काँग्रेस चितवनको अधिवेशन आज, सभापतिमा पाँच जनाको प्रतिष्पर्धा
नेपाली कांग्रेस चितवनको सभापती पदमा पाँच जनाले उम्मेदवारी दिएका छन्।
पार्टीको संस्थापन समूहबाट सभापति शेरबहादुर देउवा निकटका मिलनबाबु श्रेष्ठ र संस्थापनइतर पक्षबाट चार जनाको उम्मेदवारी दर्ता भएको छ।
संस्थापन इतरबाट डा.सूर्यकान्त घिमिरे, राजेश्वर खनाल, उत्तम जोशी र कैलाश कोइरालाले उम्मेदवारी दर्ता गरेका छन्।
नेता शेखर कोइराला पक्षीय नेता अर्जुननरसिंह केसीले चितवन आएर संस्थापन इतरबाट एक जनामात्रै उम्मेदवार बनाउन कसरत गरेका थिए। तर सहमती हुन नसकेपछि चार जनाको उम्मेदवारी परेको हो।
केसीले बुधबार गैंडाकोटस्थित एक होटलमा आकांक्षीलाई राखेर सहमती जुटाउने प्रयास गरेका थिए। तर कसैले पनि दाबी नछाडेपछि सबैले उम्मेदवारी दर्ता गरेका हुन्।
सभापति पदमा पार्टी नेता केसीले सहमतीको प्रयास गर्दा कोही सहमती नभएपछि सबैले उम्मेदवारी दर्ता गराएको सभापतिका उम्मेदवार उत्तम जोशीले बताए। ‘अर्जुन दाइले हामी सबैलाई राखेर एउटा उम्मेद्वार बनाउँ भनेर प्रयास गर्नुभएको थियो तर सहमती हुन सकेन,’ उनले भने, ‘मैले उहाँलाई नै सोधेर उम्मेद्वारी दर्ता गराएको छु।’
उनका अनुसार केसीले सुरुआतमा पाँचै जना र पछि जोशी, खनाल र घिमिरेलाई राखेर सहमतीको अन्तिम प्रयास गरेका थिए।
‘सहमती नभएपछि तीनै जना उम्मेदवार हुने र दोस्रो राउण्डमा जो आउँछ उसैलाई बाँकी उम्मेदवारले साथ र समर्थन गर्ने भनेर उहाँ काठमाडौं फर्कनुभयो,’ जोशीले भने।
अर्का उम्मेदवार राजेश्वर खनाल पक्षले भने शेखर कोइराला पक्षबाट खनाल आधिकारिक उम्मेदवार रहेको भन्दै प्रचार गरिरहेको छ। खनालले उम्मेदवारी घोषणा कार्यक्रम नै राखेर आफूमात्रै कोइराला पक्षीय उम्मेदवार रहेको दाबी गरेका थिए।
अध्यक्षका अर्का उम्मेदवार डा.सूर्यकान्त घिमिरेले भने तीन जना उम्मेदवारहरु कोइराला पक्षको भएको दाबी गरे। ‘उहाँलाई मात्रै आधिकारिक भनेको भए अर्जुन दाइले नै घोषणा गरेर फर्कनुहुन्थ्यो। एक जनामा सहमती नभएपछि सबै उठ्ने र दोस्रो चरणमा पुग्नेलाई सहयोग गर्ने सहमती भएको हो,’ घिमिरेले भने, ‘बाहिर हावा कुरा प्रचार गरिएको छ। त्यस्तो फटाहा कुरा गर्न मिल्दैन।’
अर्का उम्मेदवार कैलाश कोइरालालाई भने शेखर कोइराला पक्षले आफ्नो मानेको छैन। नेता केसीले अन्तिम सहमती गर्ने भनेर घिमिरे, जोशी र खनाललाई मात्र राखेर छलफल गरेका कारण उनी संस्थापन र कोइराला समूह दुबैतिर नरहेको देखिन्छन्।
पूर्व जिल्ला सभापति विकास कोइरालाका भाइ रहेका उनको पनि चितवन कांग्रेसभित्र राम्रो पकड छ। उनी चितवन कांग्रेसको उपसभापति भइसकेका छन्। उनी नेपाल विद्यार्थी संघ केन्द्रीय विश्वविद्यालय समितिको सभापति पनि भएका थिए।
अध्यक्षका उम्मेदवार श्रेष्ठ बागतमी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री हुन्। डा.घिमिरे कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्ट्रार हुन्। उनी नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्ष, नेपाल प्राध्यापक संघको केन्द्रीय सदस्य भएका थिए।
जोशी पार्टीको जिल्ला सचिव भइसकेका छन्। विद्यार्थी राजनीतिदेखि नै क्रियाशील छन्। प्राध्यापन पेशामा संलग्न खनाल नेविसंघको केन्द्रीय सदस्य, तरुण दलको जिल्ला सचिव, अध्यक्ष भएका थिए।
इतर समूहमा धेरै उम्मेदवार देखिएपछि संस्थापन समूह उत्साहित देखिन्छ। देउवा पक्षीय उम्मेदवार मिलनबाबु श्रेष्ठले अधिवेशनको माहोलले निर्वाचन जित्ने आशा बढाएको बताए।
सभापतिमा आकांक्षा राखेका संस्थापनइतरका नेता विजय शर्मा भुषालले भने महासमिति सदस्यमा चित्त बुझाएका छन्।
पार्टीको उपसभापति पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। सचिवमा ८ र सहसचिवमा १० जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ।
महासमिति सदस्य, कार्यसमितिका केही सदस्यहरु सर्वसम्मत चयन भएका छन्।
जिल्ला निर्वाचन संयोजक ज्ञानेन्द्रप्रसाद अधिकारीले शुक्रबार विहान ९ बजेबाट निर्वाचन सुरू हुने जानकारी दिए।
मतदानमा २ हजार ९ सय ४४ जना क्षेत्रीय प्रतिनिधिहरु सहभागी हुन पाउनेछन्।



















