। तर राजनीति जटिल कुरा हो। हेरौं अब के गर्छन्,’ गिरीले भने, ‘टिम स्पिरिटमा काम गर्न सक्नुहुन्छ जस्तो लाग्दैन। टेलिभिजनमा उहाँको दुई-चार जनाको टिम थियो। राजनीति त त्यसरी चल्दैन!’

खासमा रविको ध्यान टिम बनाउनेमा छैन। समाजमा कुनै उल्लेख्य काम गरेको वा समाजमा आफ्नो स्थान बनाएको मानिस अहिलेसम्म रविसँग देखिएको छैन। राजनीतिमा रविले केही गर्छन् भनेर उनको टिममा जोडिएको छैन। उनको पार्टीले अहिले मंसिरमा हुने चुनावका लागि उम्मेदवार हुन फारम खुल्ला गरेको छ। समाजमा थोरै मात्र पनि चिनिएको वा काम गरेको मानिस उनले आफ्नो पार्टीको तर्फबाट उम्मेदवार पाउन कठिन छ।

रविको ध्यान जसरी हुन्छ आफू संसदीय निर्वाचनमा एक सिट जित्ने र समानुपातिकतर्फ देशभरबाट कम्तिमा ३ प्रतिशत मत ल्याउनमा केन्द्रित छ। त्यसो भयो भने उनको राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय दल बन्छ। समानुपातिकमा जितेको मतका आधारमा प्रतिनिधिसभामा सांसदहरू चुनिन्छन्।

राष्ट्रिय पार्टी बन्ने मत अहिलेको भद्रगोल र मुख्य दलहरूप्रतिको असन्तुष्टिका कारण पनि आउने विश्वास रविको छ।

मैले सोधेँ, ‘मतदाताले तपाईंको दललाई कार्यक्रम र विचारका कारण आशा देखेर मत दिन्छन् कि अहिलेको विद्यमान असन्तुष्टिका कारण?’

उनले भने, ‘मलाई त फ्रस्टेसनकै कारण धेरैले मत दिन्छन् जस्तो लाग्छ।’

त्यसमाथि राष्ट्रियताको टेको छँदैछ।

कुनै बेला देश नै त्यागेर अमेरिकाको नागरिकता लिएका र नेपाल फर्किएपछि पनि त्यो कायम राख्न भरपुर प्रयत्न गरेका उनी अहिले नेपालमा बनेकाबाहेक लुगा लगाउँदिनँ भनेर मतदातासामु कसम खाँदैछन्।

आखिर विभिन्न कालखण्डमा, विभिन्न रङका राजनीतिज्ञले नेपालमा भरपुर दोहन गरेको विषय न हो राष्ट्रियता।

*सम्पादन गरिएको।

Source: Setopati

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement