0Shares

काठमाडौं : फोटोकपी सेन्टरबाट सुरु भएको निमा प्रकाशन ई–लर्निङसम्म आइपुगेको छ। ३५औं वसन्त पार गर्दा निमाले प्रकाशन क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ। विद्यार्थी, अभिभावक र शिक्षकको समेतको मन जित्न सफल भएको छ।

हरिमान प्रधानले २०४५ सालमा पुतलीसडक अगाडि ‘निमा फोटोकपी सेन्टर’ स्थापना गरेका थिए। फोटोकपी मेसिन राखेपछि पद्मकन्या, शंकरदेव, त्रिचन्द्रलगायत आसपासका विद्यार्थी आउन थाले। प्रधानले फोटोकपी मेसिन खरिद, घरभाडा तथा अन्य खर्चसमेत ६० हजार लगानी गरेका थिए। टाढा–टाढाबाट विद्यार्थीहरू प्रश्नपत्र लिन आउन थाले। पुराना प्रश्नपत्र बिक्री गर्ने भएकाले फ्रन्ट डेस्क अगाडि ‘ओल्ड इज गोल्ड’ लेखेका थिए। ‘ओल्ड इज गोल्ड’ उनको ब्रान्ड बन्न पुग्यो। ‘पुराना प्रश्नपत्र पाइन्छ भन्ने थाहा पाएपछि महेन्द्रनगरदेखिका विद्यार्थी आए,’ प्रधान भन्छन्, ‘त्यसपछि शिक्षा क्याम्पस ताहाचल, आरआरलगायत कलेजका शिक्षकसँग सम्पर्क गरी प्रश्नपत्र खोजेँ। गणित, शिक्षा, अंग्रेजी, अर्थशास्त्र, लेखा विषयका प्रश्नपत्र फोटोकपी गरेर बेच्न थालेँ।’

भ्याइनभ्याइँ भएपछि उनले २०४६ सालमै अर्को फोटोकपी मेसिन थपे। फाइदा नभए पनि प्रतिक्रियाले हौस्याइरहेको थियो। ‘ओल्ड इज गोल्ड’ पुस्तक निकाले। त्यसपछि विद्यार्थीलाई आधा सस्तोमा बिक्री गर्न थाले। पहिला ४० रुपैयाँ पर्नेमा विद्यार्थीले १५ रुपैयाँमै पाउन थाले। यसले निमाको लोकप्रियता झनै बढायो। आईए/बीए, आईकम, आईएड/बीएडको प्रश्नपत्र पुस्तकका रूपमा निकालेर बिक्री गरे। २०४९ सालमा गेस पेपर पनि निकाल्न थाले। सुरुमा लेटर प्रेसबाट पुस्तक निकालेका प्रधान अपसेट प्रेसले सहज बनाएको बताउँछन्। गेस पेपरले धेरै विद्यार्थीलाई सहज बनाएको सम्झन्छन्, उनी। ‘गेस पेपरले आक्रमक बजार लिएसँगै निमाले गाइड र म्यानुअल बुक पनि निकालें,’ उनले भने, ‘अनि शंकरदेव र पीके क्याम्पसबाट अर्थशास्त्रका पुस्तक र प्राक्टिस बुक पनि निकालेको थिएँ।’

निमा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत निश्चल प्रधानका अनुसार निमाले २०७७ देखि कक्षा १—१० को पाठ्यपुस्तक निकाल्न सुरु गरेको थियो। ‘वर्षांैदेखिको भरोसा जित्न सकेकोमा हामीलाई गर्व र आत्मसन्तुष्टि छ’ प्रधानले भने। ओल्ड इज गोल्डबाट विद्यार्थीलाई गृहकार्य दिन, अभ्यास गराउन सजिलो भएको शिक्षकले प्रतिक्रिया दिँदा खुसी लागेको प्रधान बताउँछन्। प्राक्टिस बुकमा च्याप्टरवाइज हरेक विषयको प्रश्न राखिदिँदा शिक्षकलाई टर्मिनल प्रश्न बनाउन सजिलो भएको प्रधानले बताए। कतिपयले निमाको पुस्तक पढेर विद्यार्थीले टेक्स्ट बुक नपढेको आरोप लगाए पनि वास्तविकता त्यस्तो नभएको प्रधान बताउँछन्। भन्छन्, ‘ट्युसन, कोचिङ पढ्न नपाएका विद्यार्थीलाई हाम्रो गेसपेपर पढेर आफ्नो कमजोरी पत्ता लगाउन र सुधार्न पाएका छन्।’

निमाले परीक्षा सुरु हुनभन्दा केही महिनाअघि मात्रै गेस पेपर निकाल्छ। ओल्ड इज गोल्डबाट आइडिया लिन नसकेकालाई गेसपेपरले परीक्षामा सहज बनाएको छ। २०७२ र २०७६ मा प्रकाशन बन्द गर्न सरकारले अवरोध सिर्जना गरेको थयो। यसमा भने उनलाई अझै चित्त दुखाइ छ।

२०७५ सालमै निमा एकेडेमीमार्फत ई–लर्निङ सुरु गरेको छ। अध्ययनको दायरा फराकिलो पार्न र पुस्तकमा पढेका नयाँ–नयाँ कुरा खोज्न इ–लर्निङमा प्रवेश गरेको प्रधान बताउँछन्। निमाको भिडियो हेरेर पढ्न सकिने, नबुझ्नेका लागि टेक्स्ट मेटेरियल, एनिमेसन र कलरफुल चित्र उपलब्ध छन्। प्राक्टिसका लागि क्विज र गेम पनि राखिएको छ।

पुस्तक पढ्न गाह्रो मान्नेले समेत डिजिटल एजुकेसनमा चासो दिइरहेकाले डिजिटलतर्फ अघि बढेको निमाले जनाएको छ। ‘घोकेर होइन, हाँसीहाँसी बुझेर पढोस् भन्ने हाम्रो उद्देश्य छ’ प्रधान भन्छन्। शिक्षा प्रणालीमा सुधार ल्याउन योजना रहेको उनले सुनाए।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement