0Shares

भरतपुर, ८ साउन । नेपाल नेत्रज्योति संघद्वारा संचालित भरतपुर आँखा अस्पतालले आईएसओ ९००१ः२०१५ (ISO 9001:2015) गुणस्तर चिन्ह प्राप्त गरेको छ । अस्पतालले गुणस्तरीय व्यवस्थापन गरे वापत यो अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गरेको हो ।

भरतपुरमा आज आयोजित एक कार्यक्रममा युनाईटेड रजिष्ट्रार्ड (युआर) का कन्ट्री डाईरेक्टर प्रकाश पौडेलले नेपाल नेत्रज्योति संघ तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज धरेललाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा प्रमुख अतिथि भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अस्पतालले अन्तर्राष्ट्रिय गुणस्तर पाउनु खुशीको कुरा भएको बताउनुभयो । अस्पतालले लिएको दिगो विकासको लक्ष्य प्राप्तीको कामना गर्दै प्रमुख दाहालले यो चिन्ह प्राप्तीसँग चुनौती थपिएको बताउनुभयो । उहाँले भन्नुभयो “यो गुणस्तर चिन्हले भरतपुरलाई अन्तर्राष्ट्रिय जगतमा चिनाएको छ ।”

भरतपुर महानगर र भरतपुर आँखा अस्पताल सहयात्री भएको बताउँदै उहाँले भन्नुभयो “अस्पतालको भवन निर्माणका लागि केही प्रक्रिया अगाडि बढेका छन् । हामीले गरेको प्रतिबद्धता अनुसारको त्यो जिम्मेवारी पूरा गर्छाै ।”

नेत्रज्योति संघले महानगरलाई लगाएको गुन कहिल्यै नबिर्सने बताउँदै उहाँले महानगर संघसँग ऋण भएको बताउनुभयो । भरतपुर आँखा अस्पताल अन्तर्राष्ट्रिय स्तरको अस्पताल बन्न लागेको बताउँदै प्रमुख दाहालले भन्नुभयो “जुनसुकै विशेषज्ञ सेवा लिन अब भरतपुरबाट अन्यत्र जानु पर्दैन ।”

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले अस्पतालले प्राप्त गरेको अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह खुशीको विषय भएको बताउँदै यो खुशियालीलाई कायम राख्नुपर्ने बताउनुभयो । अस्पताले प्राप्त गरेको सफलताको प्रशंसा गर्दै अधिकारीले आगामी दिनमा अस्पतालको सफलताको कामना गर्नुभयो ।

नेपाल नेत्रज्योति संघका केन्द्रीय महासचिव भरतबाबु चन्दले अस्पतालको सेवामा अझै गुणस्तरीयता विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “हामी गुणस्तरमा सम्झौता गर्दैनौं, भरतपुर आँखा अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने सोच छ ।” नेपालको आँखा उपचारको क्षेत्रमा संघद्वारा संचालित अस्पतालहरुको सेवा ९० प्रतिशत रहेको जानकारी दिंदै चन्दले अस्पतालको स्तरोन्नतीका लागि केन्द्रबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संघका केन्द्रीय कोषाध्यक्ष द्रोण गुरागाईले अस्पताल अझै सशक्त रुपमा अगाडि बढ्न सकोस भन्ने शुभकामना दिनुभयो । युआरका कन्ट्री डाईरेक्टर पौडेलले अस्पतालभित्र विधिको शासन रहेको बताउनुभयो । उहाँले भन्नुभयो “गुणस्तरीय सेवा, कर्मचारीको निरन्तर क्षमता अभिबृद्धि, विश्वस्तरीय प्रविधिको प्रयोग, विधिसम्मत संचालन, सेवाग्राहीको सन्तुष्टिले अस्पतालले यो गुणस्तर चिन्ह प्राप्त गरेको हो ।” अस्पतालले शाखा विस्तार गर्दै लगेको र गाउँगाउँमा सेवा दिंदै आएको बताउँदै पौडेलले भन्नुभयो “प्रविधिलाई आधुनिकिकरण गर्दै अघि बढ्ने र गुणस्तर नियन्त्रण गरी प्रभावकारी विधिको शासनमा प्रतिबद्धताले अस्पताललाई यो चिन्ह दिलायो ।”

नेपालका एक हजारभन्दा बढी संस्थालाई यो गुणस्तर चिन्ह प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । यस संस्थाको बेलायतमा मुख्य कार्यालय रहेको छ ।

सो अवसरमा भरतपुर महानगरपालिका वडा नं. १० का वडाअध्यक्ष परमेश्वर खनाल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, नेत्रज्योति संघ चितवनका पूर्व अध्यक्ष प्रभातकुमार जोशी लगायतले बोल्नु भएको थियो ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष धरेलले लामो समयको अथक प्रयासपछि अन्तर्राष्ट्रिय स्तरको गुणस्तर चिन्ह आईएसओ ९००१ः२०१५ प्राप्त गर्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो “गुणस्तरीय व्यवस्थापन रहेकै कारण हामीले यो चिन्ह प्राप्त गरेका हौं ।” उहाँले अस्पताल स्थापनाकालदेखि हालसम्म अस्पतालको विकासमा क्रियाशील रहनु हुने नेपाल नेत्रज्योति संघका पूर्व र वर्तमान अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुज्यूहरु, अस्पताल सञ्चालक समिति, चिकित्सक, कर्मचारी तथा दाताहरुप्रति विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा प्रा.डा.सोनु दुलालले स्वागत, संघका जिल्ला कोषाध्यक्ष तेजेन्द्र खड्काले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सहसचिव केशव अधिकारीले संचालन गर्नुभएको थियो ।

नेपाल नेत्रज्योति संघद्वारा संचालित भरतपुर आँखा अस्पताल बि.सं. २०४४ साल चैत १८ गते स्थापना भएको हो । ३५ वर्षमा अस्पतालले २३ लाखभन्दा बढी बिरामीलाई सेवा दिएको छ । त्यस मध्ये २२ लाख २० हजार ८६३ जनालाई बहिरंग सेवा (ओपिडि) सेवा दिएको छ भने १ लाख ७ हजार ६३६ जनाको शल्यक्रिया गरेको छ । यस्तै गत आर्थिक वर्ष २०७८।७९ मा १ लाख ९६ हजार ४०० बिरामीलाई ओपिडि सेवा र ९ हजार ३२८ जनाको शल्यक्रिया गरिएको अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिनुभयो ।

‘सेन्टर अफ एक्सिलेन्स फर आई केयर’ भन्ने दृष्टिकोण राखी उच्च गुणस्तरको आँखा उपचार सेवा दिने उद्देश्य सहित सञ्चालित यस अस्पतालमा हाल ६२ शैया छन् भने ११४ जना चिकित्सक कर्मचारी कार्यरत हुनुहुन्छ ।

अस्पतालले मध्य नेपालका १२ भन्दा बढी जिल्लामा आँखा उपचारको सेवा दिंदै आएको छ । बि.सं. २०४४ साल चैत १८ गते भरतपुर महानगरपालिका वडा नं. १० मा स्थापना भएको भतपुर आँखा अस्पताल अन्तर्गत भरतपुर उकालोमा बहिरंग विभाग, तीन वटा सेकेण्डरी अस्पताल र १० वटा आँखा उपचार केन्द्र हाल सञ्चालनमा रहेका छन् । चितवन सहित ६ जिल्लामा अस्पताल र सेवा केन्द्र रहेका छन् । भारतयि नागरिक सहित १२ जिल्लाका वासिन्दाले अस्पताल र सेवा केन्द्रहरुबाट प्रत्यक्ष रुपमा सेवा पाएका छन् ।

हाल अस्पतालले भरतपुर महानगरपालिका वडा नं. १० स्थित भरतपुर उकालोमा चिजकुमार विष्णुकुमारी बहिरंग विभाग, पर्साको ठोरी, नवलपरासीको कावासोती र बाराको सिम्रनगढमा सेकेण्डरी अस्पताल संचालनमा ल्याएको छे । त्यस्तै अस्पताल अन्तर्गत चितवनको चनौली, माडी, कुरिनटार, रत्ननगर, पर्सा, धादिङको बेनिघाट र सल्यानटार, नवलपुरको चोरमारा र होप्सीकोट र सिन्धुलीको दुधौलीमा आँखा उपचार केन्द्र संचालनमा रहेका छन् ।

सेकेण्डरी अस्पतालमा सबै सेवा उपलब्ध गराईएको छ भने उपचार केन्द्रमा शल्यक्रिया बाहेकका सेवा दिईदै आएको छ ।

हाल अस्पतालमा बहिरंग सेवा अन्तर्गत विशेषज्ञ सेवाहरु, दृष्टि पर्दा, कर्निया, आँखाको प्लास्टिक सर्जरी, बाल आँखा रोग, कन्ट्याक्ट लेन्स, न्यून दृष्टि, अर्थाेअप्टीक्स सेवाहरु उपलब्ध छन् । यस्तै अन्तरंग, २४ सैं घण्टा आकस्मिक, प्रयोगशाला, औषधि पसल, चस्मा पसल, प्राईभेट एसी क्याबिन, आँखा स्वास्थ्य शिक्षा तथा परामर्श सेवा संचालन गर्दै आएका छौं ।

अस्पतालले सामुदायिक आँखा सेवाहरु पनि संचालन गरेको छ । डाईग्नोस्टिक स्क्रिनिङ एण्ड ट्रिटमेन्ट, शल्यक्रिया शिविर, विद्यालय आँखा स्वास्थ्य कार्यक्रम, चस्मा जाँच तथा न्युन दृष्टी शिविर, मधुमेह भएको बिरामीहरुको आँखा जाँच शिविर, आँखा स्वास्थ्य जनचेतना शिविर संचालन गर्दै आएका छ । अस्पतालमा विभिन्न शैक्षिक कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement