0Shares

काठमाडौं । लोकप्रिय सञ्चारकर्मी रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले यो चुनावमा कस्तो नतिजा ल्याउला ? धेरैलाई चासो छ । योभन्दा बढी चासो छ रवि आफैं कहाँबाट लड्लान् र हार्लान् कि जित्लान् ?

पार्टी गठनलगत्तै देश दौडाहा सुरु गरेका रविले देशका सातैवटा प्रदेशमा भेला आयोजना गरेर आफ्नो नाडी आफैंले छामिसकेका छन् । अहिलेको लहरलाई हेर्दा समानुपातिकतर्फ राम्रो नतिजा ल्याउन सक्ने उनको आत्मविश्लेषण छ । प्रत्यक्षतर्फ भने उनी स्वयमले धेरै आशा राखेका छैनन् ।

संवैधानिक व्यवस्थाअनुसार राष्ट्रिय दल बन्नका लागि समानुपातिकमा कम्तीमा ३ प्रतिशत मतका साथै प्रत्यक्षमा कम्तिमा एक सिट अनिवार्य जित्नुपर्छ । समानुपातिकमा ३ प्रतिशत वा सोभन्दा बढी भोट आएर प्रत्यक्षमा एक सिट पनि नजित्दा, समानुपातिकतर्फ सिट प्राप्त गर्ने ढोका त खुल्छ, तर राष्ट्रिय पार्टी बन्ने मौका गुम्छ । त्यसैले, राष्ट्रिय स्वतन्त्र पार्टीलाई राष्ट्रिय पार्टीका रुपमा स्थापित गर्न पनि रविमाथि कम्तीमा आफूले चुनाव जित्नुपर्ने दवाव छ । पार्टीमा उनीपछि अर्को ‘फिगर’ अहिलेसम्म देखिएको छैन, जसले प्रत्यक्षमा जित्ने ल्याकत राखुन् ।

रवि भने जहाँबाट उठ्दा पनि जित्न सक्ने आत्मविश्वास सो पार्टीभित्र बढ्दो छ । उनले एक सिट प्रत्यक्षमा जिते भने राष्ट्रिय पार्टी बन्ने ढोका खुल्न सक्छ । त्यसैले, उनको जित पार्टीको भविष्यमा निम्ति अपरिहार्यजस्तै छ ।

निर्वाचनका लागि मनोनयन गर्ने दिन नजिकिँदै गए पनि रविले कहाँबाट लड्ने भन्ने निधो गरिसकेका छैनन् । पार्टी स्रोतका अनुसार उनको सबैभन्दा पहिलो प्राथमिकता भने चितवन हो । त्यसमा पनि चितवन–३, जहाँबाट माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दिने अनौपचारिक घोषणा गरिसकेका छन् ।

लामो समयदेखि चितवन–३ मा मतदाता प्रभावित पार्न प्रचण्डले राजनीतिक र आर्थिक सबै प्रयास खन्याइरहेका छन् । उनकी छोरी रेणु दाहाल भरतपुर महानगरकी मेयर हुन्, जुन चितवन–३ अन्तर्गत नै पर्छ । यस क्षेत्रमा माओवादीले रेनुलाई बुबाको चुनावी कमाण्डरसमेत तोकिसकेको छ ।

अर्कोतर्फ प्रचण्डलाई सत्तारुढ गठवन्धनको समर्थन हुनेछ । कांग्रेस कार्यकर्ताले ‘माथि’को मिलेमतो स्वीकार्दै इमान्दारिपूर्वक हँसिया हतौडामा भोट हाले प्रचण्डको जित कठिन छैन । तर, रविमा भने प्रचण्डलाई पन्छाएर संसदमा आफ्नो स्थान बनाउने महत्वाकांक्षा बढ्दो छ । यो एकप्रकारले उनका लागि राजनीतिक जुवा पनि हो ।

रविले चितवन–३ बाट लड्न चाहनुका मुख्य दुई कारण छन् । पहिलो–त्यहाँ आफ्नो पार्टीका पक्षमा उनले देखेको माहोल । दोस्रो–‘टेस्टेड एन्ड फेल्ड’ भइसकेका पूर्वप्रधानमन्त्रीहरुमध्ये एकजनालाई चुनौती दिने हुटहुटी ।

प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमध्ये एकजनालाई हराएर आफूलाई प्रुफ गर्न उत्साही बनेका छन् रवि । त्यसमा पनि धेरै समर्थकहरुले चितवन रोज्न आग्रह गरिरहेका छन् । पार्टीबाहिरका शुभेच्छुकहरुको ठूलो संख्या पनि प्रचण्डविरुद्ध रवि उठेको हेर्न आतुर छ ।

राजनीतिक सनसनी उत्पन्न गरेर आफ्नो पार्टीलाई चाँडै जनतामाझ स्थापित गराउनु पनि रविको अर्को उद्देश्य हो । आफू हार्नसक्ने जोखिम मोलेर ‘पार्टी जिताउने’ उनले बताइरहेका छन् । यद्यपि, पार्टीभित्रको कोर टिम भने उनीसँग कन्भिन्स छैन ।

एक केन्द्रीय सदस्य भन्छन्, ‘अहिले हाम्रो पार्टीलाई संसदमा पुर्याउने अभिभारा उहाँकै काँधमा छ । चुनावी अभियानका क्रममा पनि उहाँले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित हुन सक्ने अवस्था छैन । तर, प्रचण्डविरुद्ध उम्मेदवारी दिनुभयो भने त्यही क्षेत्रमा धेरै समय दिनुपर्ने हुन्छ र अन्यत्र हिँड्न पाउनुहुन्न । त्यही भएर सकभर काठमाडौंमै उम्मेदवारी दिन केही नेताहरुले सुझाव दिइरहनुभएको छ । काठमाडौंमा लड्नुभयो भने अन्य जिल्लाहरुमा आउजाउ गर्न पनि सजिलो हुन्छ ।’

रविको मतदाता नामावली काठमाडौंको ३ नम्बर क्षेत्रमा छ । उनले सुरुमा यही आफ्नै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने मनसाय बनाएका थिए । तर, आफ्नै दाजु हरिशरण लामिछानेले यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेपछि उनी अलमलमा परे । त्यसयता रवि अनिर्णित बनेका छन् । प्रचण्डविरुद्ध लड्ने मनस्थिति परिवर्तन गरेको खण्डमा उनले काठमाडौंको २, ३ वा ५ नम्बरबाट उम्मेदवारी दिने सम्भावना रहेको स्रोत बताउँछ ।

Source: Nepalpress

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement