143Shares

भरतपुर । भरतपुर महानगरलाई यसपटक सबैले चर्चाको केन्द्रविन्दुमा राखे । सबैको ध्यान भरतपुरमै भयो । यहाँ एमालेबाट मेयरका उम्मेदवार बनेका विजय सुवेदी ठूलो मतान्तरसहित पराजित भए । सुवेदीको मत माओवादीकी रेणु दाहालको भन्दा १२ हजार ४४६ कम छ । जबकी २०७४ को निर्वाचनमा मेयर पदमा माओवादीकी रेणु दाहाल र एमालेका देवी ज्ञवालीबीचको मतान्तर जम्मा २०३ थियो ।
सुवेदी र रेणुबीच मतान्तर बढ्नुमा भरतपुर महानगरमा एमालेका वडाध्यक्षलाई प्राप्त सबै मत मेयरका उम्मेदवार सुवेदीलाई नआउनु पनि हो ।
भरतपुरमा एमालेका वडाध्यक्ष उम्मेदवारले प्राप्त गरेको मत जोड्दा ४४ हजार ६०१ हुन आउँछ । यसमा भरतपुर–१५ का राप्रपा वडाध्यक्ष उम्मेदवार गोपाल गुरुङले पाएको ६९५ मत पनि समावेश छ । यहाँ एमालेले आफ्नो वडाध्यक्ष नउठाई राप्रपालाई समर्थन गरेको थियो । तर विजय सुवेदीले ३९ हजार ५८२ मत मात्रै प्राप्त गरेका छन् । यस हिसाबले वडाध्यक्षका उम्मेदवारले पाएको मतभन्दा महानगरमा विजयले ५०१९ मत कम पाएका छन् ।
पाँच दलीय गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेणु दाहालले प्राप्त गरेको मत ५२ हजार २८ रहेको छ । नेपाली काँग्रेसबाट बिद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलको मत भने १४ हजार ७२८ रहेको छ । यदि पौडेलले गठबन्धनलाई नै समर्थन गरेको भए विजय र रेणुको मतान्तर अझ फराकिलो बन्ने थियो ।
भरतपुरको मेयरमा एमाले पराजित हुनुको एउटा कारण वडाध्यक्षले पाएको मत मेयरमा नआउनुलाई पनि एमालेले स्वीकारेको छ । यद्दपि एमालेका वडाध्यक्षको उम्मेदवारलाई प्राप्त सबै मत आउँदा पनि निर्वाचन जित्न भने सुवेदीलाई गाह्रो हुने तथ्याँकले देखाएको छ ।
२०७४ को निर्वाचनमा एमाले उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरेका थिए । माओवादीकी रेणु दाहालले ४३१२७ मत प्राप्त गरेकी थिईन् । जबकि २०७४ मा एमालेले एक्लै प्रतिष्पर्धा गरेको थियो । माओवादीले भने काँग्रेससँग भरतपुरमा तालमेल गरेको थियो । २०७४ को निर्वाचनमा काँग्रेसको असन्तुष्ट पक्षको मत देवी ज्ञवालीले प्राप्त गर्न सफल भएका थिए । काँग्रेसबाट असन्तुष्ट समूहको उम्मेदवारी नपर्दा यसको फाइदा ज्ञवालीलाई भयो । उतिबेला महानगरभरिका एमाले वडाध्यक्ष उम्मेदवारले प्राप्त गरेको मत ३७ हजार १९५ थियो । यस हिसाबले एमालेले आफ्ना वडाध्यक्षले पाएको मतभन्दा मेयरमा पाँच हजार ७२९ मत बढि पायो ।
२०७४ को निर्वाचनमा राप्रपाले मेयरमा पाएको छ हजार ८४२ मत तान्ने लोभमा एमालेले यसपटक राप्रपासँग तालमेल गरेको थियो । भरतपुर महानगरमा यसपटक थपिएका करिब ३५ हजार मतबाट रामै्र मत सुवेदीलाई आउने आँकलन पनि एमालेको थियो । साथै अघिल्लो निर्वाचनमा जस्तै यसपटक पनि काँग्रेसको असन्तुष्ट मत सुवेदीलाई आउने पक्का थियो । निर्वाचनको दुई दिनअघिसम्म यी सबै हिसाब गरेर ‘भरतपुरको मेयर जितिन्छ’ भन्ने महत्वकांक्षाका साथ बसेको एमालेलाई गठबन्धनले मौन अवधिको समेत फाइदा उठाएर पराजित गराइछाड्यो । केन्द्रीय सदस्यहरुकै वडामा धक्का खाने गरी एमालेले पराजय भोग्नुप¥यो ।
यो कमजोरीप्रति एमालेले गहिरो समीक्षा गरिरहेको छ । थोरै मेहनत नपुगेको र भरतपुरमा केही अन्तर्घात भएका कारण परिणाम सोँचेअनुरुप नआएको एमाले नेताहरुको बुझाइ छ । साथै निर्वाचनको मौन अवधिमा रातारात गठबन्धनका दलहरुको आर्थिक चलखेल र आचारसंहिता विपरितका कुराहरुलाई बेलैमा चिर्न नसक्दा भरतपुरमा एमालेले पराजय भोग्नुपरेको एमालेको भनाई छ । मौन अवधिमा भरतपुर र माडीमा प्रचण्डको सक्रिय सहभागिताले पनि रेणुलाई चुनाव जित्न सहज भएको भनेर बुझ्न सकिन्छ । अर्कोतर्फ राप्रपासँगको तालमेल पनि सुःखद नरहेको भनि एमालेले प्रारम्भिक समीक्षा गरेको छ ।
अघिल्लो निर्वाचनको अङ्कगणितलाई मात्र आधार मानेर निर्वाचन जितिन्न । निर्वाचन जित्न चुनावी रणनीति जरुरी पर्छ । देशव्यापी रुपमा माओवादीले भरतपुरलाई केन्द्र बनायो । जसमा गठबन्धनका दलहरु पनि उसैगरी मिसिए । भरतपुर महानगरको निर्वाचन परिदृष्य ‘रेणु केन्द्रीत’ नै थियो । अन्ततः निर्वाचनको दुई दिनअघिसम्म अपेक्षा र आशाको अङ्कगणित जोडेर मख्ख परेको एमालेलाई गठबन्धनले सबैखालका चुनावी रणनीति प्रयोग गर्दै वास्तविक अङ्कगणित दिलाएर पराजित गरायो । जसका कारण माओवादी केन्द्रकी रेणु दाहाल गठबन्धनको सहारामा आगामी पाँच वर्षका लागि पुनः भरतपुर महानगरको मेयरमा निर्वाचित भईन् ।

यस्तो छ २०७९ मा भरतपुरमा मेयरका उम्मेदवारले वडागत रुपमा पाएको मत र वडाध्यक्षले पाएको मत

 

143Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement