0Shares

काठमाडौँ — नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकार वैशाख ३० गते हुने स्थानीय तहको चुनाव सार्ने षड्यन्त्रमा रहेको निष्कर्ष निकालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले चुनाव सार्ने षड्यन्त्रलाई निस्तेज पार्ने निर्णय गरेको छ ।‘अहिलेको सरकारले २०७९ साल वैशाख ३० गते हुन लागेको चुनावमा जुन प्रकारको षड्यन्त्र भएको छ‚ त्यसको हामी कडा प्रतिवाद गर्छौं । कडा विरोध गर्दछौं । चुनाव रोक्ने षड्यन्त्रलाई निस्तेज पार्छौं,’ एमालेका प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, ‘सबै कमिटीहरुलाई कुनै प्रकारको अलमल नगरी चुनावको तयारी गर्ने निर्देशन पनि दिएका छौं ।’

बैठकमा घोषणापत्र मस्यौदा समितिले अन्तिम प्रतिवेदन प्रस्तुत गरेको थियो । ‘घोषणापत्र सोमबार पारित भएको छ‚’ गुरुङले भने । यस्तै एमालेले नेकपा स्थापना दिवसको दिन केन्द्र र सबै पालिकामा एकै साथ प्रतिबद्धता पत्र सार्वजनिक गर्ने जनाएको छ ।

‘त्यसै दिन जेष्ठ कम्युनिस्टहरूको सम्मानको कार्यक्रम पनि आयोजना गरेका छौं,’ गुरुङले भने, ‘मुलुकको कम्युनिस्ट आन्दोलनमा योगदान दिएका १७ जना जेष्ठ कम्युनिस्टहरुलाई सम्मान गर्ने छौं ।’

त्यसैगरी सोमबारको बैठकले थप १२ वटा विभागहरू गठन गरेको गुरुङले बताए । ‘१ सय ७३ जनाको सल्लाहकार परिषद्‍मा १ सय ५ जनाको नाम थप गरी २ सय ७३ सदस्यीय बनाइएको छ,’ गुरुङले भने, ‘सम्पर्क समन्वय कमिटीमा ५१ जनालाई मनोनयन गर्ने बैठकले अनुमोदन गरेको छ ।’

 

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement