0Shares

चितवन, चैत ६- चितवनको राप्ती नगरपालिकामा गएको माघ २७ गते पहिचान भएको बर्डफ्लु देशभरका ११ जिल्लामा फैलिएको छ ।

पशु सेवा विभागका अनुसार ११ जिल्लाका कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु पहिचान भएको हो । बर्डफ्लु देखिएका जिल्लामा चितवनसहित काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, उदयपुर, मकवानपुर, सिन्धुली, पर्सा, धनुषा र कास्की छन् ।

यी जिल्लाका विभिन्न फार्ममा पालिएका व्यावसायिक कुखुराको नमुना त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लुको (एच ५ एन १ एभिएन एन्फ्लुएन्जा) प्रजाति पहिचान भएको हो । बर्डफ्लु पहिचान भएका स्थानहरूमा ६५ हजारभन्दा धेरै कुखुरालगायत घरपालुवा पक्षी नष्ट गरिएको छ ।

अहिले ती जिल्लामा संक्रमण नियन्त्रणमा आइसकेको पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले जानकारी दिए ।
नेपालमा अहिले देखिएको बर्डफ्लु मानिसमा पनि सर्न सक्ने भन्दै सजग रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । बर्डफ्लुको एच ५ एन १ एभिएन इन्फ्लुएन्जा प्रजाति मानिसमा पनि सर्न सक्ने भएकाले घरपालुवा पक्षीको हेरचाहमा खटिने व्यक्तिहरूले विशेष सावधानी अपनाउनुपर्ने मन्त्रालयले जनाएको छ ।

नेपालमा पहिलोपटक सन् २००९ मा बर्डफ्लु भित्रिएको थियो । २०१९ मा बर्डफ्लु संक्रमणबाट नेपालमा २१ वर्षीय एक युवकको मृत्यु भएको थियो ।

नेपालमा गएको वर्ष माघमा पनि बर्डफ्लु देखिएको थियो । सो समयमा एच ५ एन एट प्रजातिको बर्डफ्लु देखिएकाले मानिसका लागि त्यति घातक भएन ।

तर, योपटक देखिएको एचपीएआई एच ५ एन १ प्रजातिको बर्डफ्लु मानिसमा सरेमा यसको मृत्युदर ६० प्रतिशतसम्म हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन बताउँछन् ।

उनका अनुसार एच ५ एन १ बर्डफ्लुका प्रजातिमध्ये सबैभन्दा घातक र संक्रामक भाइरस हो । यो संक्रमित पक्षीबाट मानिसमा पनि सर्छ र यसले प्रतिदशजनामध्ये ६ जनाको ज्यान लिन सक्छ ।

संक्रमित पक्षीको सम्पर्कमा आएका व्यक्तिहरूमा पक्षीको मुखबाट निस्कने छिटा, मलमूत्र, उडेका प्वाँखको माध्यमबाट एच फाइभ एन वान मानिसमा सर्दछ । कुखुरा, हाँसलगायत पक्षी व्यावसायिक रूपमा पाल्दै आएका कृषक, ढुवानीमा संलग्न श्रमिक, बजार तथा वितरणमा संलग्न व्यक्तिहरू र वधशालामा काम गर्ने श्रमिकहरू यो संक्रमणको प्रत्यक्ष जोखिममा रहने भएकाले विशेष सावधानी अपनाउनुपर्ने पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकाल बताउँछन् ।

बर्डफ्लु भित्रियो भन्नेबित्तिकै पक्षीको मासु र अन्डा खानु हुँदैन भन्नु गलत भएको डा. पुन बताउँछन् । कुखुरा, हाँस, टर्कीलगायतको मासु ७० डिग्रीभन्दा माथिको तापक्रममा पकाएर खाँदा हानि हुँदैन । अन्डा पनि राम्रोसँग पकाएर खाँदा कुनै असर गर्दैन । तर, हाफ बोइल भने खान नहुने डा. पुनको भनाइ छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement