जापानमा सिन्जो आबे हत्या प्रकरण : सुरक्षित देशमा असुरक्षित घटना
हरिप्रसाद पोखरेल
विज्ञान र प्रविधिको विकाससंगै नयाँ नयाँ अनुसन्धान गर्ने क्रममा यतिबेला जापान अगाडि बढिरहेको छ ।
जापानले मानव छालाको जीवित कोशिकाबाट तयार गरिएको पदार्थलाई रोबोटको औंलामा चढाएर मानव रोबोट बनाउनेदेखि पृथ्वीबाट चन्द्रमा र मंगल ग्रहसम्म ‘बुलेट ट्रेन’ चलाउने योजना हामी सबैका लागि चासो र आश्चर्यको विषय बनेको छ । यसले के देखाउँछ भने विज्ञान र प्रविधिको क्षेत्रमा जापानले निकै फड्को मारेको छ र अझै पनि विश्वलाई आश्चर्यचकित पार्ने हिसाबले आफ्ना गतिविधिहरु अगाडि बढाउँदैछ । यी सबै हाम्रा लागि जापानले सोँचेको नयाँ आश्चर्य र अनौठो काम हो ।
जापानसम्बन्धी विविध आश्चर्यमध्ये हालै जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको अपत्यारिलो हत्याको खबरले अहिले विश्वलाई नै अचम्म बनाएको छ ।
जापानको प्रविधि, कानुन, अपराध रोक्ने खालका नीति र शिक्षा प्रणालीले यहाँ यस्तो प्रकृतिको घटना हुनुलाई असामान्य रुपमा लिईन्छ । यसैले सार्वजनिक समारोहमा रहेका बखत पूर्व प्रधानमन्त्रीको हत्या हुनु आश्चर्यजनक घटना नै थियो ।
जापानको प्रगतिमा क्यामरा र प्रविधिको अहम भूमिका मानिन्छ, तर यहाँका जनताको सुरक्षाका लागि प्रविधिलाई मात्रै पूरा श्रेय दिन नसकिने कुरालाई आबेमाथि भएको घटनाले प्रमाणित गरिदिएको छ । अझ आबेलाई जापानकै सुरक्षा निकायमा काम गरिसकेका व्यक्तिले घरेलु बन्दुक तयार पारी मारेका थिए ।
जापानी सञ्चारमाध्यमको विवरणअनुसार ४१ वर्षिय ती व्यक्ति सरकारी सेना बराबर मानिने मुलुकको आत्मरक्षा बलका एक सदस्य पनि थिए । हत्या र हत्याका प्रयासका यी शृङ्खलाहरुका पछाडि के कस्ता प्रकृति र आशय रहेका थिए भन्ने विषयले महत्वपूर्ण अर्थ राख्ने जानकारहरु बताउँछन् ।
यसै सन्दर्भमा आबे हत्या प्रकरणमा संलग्न भनिएका तेचुया यामागामीको बाहिर आईसकेका र आउन बाँकी सबै बयानबाट उनको हत्याका थप रहस्यहरु खुल्दै जानेछन् । जसले सुरक्षाका सवालमा जापानलाई अझ गम्भीर हुन मद्दत पु¥याउने नै छ । यद्दपि सुरक्षा चुनौतीको गम्भीर बिषयमा भने जापान सरकारको अवश्य ध्यानाकर्षण हुन पुगेको विश्वासलाई नकार्न सकिँदैन ।
आबे घटनाको विवरण गएको असार २४ गते शुक्रबार अर्थात् ८ जुलाइ २०२२ को विहान जापानको नारा सहरमा आबेले चुनावी भाषण गरिरहेका थिए । भाषण गर्दै गर्दा उनीमाथि गोली प्रहार भएको थियो । उनलाई छातीमा गोली लाग्यो । तत्काल एम्बुलेन्समा हालेर लगियो । जापानको सरकारी सञ्चारमाध्यम एनएचकेले दिएको जानकारी अनुसार अस्पताल पु¥याउँदासम्म बोलिरहेका उनी त्यसपछि गम्भीर हुँदै गए । अन्ततः उनको मृत्यू भयो ।
आबेलाई गोली हान्ने ४१ वर्षीय तेचुया यामागामीलाई पनि प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो । हत्या, हिंसा, आतंक, उत्पात, विद्रोह, कोलाहल, खल्लीखल्ली जस्ता गतिविधिबाट सँधै टाढा रहन रुचाउने जापान र जापानी जनतालाई यो घटनाले अत्यन्तै अपत्यारिलो र हृदयविदारक बनाइदिएको छ ।
मानव इतिहासकै सबैभन्दा भयानक युद्धका बेला हिरोसिमा र नागासाकीले व्यहोरेको बिभत्स घटनापश्चात युद्ध र आतंकबाट जापान निकै टाढा थियो । तर देशका पूर्वप्रधानमन्त्री आबे जस्ता उच्च पदस्थ राजनीतिज्ञको दिनदाहाडै भएको हत्या प्रकरणले जापानको शान्ति सुरक्षाको बागडोर सम्हाल्दै आएका अधिकारीहरुको जिम्मेवारीमाथि गम्भीर प्रश्न चिन्ह भने खडा भएको छ र जापानको सुरक्षा चुनौतिमाथि नै गम्भीर प्रहार भएको छ । आबे हत्या प्रकरणमा संलग्न भनिएका तेचुया यामागामीको बाहिर आईसकेका र आउन बाँकी सबै बयानबाट उनको हत्याका थप रहस्यहरु खुल्दै जानेछन् । यसैले सुरक्षा चुनौतीको गम्भीर बिषयमा भने जापान सरकारको अवश्य ध्यानाकर्षण हुन पुगेको विश्वास गर्न सकिन्छ ।
आबे को हुन् ?
आबे जापानका पूर्व प्रधानमन्त्री हुन् । सन् १९५४ मा जन्मिएका आबेको ६७ बर्षको उमेरमा निधन भएको हो । उनले सन् २००६ देखि २००७ र सन् २०१२ देखि २०२० सम्ममा दुई पटक प्रधानमन्त्रीको कार्यकाल सम्हालेका थिए । यस हिसाबले उनी जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका र आम नागरिकका विचमा निकै लोकप्रिय नेता भएको प्रमाणित गर्छ । दुःखमा जनतालाई नजिकबाट साथ दिने नेताको छवि बनाएका आबेले आफ्नो कार्यकाल बाँकी रहँदै स्वास्थ्य समस्याका कारण राजीनामा दिएका थिए ।
राजीनामा दिएपनि उनी आफ्नो र देशको जिम्मेवारीप्रति भने सधैँ इमान्दार रहिरहे । यसैले त राजनीतिमा प्रत्यक्ष भूमिकामा नदेखिने निर्णय गरेका लिवरल डेमोक्रेटिक पार्टीका नेता आबेले आफ्नो पार्टीलाई विजयी गराउन चुनावी सभामा सम्बोधन गरिरहेका बेला जिन्दगीबाटै विदा लिनुप¥यो । उनले सेइकेइ विश्वविद्यालयबाट सन् १९७७ मा स्नातक गरेका थिए । त्यसपछि उनले सन् १९७९ मा जापानकै नेतृत्वदायी स्टील उद्योग ‘कोबे स्टील’मा काम गरेका थिए ।
राजनीतिमा भने उनी सन् १९८२ मा तत्कालिन विदेश मन्त्रीको सहयोगी भएर प्रवेश गरेका थिए । उनी सन् १९९३ देखि निरन्तर नौ पटक सांसद भएका थिए । उनले पार्टीमा सामाजिक मामिला विभागको निर्देशक र महासचिवको जिम्मेवारी निर्वाह गरेका थिए भने सरकारी भूमिकामा मन्त्रीपरिषद्को उप प्रमुख सचिव र प्रमुख सचिव भएर काम गरेका थिए ।
मन्त्रीपरिषदमा भने २००५ मा उनले पहिलोपटक सहभागी हुने मौका पाएका थिए । उनी पहिलोपटक सन् २००६ मा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । त्यतिबेला उनी जापानकै सबैभन्दा कम उमेरका प्रधानमन्त्री बनेका थिए । अस्वस्थताका कारण त्यो कार्यकाल उनको २००७ सम्म मात्रै रह्यो ।
आन्द्राको समस्या देखिएपछि उनले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । त्यसपछि निको भएर फेरि राजनीतिमा फर्किएका आबे आफ्नो पार्टीलाई अत्यधिक मतका साथ विजयी गराएपछि सन् २०१२ देखि २०२० सम्म निरन्तर जापानको प्रधानमन्त्री बने । उनले पछिल्लो पटक पनि कार्यकाल बाँकी रहेकै बेला अस्वस्थताका कारण सन् २०२० को अगस्ट २४ मा प्रधानमन्त्री पद स्वेच्छाले त्यागेका थिए । आबेले आफ्ना विश्वास पात्र तथा निकटतम सहयोगी योशिहिदे सुगालाई आफ्नो उत्तराधिकारी बनाएका थिए ।
आफ्नो मौलिक आर्थिक रणनीति र कट्टर राष्ट्रवादी नीतिका कारण उनको छुट्टै पहिचान बनेको थियो । उनको राष्ट्रवादी धारका कारण उनले चीन र दक्षिण कोरियासँग सुमधुर सम्बन्ध कायम गर्न सकेका थिएनन् । राजनीतिक विरासत बोकेको परिवारका सदस्य भई जनताका विचमा लोकप्रिय रहेकाले उनलाई ‘जनताका राजकुमार’को उपमा पनि दिइएको थियो । उनका बुवा शिनतारो आबे जापानको विदेशमन्त्री बनेका थिए भने हजुरबुवा नोबुशुके किशी प्रधानमन्त्री थिए ।
जापानको अर्थतन्त्रलाई चलायमान बनाउने र देशको अर्थप्रणालीमा मौलिकता भर्ने उद्देश्यले उनले प्रवर्द्धन गरेको आबेनोमिक्सका कारण धर्मराएको आर्थिक स्थितिमा सुधार ल्याउने काम गरे । कोभिड नियन्त्रणमा उच्च सतर्कता देखाए । कोभिडका बेला राहत वितरणमा पारदर्शीता अपनाए । जापानी युवा पुस्तालाई राजनीतिमा आकर्षित गरे । राष्ट्रिय या अन्तर्राष्ट्रिय सम्बन्धलाई थप सन्तुलित र मजबुत बनाए । उनले निर्वाह गरेका यी सबै भूमिका र योगदानका बारेमा जापानको इतिहासमा सुन्दर अक्षरले अवश्य लेखिने नै छ । समकालिन विश्वमा उनको लोकप्रियता जबरजस्त रूपमा चुलिएको थियो ।
राजतन्त्रात्मक मुलुक जापानको राजनीतिक परिवारका सदस्य आबेले अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रिय छविलाई उच्च बनाए । सिन्जो आबे अबदेखि जापानको प्रधानमन्त्री नबन्न सक्छन्, तर उनी अझै पनि जापानी सार्वजनिक जीवनमा एक विशाल व्यक्तित्व हुन् र सम्भवतः पछिल्लो तीन दशकको जापानी राजनीतिमा सबैभन्दा चिनिने व्यक्ति बनेर स्थापित बनिसकेका छन् ।
साठी वर्षपछिको आक्रमण
पूर्वप्रधानमन्त्री आबे जस्ता उच्च पदस्थ राजनीतिज्ञहरूमाथि साँघातिक आक्रमण जापानको इतिहासमा विरलै भएका छन् । तर यस्ता घटनाको उदाहरण हुँदै नभएका भने होइनन् । विगतमा पनि देशका नेताहरूको धेरै हत्या र हत्याका प्रयासहरू भएका छन् ।
दोस्रो विश्वयुद्धपछिको अवधिमा जापानमा राजनीतिज्ञहरू तथा अन्य प्रमुख व्यक्तिहरूमाथि विभिन्न समयमा आक्रमणहरू भएका छन् । जुलाई १९६० मा प्रधानमन्त्री किसी नोबुसुकेको पनि हत्याको प्रयास भएको थियो । उनलाई आफ्नै निवास बाहिर आक्रमणकारीले ६ पटक तिघ्रामा चक्कु हानेका थिए । उनी शिन्जो आबेका हजुरबुवा हुन् । अक्टोबर १९६० मा जापान समाजवादी पार्टीका नेता आसानुमा इनेजिरोको भाषणको क्रममा तरवार प्रहार गरी हत्या गरिएको थियो ।
जुलाई १९६३ मा निर्माणमन्त्री कोनो इचिरोको घरमा आगजनी गरी हत्याको प्रयास गरिएको थियो । मार्च १९६४ मा अमेरिकी राजदूत एडविन रिसचाउर दूतावास बाहिर एक जापानी युवाको चक्कु प्रहारबाट गम्भीर घाइते भएका थिए । जनवरी १९९० मा नागासाकीका मेयर मोतोशिमा हितोशी आक्रमणकारीको गोलीले गम्भीर घाइते भएका थिए ।
अक्टोबर १९९० मा प्रतिनिधि सभाका सांसद निवा हृयोसुके, नागोयाको मोरियामा सेल्फ डिफेन्स फोर्स बेसमा आयोजित समारोहमा छुरा प्रहारबाट गम्भीर घाइते बनेका थिए । उनको उक्त्त घटनाको १२ दिनपछि मृत्यु भएको थियो । मार्च १९९२ मा लिबरल डेमोक्र्याटिक पार्टीका उपाध्यक्ष कानेमारु शिनलाई भाषण गर्ने क्रममा गोली हानिएको थियो ।
गोली लेक्टरन (भाषण गर्दा माइक, नोट राख्न प्रयोग गरिने स्ट्याण्ड) मा लागेकोले उनी घाइते हुनबाट बचेका थिए । अक्टोबर १९९६ मा मिताके, गिफु प्रिफेक्चरका मेयर यानागावा योशिरोलाई उनको घर मै गोली हानेर आक्रमण गर्दा गम्भीर चोट लागेको थियो ।
अक्टोबर २००२ मा प्रतिनिधि सभाका सांसद इसि कोकीलाई उनको घर अगाडि छुरा प्रहार गरी हत्या गरिएको थियो ।
अप्रिल २००७ मा नागासाकीका मेयर इटो इचोलाई पुनः चुनावको लागि प्रचार गर्दा संगठित अपराध समूहका सदस्यले गोली हानेर हत्या गरेका थिए ।
जापानमा उच्च ओहोदाका व्यक्तिहरुमाथि भएका हत्या र हत्याका प्रयासका यी शृङ्खलाहरुका पछाडि के कस्ता प्रकृति र आशय रहेका थिए भन्ने बिषयले भने महत्वपूर्ण अर्थ राखिरहेको छ ।
असुरक्षित बनाउने प्रयास
जापान सुरक्षित देश भएकैले होला, सबैको अहिले एउटै प्रश्न छ –‘जापानमा यस्तो घटना कसरी हुनसक्छ ?’ सबैले अहिले यसैबारे धेरै सोचिरहेका छन् । यसअघि यस्तो हिंसात्मक अपराध पनि हुन सक्ला र ? भनेर कसैले सोँचेनन् ।
अझ पूर्व प्रधानमन्त्री जस्तो व्यक्तित्वमाथि भएको यो घटनाले त झनै सबैलाई स्तब्ध तुल्याइरहेको छ । यसैले के अब जापान असुरक्षित भएकै हो त ? भन्ने आशंका सबैका सामु उब्जनु पनि स्वाभाविकै हो । जापानमा याकुजा भनिने जापानको हिंसात्मक अपराधी समूह छ । तर, अधिकांश मानिस उनीहरुको सम्पर्कमा आउँदैनन् । याकुजा पनि बन्दुकबाट टाढा रहन रुचाउँछन् किनकी अवैध काम गरे बापत प्राप्त हुने दण्डको लागि आफूहरु योग्य ठान्दैनन् ।
जापान प्राय सुरक्षित देशको रुपमा नै चिनिन्छ । जुन २०२० मा जारी गरिएको विश्व शान्ती सूचाकाङ्कमा जापान नवौ स्थानमा छ । प्रमुख विकसित देशहरु मध्ये क्यानाडापछि दोस्रो उच्च स्थानमा जापान रहेको छ । जापानमा लागुऔषध र अपराधसँग सम्बन्धित संयुक्त राष्ट्रसंघको एक रिपोर्टका अनुसार गत वर्ष जापानमा निकै कम हत्याका घटना भए । जापानी नागरिकको आरामको निद्राको पछाडि भने पक्कै प्रहरीका हतियार र अपराधमा शून्य सहनशीलताको नीतिले काम गरिरहेको छ ।
जापानका यी सबै नीति नियम तथा कानुनहरु भने दुई सय वर्ष पुराना हुन् । जापानमा जति पनि दूर्घटना हुने गर्छन्, ती सबै प्राकृतिक प्रकोप या सवारी दूर्घटनाका कारण हुने गर्छन् । अन्य अपराधजन्य घटनाका कारण हुने दूर्घटना कमै सुनिन्छ । यसैले प्रहरीको काम पनि जनतालाई सुरक्षासँग सम्बन्धित जानकारी र सेवा दिनुमा केन्द्रीत रहन्छ ।
पक्कै पनि यो घटनापछि जापानले पनि राजनीतिक हत्याको घटनामा आफूलाई समेत समावेश गरेको छ । तर एउटै घटनाले सबै परिवेश पर्याप्त हुनसक्दैन । यही कुरालाई व्याख्या गरेर या दाँजेर जापानलाई ‘असुरक्षित देश’ भनेर भनिहाल्ने अवस्था चाहिँ छैन ।
बन्दुक र अपराध
जापानमा बन्दुक, तरवार जस्ता हातहतियारहरुको नियन्त्रण गर्नको लागी कडा कानून भएकोले कसैले पनि बन्दुक वा तरवार जस्ता हतियार बोकेर हिड्दैनन् ।
जापानमा बन्दुक राख्नु निकै कठिन कार्य हो । यसका लागि अनिवार्य प्रशिक्षणसहित कुनै आपराधिक रेकर्ड, मनोवैज्ञानिक मूल्यांकन र छिमेकीसँग अन्तर्वार्ता लिने प्रहरीसहित ब्यापक पृष्ठभूमि जाँचको आवश्यकता पर्छ । त्यसैले यहाँ बन्दुक अपराधको अस्तित्व लगभग छैन भन्दा हुन्छ । त्यसैले आबेमाथि गोली हान्ने बन्दुकधारी र उसले प्रयोग गर्ने हतियारमा धेरैको ध्यान केन्द्रित भएको चाहिँ पक्कै हो । बन्दुकको सबैभन्दा कम प्रयोग जापानमा गरिन्छ ।
जापानमा अपराध कम हुनुको पछाडिको अर्को कारण शिक्षा व्यवस्था हो । यहाँ बच्चाहरुलाई सानैदेखि के कुरा सिकाइन्छ भने हतियार आफूसँग राख्नु अपराध हो ।
जापानमा हतियार किन्न पनि मुस्किल हुन्छ । हतियार किन्नु परेमा संयम भएर लामो समयसम्म प्रतिक्षा गर्नुपर्छ । यसका लागि एक दिनको कोर्स लिनुपर्छ । जसमा हतियार किन्न चाहने व्यक्तिले परीक्षा दिनुपर्छ । र, दोस्रो चरणमा निशाना लगाउन सक्नुपर्छ । यो कोर्समा जुन व्यक्तिले ९५ प्रतिशत सही जवाफ दिन्छ, उसले मात्रै हतियार राख्ने अनुमति पाउँछ । यति मात्र होइन त्यो व्यक्तिको मनोवैज्ञानिक र एन्टी डोपिङ टेस्ट पनि गराइन्छ । प्रहरीले बन्दुक खरिद गर्नेहरुको रेकर्ड जाँच गर्दछ र अन्तिम स्वीकृति दिन्छ ।
आबे घटनामा प्रयोग भएको बन्दुक भने हत्याराले आफै घरमा बनाएका थिए र घटना भएकै दिनमा प्रयोग गरेका थिए । यो बन्दुकको स्वीकृति भने लिइएको थिएन । अपराध गर्नकै लागि यो बन्दुक घरमै तयार भएको थियो । हत्याराले घरेलु सामग्री प्रयोग गरेका थिए । यसैले यो राजनीतिक आक्रमण हो वा प्रसिद्ध व्यक्तिलाई गोली हानेर चर्चित हुने मनसाय हो भन्ने विषयमा जापानी अनुसन्धानकर्ताहरु पनि अझै अध्ययनमै छन् ।
घटनाको कारण
जापानीहरु जति आफू इमान्दार छन्, उति नै अरुलाई पनि इमानदारी नै सम्झन्छन् । अपराध गर्न हुन्न र अपराधजन्य कुरामा अगाडि सर्न हुन्न भन्ने कुरालाई उनीहरुले प्राथमिकतामा राख्दै आएका छन् । अहिलेसम्म भएका जति पनि घटना छन्, ती सबैमा कतै न कतै सबैलाई विश्वास गर्दा भएका घटना पनि छन् ।
यद्दपि घटना या दूर्घटना केही नहोस् भनेर हरेक कुरामा आफैलाई सचेत पनि बनाइराखेका हुन्छन् । जस्तो कि जापानमा रक्सी सेवन गरेर साइकलसमेत चलाउन पाइँदैन । रक्सी पिएर साइकल चलाएको पाइएमा जरिवाना र कैद दुवै सजायँ हुन्छ । जापानमा साइकल चलाउँदा हेडफोन लगाउन, छाता ओढ्न र मोबाइल फोन प्रयोग गर्न पनि बर्जित छ ।
जापानका नागरिकहरुले यस्ता कानुनी व्यवस्थालाई पालना गर्दछन् र देशलाई राम्रो बनाउन योगदान गर्दछन् । धेरैजसो घरमा जुन बच्चालाई खतरा हुन्छ, उसले यो ठाउँलाई शेल्टरको रुपमा प्रयोग गर्न सक्छ । यसका साथै प्राथमिक शिक्षाको सुरुवाती ६ वर्षसम्म विद्यार्थीहरुले आफूसँग एक अलार्म बोक्छन् र कुनै खतरा महसुस भएमा त्यसलाई बजाउँछन् ।
जापानमा सडक प्रयोगको कानुन पनि कडा छ । गाडी दुर्घटनामा संलग्नलाई कडा सजाय दिइन्छ । सन् १९७० मा एउटा निकै कडा कानुन बनाइयो तर सन् १९७० मै कारहरुको संख्या यति धेरै बढ्यो कि दुर्घटनाबाट १६ हजार ७६५ जनाको ज्यान गयो । यसैको कारण जापानमा कडा दण्डनीय कानुन लागु गरियो ताकि यी नियम कानुनको पालनाबाट सडक दुर्घटना कम होस् ।
जापानमा मादक पदार्थ सेवन गरेर गाडी चलाएमा जेल सजाय हुन्छ । यहाँको कानून महिलामैत्री छ । सेवा र दैनिक जीवनयापनमा महिलालाई अफ्ठ्यारो हुने कुनै काम गर्न प्रतिबन्ध जस्तै छ । माथिका प्रतिनिधिमूलक कानूनले के स्पष्ट पार्छ भने जापान सम्भावित घटनाबाट अत्यन्तै सचेत रहँदै आएको छ । हुनसक्ने घटनाबारे जापान अत्यन्तै अभ्यस्त छ । तर कहिलेकाहिँ सानो त्रुटीले असामान्य घटना भइदिन्छ । कुनैपनि नसोचेका घटना पनि हुनेगर्छन् । आबे हत्या प्रकरणलाई यसरी नै लिनुपर्छ ।
सबै कुराले जापान असुरक्षित छ भन्न मिल्दैन ।
नेपाल स्तब्ध
सिन्जो आबेको हत्या प्रकरणपछि नेपाल र जापानमा रहेका नेपाली पनि चिन्तित बनेका छन् । नेपालले आबेलाई मीत्र राष्ट्रको असल अभिभावकको रुपमा पनि हेरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आबेको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै विश्वप्रसिद्ध व्यक्तित्व भएका आबेको असारधारण क्षमताको कदर गरेका छन् ।
नेपालमा मात्र होइन, जापानमा रहेका नेपालीहरुले पनि आबेको योगदानको कदर गरेका छन् । आबेकै प्रधानमन्त्रीत्व कालको विगत एक दशकमा नेपाली आप्रवासीको संख्या दश गुणाले जापानमा बढेको तथ्याँकले पनि नेपालीप्रति जापानले हेर्ने दृष्टिकोण सकारात्मक रहेको भन्न सकिन्छ । जापानमा करिब एक लाख नेपाली नाघिसकेको यो संख्या अन्य देशका आप्रवासीको तुलनामा छैटौं ठूलो हो ।
सन् २००० को शुरूआतमा जापानमा खुलेका रेस्टुराँका लागि ‘कुक’ बनेर थुप्रै नेपाली ‘दक्ष कामदार भिसा’ मा भित्रिएका छन् । यसले अवैधानिक नेपाली आप्रवासीको संख्यामा गिरावट आयो । अहिले नेपालीहरूमा विद्यार्थी, ‘डिपेन्डेन्ट’ र प्रशिक्षार्थी भिसामा जापान आउने नयाँ लहर चलेको छ ।
राम्रो कमाइ, दक्षिणकोरियामा जस्तो भाषा परीक्षा दिनु नपर्ने र कामदार भिसा लागेपछि परिवार पनि ल्याउन पाइने हुँदा जापान नेपालीको रोजाइमा परिरहेको छ । साथै पछिल्लो समय दक्ष कामदारका रुपमा ‘ट्रेनी भिसा’ मा जापानले नेपाललाई सहयोग गरिरहेको छ । वैदेशिक रोजगारीका सवालमा यो सबै आबेकै कार्यकालमा भएका सकारात्मक काम थिए ।
अन्त्यमा,
नेपालमा बहालवाल तथा पूर्व उच्चपदस्थ व्यक्ति र उनका परिवारलाई सधै सुरक्षा घेरामा राखिएको हुन्छ । मान, सम्मान र सुविधा पनि उत्तिकै हुन्छ । तर सिन्जो आबेले प्रधानमन्त्री पदबाट राजीनामा दिइसकेपछि सबै सरकारी सुविधा छाडे । आफ्ना सुरक्षाकर्मीलाई टाढै राखे । सामान्य जीवनशैली अपनाए । उनले मात्रै होइन, पद छाडेपछि सबैले यस्तै गर्छन् ।
चाहेको भए वर्षौसम्म शासन गरेका पूर्व प्रधानमन्त्रीलाई सुविधा प्रयोग गर्न वञ्चित थिएन । उनी व्यक्तिगत खर्चमै पनि यो सब गर्नसक्थे । तर यसैको फाइदा उठाएर चुनावी सभामा उनको हत्या गरियो । यसकारण अबका दिनमा दोहोरिएर यस्ता घटना हुने छैनन् भनेर विश्वास पनि गर्न सकिन्छ ।
यो घटनापछि भने जापानको सुरक्षा संयन्त्रले उच्चपदस्थ व्यक्तिको सुरक्षामा कमजोरी स्वीकारेको र अबका दिनमा संवेदनशील हुने प्रतिवद्धता व्यक्त गरेको छ ।
आबेको हत्यामा संलग्न भएका व्यक्ति जापानी नागरिक थिए । यो घटनामा विदेशी नागरिक संलग्न भएको भए जापानले विदेशीलाई हेर्ने दृष्टिकोण फरक पथ्र्यो । अझ नेपालीको प्रयोग कहिँ कतै भएको भए नेपाल र नेपालीप्रति जापान सधैँ नकारात्मक बन्न सक्थ्यो । जापानीहरु विदेशीको तुलनामा आफ्ना नागरिकलाई बढि विश्वास गर्छन् । यो स्वाभाविक पनि हो । तर आबेको हत्या प्रकरणले आफ्नै देशका नागरिकहरुलाई नै सचेतना ल्याउनुपर्ने दायित्व जापान सरकारलाई छ ।
नत्र पछिका दिनमा यस्ता घटना दोहोरिन थाल्यो भने सुरक्षित देशको रुपमा परिचित जापानलाई सबैले ‘असुरक्षित’ देशको रुपमा चित्रण गर्नेछन् ।
(श्रोत सामग्री : एनएचके, बीबीसी, रासस, आसाही सिम्बुन )



















