0Shares

चितवन  । रोजगारीको अवसर खोज्दै जिविकोपार्जनको लागि बाध्य भएर विदेशिदा जोखिम वृद्धि भएको छ । रोजगारमा पुगेका महिलाहरु यौन तथा श्रम शोषणमा पर्दा सामाजिक समस्या विकराल हुदै गएकोमा समेत सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
मानव अधिकारका लागि जनमञ्च ‘पिपुल फोरम’द्वारा शनिबार भरतपुरमा आयोजित ‘वैदेशिक रोजगार कानुनसम्बन्धी सञ्चारकर्मीहरुका लागि अभिमुखीकरण कार्यक्रममा बोल्ने अधिकांशले यो विषयलाईउठाएका छन् ।
कार्यक्रममा बोल्दे कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले वेरोजगारीले गर्दा देशका युवाशक्तिलाई विदेश जानबाट सरकारले रोक्ने कार्यक्रम ल्याउन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
रोजगारको खोजीमा विदेशीन बाध्य युवाहरुलाई नेपालमानै काम दिने, उद्दम गरेर स्वरोजगार गर्ने वातावरण राज्यले गर्न नसक्दा वैदेशिक रोजगारको कारण मानवअधिकार हनन्का घटना वृद्धि हुन थालेको बताउनुभयो । सरकारले श्रमका लागि बाहिर जानुपर्ने अवस्थालाई रोक्न नसके पनि आप्रवासी नेपालीलाई सुरक्षित रुपमा परिस्थिति निर्माण गराउन आग्रह गर्नुभयो ।

कार्यक्रममा अधिवक्ता तथा पिपुल फोरमका संस्थापक अध्यक्ष सोम लुइँटेलले वैदेशिक रोजगारका क्षेत्रमा सावधानी अपनाउन नसक्दा समस्यामा पर्ने गरेको बताउनुभयो । वैदेशिक रोजगार व्यवस्थापनमा संस्थागत समन्वय र क्षमताको कमीका कारण विदेशमा नेपालीहरुको श्रम शोषण तथा चेलिबेटी वेचबिखनसमेत हुने पाइएको जानकारी दिनुभयो ।
रोजगारीका लागि अधिकांश युवाहरु विदेश जानुभन्दा अघि राम्रोसँग नबुझ्ने, नक्कली कागजात वा गलत प्रक्रिया अपनाउने, भिजिट भिसा वा इन्ट्री भिसाको वैदेशिक रोजगार विभागको स्विकृतिबिना रोजगारका लागि विदेश जाँदा नेपालीहरु फस्ने गरेको अधिवक्ता लुइँटेलले बताउनुभयो ।
धेरैजसो खाडी मुलुकमा गएका युवाहरुको श्रम शोषणमा पर्ने गरेको जानकारी दिइएको थियो । नेपालबाट एजेन्टले एउटा कामका लागि भनेर पठाउने विदेश गइसकेपछि अर्कै काम पर्ने, भनेको जति तलब नपाउने, बिचमै कम्पनी बन्द हुने र कामदार आफैँले काम खोज्नुपर्ने वा काम नपाए छोटो समयमै स्वदेश फर्किनुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७७÷०७८को भदौमा कोभिड १९ संकट व्यवस्थापन केन्द्रले सार्वजनिक गरेको तथ्यांक अनुसार युएइबाट १ लाख ६० हजार ४७० जनाको उद्धार गरिएको थियो । त्यस्तै, कतारबाट एक लाख ४८ हजार ७९०, साउदी अरबियाबाट ५२ हजार ७६८, कुवेतबाट २९ हजार ५८२, ओमानबाट ७ हजार ३५१, बहराइनबाट १ हजार ७०७, मलेसियाबाट ६१ हजार ९६१ र अन्य मुलुकबाट १ लाख ९९ हजार २४ जनाको उद्धार गरिएको थियो ।
कानुनकर्मीद्वारा २०६० सालमा स्थापना गरिएको पिपुल फोरमले विगत १९ वर्षदेखि रोजगारीको सिलसिलामा विदेशमा रहेका, वैदेशिक रोजगारीमा जान चाहने र वैदेशिक रोजगारीबाट फर्केका कामदारलाई निःशुल्क कानूनी परामर्श दिँदै आएको छ । यस संस्थाले हालसम्म ७७ जिल्लाका २६ हजार बढी व्यक्तिलाई कानुनी सहायता गरेको र ९५ करोड ३२ लाख रुपैयाँ भन्दा बढी क्षतिपूर्ति दिलाएको छ ।
भरतपुरमा शनिबार भएको प्रशिक्षण कार्यक्रममा पिपुल फोरमका सस्थापक अध्यक्ष सोम लुइटेल, कार्यक्रम संयोजक पुरुषोतम पराजुली, पत्रकार रुद्र खड्काले प्रशिक्षण दिनुभएको थियो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement